७ वैशाख २०८१ शुक्रबार
समाज

दुर्घटनाको मुख्य कारण असावधानी

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा पछिल्ला तीन महिनाभित्र लगातार तीन भयानक बस दुर्घटना भए। गत असोज र कात्तिकमा डेढ सयभन्दा बढी यात्रु घाइते बनाउँदै २९ को ज्यान लिएको बडहरे र सुनकोसी बस दुर्घटनाको घाउ सेलाउन नपाउँदै आइतबार भएको अर्को दुर्घटनामा १४ जनाको मृत्यु भएको छ। यसले जिल्लाबासीलाई त्रसित बनाएको छ। उनीहरू सवारी यात्रादेखि डराउन थालेका छन्।

गत असोज २४ गते इन्द्रावती गाउँपालिकाको भोटसिपा बडहरेमा दसैंका यात्रु खचाखच बोकेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बर बस दुर्घटना हुँदा एकै गाउँका सातसहित ११ को मृत्यु भएको थियो। उक्त दुर्घटनामा एक सय ६ भन्दा बढी यात्रु घाइते भएका थिए। चाडबाडको मुखमा भएको यो दुर्घटनाको शोकबाट उत्रँदै गर्दा कात्तिक १७ गते अर्को भयानक दुर्घटना निम्तियो। दोलखा जिल्लाको मागा देउरालीबाट राजधानी काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस अरनिको राजमार्गको सुकुटेबाट सुनकोसी नदीमा खसेर दुर्घटना हुँदा १८ यात्रुको निधन भयो भने ५० घाइते भए।

पनि सवारी दुर्घटनामा मात्र ४३ यात्रुको मृत्यु हुँदा एक सय ७६ भन्दा बढी घाइते तथा अंगभंग भए। सडक र ठाउँ फरक भए पनि यी तीन दुर्घटनाका कारणमा तीनवटा संयोग र समानता भेटिन्छन्। ती हुन् चालकको असावधानी र बसको प्राविधिक अवस्थामा गरिएको हेलचेक्र्याइँ। ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने थोत्रो बस चलाउँदा सुनकोसी घटना निम्तिएको थियो। सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए।

आइतबारको दुर्घटनामा पनि चालकले सावधानी अपनाइएको पाइएन। दुर्घटनाका घाइतेका अनुसार चालकले चाहेको भए यो दुर्घटना टार्न सक्थे। बसबाट गन्ध आइरहेको थियो भने स्टेरिङ राम्ररी घुमिरहेको थिएन। बस रोकेर प्राविधिक पक्ष जाँच गर्नुको साटो उनले बल निकालेर स्टेरिङ घुमाउँदै यात्रा अघि बढाइरहे। अन्ततः भयानक दुर्घटना निम्तियो।

‘मुख्य त चालकको असावधानीले नै ठूला दुर्घटना निम्तिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले नागरिकसँग भने। उनका अनुसार क्षमताभन्दा बढी यात्रु चढाउनु, थोत्रा बस चलाउनु, समयसमयमा सवारीसाधन मर्मत नगर्नु र चलाउनुअघि बसको प्राविधिक अवस्था नजाँच्नु चालकको असावधानीसँग जोडिएर आउने दुर्घटनाका सहायक कारण हुन्। ‘चालकले सावधानी अपनाए मात्रै ७५ प्रतिशतभन्दा सवारी दुर्घटना न्यूनीकरण हुने देखिन्छ,’ डिएसपी काफ्ले बताउँछन्।

सिन्धुपाल्चोक बढी सवारी दुर्घटना हुने जिल्लामा पर्छ। बर्सेनि या केही वर्षको बीचमा यहाँ ठुल्ठुला दुर्घटना हुँदै आएको छ। खासगरी सुनकोसी र भोटेकोसी नदी किनारमा अवस्थित अरनिको राजमार्गको यात्रा सबैभन्दा बढी जोखिमपूर्ण देखिन्छ। ग्रामीण सडकमा पनि ठूला दुर्घटना हुँदै आएका छन्। पछिल्ला १३ वर्षमा मात्रै जिल्लामा नौवटा भयानक दुर्घटना भएका छन्। यी दुर्घटनामा एक सय ५२ यात्रुको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएको तथ्यांक छ।

राजमार्गको बन्देउ–तातोपानी खण्डमा सुनकोसी र भोटेकोसी नदीमा खसेर चारवटा भयानक दुर्घटना भएका छन्। अरू पाँच ठूला दुर्घटना सहायक र ग्रामीण सडकमा भएका हुन्। अरु सानातिना दुर्घटनाको सूची त निकै लामो छ। २०६३ साउन पहिलो साता बलेफी–जलविरे सडक खण्डको चनौटेबाट ना२ख ८१७३ नम्बरको बस ब्रम्हायणी नदी किनारमा खस्दा २५ यात्रुको मृत्यु भएको थियो। २०६६ भदौ २६ गते राजमार्गको सुकेटेबाटै ना२ख ६२२८ नम्बरको बस सुनकोसीमा खसेर डुब्दा २५ जनाको एकै थलोमा मृत्यु भएको थियो। १५ यात्रु नदीमा बेपत्ता भएका थिए।

त्यसको वर्ष दिन नबित्दै २०६७ भदौमा बा२ख ४०१३ नम्बरको बस राजमार्गको बसेरीबाट भोटेकोसी नदीमा खस्दा ३० जनाको मृत्यु भएको थियो। २५ यात्रु नदीमा हराएको हरायै भए। २०६८ मा ठोकर्पाको कच्ची सडकमा भएको बस दुर्घटनामा नौ यात्रुले मृत्युवरण गर्नुपरेको थियो। त्यस्तै २०६९ जेठ १८ गते राजमार्गकै कोठेबाट बा२ख ३३४७ नम्बरको बस सुनकोसीमै खस्दा पाँच जनाको मृत्यु भएको थियो। २०७० जेठ १५ गते थाङपालधापको कच्ची सडकमा बा२ख ३६४५ नम्बरको बस दुर्घटना हुँदा १५ को मृत्यु भएको थियो। यात्रुसँग झगडा परेपछि चालकले जानाजान बस भीरबाट खसालेका थिए।

तीव्र गति, नाममात्रको ग्रामीण सडकमा बस चलाउनु, सडक स्तरोन्नति नगरिनु, राजमार्ग समयमै मर्मत नहुनु, खाल्डाखुल्डी नपुर्नु, घुम्ती फराकिलो नबनाइनुलगायत कारण दुर्घटना निम्तिँदै आएको जानकारहरू बताउँछन्। सडक दुर्घटनामा यात्रुको पनि दोष देखिने उनीहरूको तर्क छ। जानकारहरूका अनुसार यात्रु सुविधाभोगी बन्दै गएका छन्। बस खचाखच देख्दादेख्दै चढ्छन्, पाँच मिनेट पनि हिँड्न चाहँदैनन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहाल दुर्घटना न्यूनीकरण गर्न चालकलाई सचेत गराइरहेको दाबी गर्छन्। ‘क्षमताभन्दा बढी यात्रु बोक्ने बसका चालकलाई कारबाही गरेका छौं। सम्झाएका छौं,’ उनले भने, ‘तर पनि झुक्याइहाल्छन्।’

प्रकाशित: १ पुस २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App