coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँबाट बच्न ७२ घन्टा ओडारमा

जुम्ला – जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका छविराज बोहोरा १२ जना साथीसँग सेरा फुलबारी पाटनतिर लाग्दा आकाश खुला थियो। सेतक चिनी (एक प्रकारको जडीबुडी) पकाउन भन्दै घरबाट हिँडेको भोलिपल्ट एक्कासि भारी हिमपात भएपछि उनीहरू पाटनतिरै अलपत्र परे। ‘हिउँबाट बच्न ओडारमा बस्दा एकातिर घरको यादले सताउँथ्यो,’ ७२ घन्टा हिउँमा बिताएका छविराजले भने, ‘अर्कोतिर पाटनमा सुकाइराखेको सेतक चिनीतिर ध्यान जान्थ्यो।’ शुक्रबार बिहान ९ बजेदेखि निरन्तर हिमपात भएपछि उनको जडीबुटी संकलन गर्ने सपना साकार हुन सकेन। बरु कसरी बाँचेर घर फर्कने भन्ने पिरलो हुन थाल्यो।

गाउँबाट हिँडेका चार महिला र नौ पुरुष सबैलाई लागेको थियो, ‘यो वर्ष हिउँ छिटो पर्दैन। आकाशमा बादल छैन। कात्तिकमा कोरेर राखेको सेतक चिनी पकाएर समयमै बजारतिर लैजानुपर्छ।’ जडीबुटी संकलनमा जाँदा सोचाइविपरीत हिउँभित्रको कठोर यातना सहनुपरेको छविराजले बताए। ‘यसपालि जिन्दगीकै पीडादायी तर अनौठो घटनाको सामना गर्नुप-यो,’ उनले भने। एक दिनमै पाटन पुगेका उनीहरू तीन जना सेरा ओडार र १० जना गौढुंगा ओडारमा बाँडिएर बसेका थिए। ती दुई ओडार झन्डै दुई किलोेमिटरको दूरीमा छन्। एक्कासि हिउँ पर्न थालेपछि सबै गौढूंगा ओडारमा जम्मा भएका थिए। ‘हावाहुरीसहितको हिमपातका लामो समय नरोकिएपछि मरे सबैजना एकै ठाउँमा मर्ने, बाँचे एकसाथ घर फर्कने सहमति भयो,’ छविराजले भने, ‘तर मनमा त्रास भने रोकिएन।’

तिला–९ का वडाध्यक्ष शेरबहादुर बोहोरा गाउँलेले घर फर्कंदा खुसीको सीमा नै नभएको बताए। वडाध्यक्ष बोहोरा पाटनमा उनीहरूको बसेको ओडारसम्म हेलिकोप्टर लैजाने भन्दै तयारी अवस्थामा थिए। उनले भने, ‘जीवन–मरणको संघर्षका बाबजुद पनि गाउँले सकुशल घर फर्कंदा औधी खुसी छु।’ नेपाली सेनाको रेस्क्यु टोली तैनाथ थियो। बेपत्ता भएकाहरूको उद्धारका लागि राज्य संयन्त्र सबै लागेको थियो। जिल्ला सदरमुकाम खलंगादेखि झन्डै ७० किलोमिटर टाढा पर्छ। उद्धारका लागि हिँडेर जान सक्ने अवस्था थिए। तर गाउँले खोजबिनका लागि आधा बाटोसम्म पुगेका थिए। गाउँबाट खोज्न गएका स्थानीय र पाटनमा बेपत्ता भएकाहरूका बीचमा भेटघाट भयो। आपसमा खुसियाली आदानप्रदान भइरहेको थियो।

बेपत्ता हुनेमा तिला–९ ढिपुगाउँका धनबहादुर बोहोरा, छविराज बोहोरा, जंग रावत, सुमबहादुर बोहोरा, नरवीर बोहोरा, तुलु बोहोरा, ननीलाल रावत, सूर्य रावत, कल्पना बोहोरा, लाउरी बोहोरा, रेश्मा बोहोरा, मनमाया बोहोरा र नरबहादुर बोहोरा थिए। पाटनबाट फर्किएका तिला–९ का बिनबहादुर बोहोराको मृत्यु भइसकेको थियो। उनीसँगै तीन खच्चर पनि चिसोले मरेको स्थानीय बताउँछन्। बेपत्ता भएकाहरुले आफैं गाउँ पुगेको खबर दिएपछि सहज भएको थियो। यहाँबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसद्ले पनि उद्धारमा सरकारलाई दबाब दिँदै आएका थिए।

प्रकाशित: १ पुस २०७६ ०२:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App