८ वैशाख २०८१ शनिबार
समाज

पानीको अभावमा रित्तियो गाउँ

पानीको अभावले बसाइँ सरेर निर्माण गरिएको घर टहरा। तस्बिर : नागरिक

नुवाकोट – २०७२ सालको भूकम्पअघि नुवाकोटको लिखु गाउँपालिका–३ नागीगढीका स्थानीयले कुवाको पानी प्रयोग गर्दै आएका थिए। त्यही कुवाको पानीबाट उनीहरूले घरगोठ धानेका थिए। तर भूकम्पपछि प्रयोग गर्दै आएको कुवा सुकेपछि भान्छा चलाउन पनि मुस्किल प-यो। पानी अभावकै कारण स्थानीय बसाइँ सर्न बाध्य भएको वीरबहादुर तामाङले बताए। ‘पहिलेदेखि नै पानीको दुःख थियो। जेनतेन कुवाले धानेको थियो। भूकम्पपछि त त्यो पनि सुक्यो। पानीकै कारण गाउँ छोड्नुपर्ने अवस्था आएको छ,’ तामाङले भने, ‘खानेपानीकै कारण खेतीपाती गर्ने खेतबारी बाँझै छोड्नुपर्ने बाध्य छ।’

नागीगढीमा १५ भन्दा बढी परिवार बसोवास गर्दै आएका थिए। त्यहाँबाट बसाइँ सरेर बेसी झरेपछि यहाँ बस्तीको नामनै ‘आलडाँडा सानोनागी’ राखेका छन्। खानेपानीको मुहान सुकेपछि गाउँमा अहिले खानेपानीको समस्या उत्पन्न भएको हो। नागीगढीमा पानीको व्यवस्था भयो भने पुरानै गाउँ फर्कने इच्छा रहेको बसाइँ सरेर गाउँ छोडेकाहरूको भनाइ छ।

गाउँमा खानेपानीको व्यवस्था गर्नको लागि स्थानीय सरकारले विशेष काम गर्नुपर्ने स्थानीय मञ्जु तामाङले बताए। पानीको समस्या भएको नागीगढी, पन्तगाउँलगायतका वस्तिमा लिफ्टप्रणाली मार्फत समस्या समाधान गर्न प्रयास गरेपनि दिर्घकालिन नहुने देखेर डिप बोरिङको परिकल्पनाको साथ काम सुरु भएको वडाध्यक्ष भोला सेढाइले बताए। ‘पानी नै जिन्दगानी हो, तर पानीको उचित व्यवस्थापन नहुँदा स्थानीयवासीले दुःख खेप्नुपरेको छ। साविकको गाविस हँुदा योजना पारेर समस्या समाधानको लागि लिफ्ट प्रणालीबाट पानीको व्यवस्था गरेका थियौं। त्यो दिर्घकालिन भएन,’ उनले भने। गाउँमा पानीको व्यवस्था गरेर बसाइँ सरेकाहरुलाई गाउँ फर्काउने अभियान सञ्चालन गरिने वडाध्यक्ष सेढाइले बताए।

प्रकाशित: १ पुस २०७६ ०४:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App