८ वैशाख २०८१ शनिबार
समाज

बलात्कार आरोपी वडाध्यक्षलाई जोगाउन चलखेल

राजविराज- एक जना महिलाउपर बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरी शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्ष लक्ष्मी साहमाथिको मुद्दा खारेज गरी तत्काल रिहा गर्नुपर्ने माग जिल्लास्थित मुख्य राजनीतिक दलहरूले संयुक्त रुपमा गरेका छन्।

                वडाध्यक्षमाथि षड्यन्त्र तहत झुठा मुद्दा लगाइएको दाबी गर्दै प्रमुख राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेका हुन्। नेकपाका सुखराम यादव, नेपाली कांग्रेस सप्तरीका सभापति दिनेशकुमार यादव, समाजवादी पार्टी नेपालका चितरञ्जन यादव र राजपा नेपाल सप्तरीका संयोजक हरेराम यादवको संयुक्त हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधिमाथि झुठा मुद्दा लगाइ थुनामा राख्ने कार्यप्रति खेद प्रकट गर्दै साहमाथि रहेको मुद्दा तत्काल फिर्ता गरी उनलाई स–सम्मान रिहा गर्नुपर्ने माग गरिएको छ।

                विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त माग कार्यान्वयन नभए भावी दबाब र संघर्षका कार्यक्रम तय गर्ने नेपाली कांग्रेस जिल्ला समितिको समन्वयमा सर्वदलीय, सर्वपक्षीय बैठक राख्ने सर्वसम्मतले निर्णाय भएको व्यहोरा प्रेस विज्ञप्तिमार्फत सबैमा जानकारी गराइन्छ।’

                नेपाली कांग्रेस सप्तरीकै लेटर प्याडमा चार वटै प्रमुख दलका नेताहरूको हस्ताक्षरसहितको विज्ञप्तिमार्फत सोमबार नेपाली कांग्रेस सप्तरीको कार्यालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय भएको जानकारीसमेत गराइएको छ।

                गत मंसिर २५ गते वडाध्यक्ष साहसहित तीन जनालाई प्रहरीले एक महिलासँग बलात्कार गर्न खोजेको आरोपमा पक्राउ गरेको थियो। कुखुरा फार्ममा बोलाएर ती महिलामाथि सामूहिक बलात्कार गर्न खोजेको आरोपमा वडाध्यक्ष साहसहितकालाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।

यता साह पक्राउ परेको भोलिपल्टदेखि नै नेपाली कांग्रेस सप्तरी साहलाई छुटाउन चरणबद्ध आन्दोलन गर्दै आएका छन्। यसअघि कांग्रेस सप्तरीले मंसिर २७ गते सदरमुकाम राजविराजमा बृहत् प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका थिए।

प्रकाशित: १ पुस २०७६ ०४:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App