coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अमेरिकाद्वारा उत्तर कोरियासँग वार्ता प्रस्ताव

राजधानी सोलस्थित दक्षिण कोरियाली विदेश मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा सहभागी उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत स्टेफन बेइगन (बायाँ) र दक्षिण कोरियाली आणविक दूत लि डु हुन। तस्बिर ः एजेन्सी

सोल – उत्तर कोरियाका लागि अमेरिकी विशेष आणविक दूत स्टेफन बेइगनले प्योङयाङसँग वार्ताको प्रस्ताव गरेका छन्। उनले सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा उत्तर कोरियालाई वार्ताको प्रस्ताव गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

अमेरिकाको तर्फबाट आएको यो धेरै पछिको वार्ता प्रस्तावलाई विश्व समुदायले भने सकारात्मक रूपमा लिएको छ। सोमबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक पत्रकार सम्मेलनका विशेष दूत स्टेफनले लामो समयदेखि रोकिएको वासिङ्टन–प्योङयाङ बैठकका लागि प्रस्ताव गरेका हुन्।

सोमबार बिहान सोलमा उत्तर कोरिया र दक्षिण कोरियाका आणविक दूतहरुको संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको थियो। सो क्रममा दक्षिण कोरियाली आणविक दूत लि डु हुन पनि अमेरिकी विशेष दूत स्टेफन सँग थिए। दक्षिण कोरियाको तीन दिने औपचारिक भ्रमणका लागि आइतबार मात्रै विशेष दूत स्टेफन  सोल पुगेका हुन्। ‘यो वार्ताको समय हो। अब हामी यसका लागि अघि बढ्नुपर्छ। मलाई लाग्छ यस विषयमा उत्तर कोरिया पनि तयार हुनुपर्छ र राम्रो कामका लागि अघि बढ्नुपर्छ,’ पत्रकार सम्मेलनमा स्टेफन ले बताए।

पछिल्लो समय उत्तर कोरियाले एक साताभन्दा कम समयमा दुई वटा आणविक परीक्षण गरेको बताइएको छ।

उत्तर कोरियाले ‘महत्वपूर्ण क्षेप्यास्त्र परीक्षण’ गरेको समाचार दुई दिन अघि मात्रै उसको सरकारी समाचार संस्था (केसिएनए) मार्फत सार्वजनिक गरेको थियो। उत्तर कोरियाको यो जानकारीलगत्तै अमेरिकी दूतका तर्फबाट वार्ताको प्रस्ताव आएको छ। यस समय अमेरिकाको औपचारिक वार्ता प्रस्ताव आउनुलाई अर्थपूर्ण रूपमा लिइएको समाचारमा जनाइएको छ।

‘अमेरिकाले शान्तिवार्ताका लागि कुनै समय पर्खिनुपर्दैन र वार्ताको विशेष दिन पर्खिनुपर्दैन,’ विशेष दूत स्टेफन लाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ। ‘नेताहरुले सिंगापुर बैठकमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने हो भने त्यसका लागि हामी वार्ता गर्न सधैं प्रतिबद्ध नै छौं,’ उनले भने।

पछिल्लो समय उत्तर कोरियाले एक साताभन्दा कम समयमा दुई वटा आणविक परीक्षण गरेको बताइएको छ। उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण केन्द्र सोहाएबाट नै ती परीक्षणहरु गरिएको विवरण सार्वजनिक भएका छन्। अमेरिका र उत्तर कोरियाबीचको परमाणु वार्ता अहिले रोकिएको छ र परीक्षण उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत तीन दिन लामो भ्रमणमा सोल आउनुभन्दा ठीक दुई दिन पहिले भएको हो।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–उनबीच गत फेब्रुअरी २७ र २८ मा भियतनामको राजधानी हनोईमा शिखर बैठक भएको थियो, भने त्यसपछि दुई नेताबीच औपचारिक भेटवार्ता हुन सकेको छैन।

यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमणका बेला उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा पर्ने असैनिक क्षेत्रमा ट्रम्प र किमबीच छोटो समय भेटवार्ता भएको थियो। हनोई बैठक बिनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पटकपटक क्षेप्यास्त्र परीक्षणलगायतका कार्य गर्दै आएको छ। यद्यपि उसले ती परीक्षण छोटा दूरीका मात्रै रहेको जिकिर गर्दै आइरहेको छ।

उत्तर कोरियाली सरकारका प्रवक्तालाई उद्धृत गर्दै समाचार संस्था केसिएनएले जनाएअनुसार यसअघि पनि आणविक परीक्षणहरु गर्ने गरेको स्थलबाट देशको परमाणु क्षमता विस्तार गर्ने खालको महŒवपूर्ण परीक्षण भइरहेको छ। दक्षिण कोरियाको भ्रमणमा आएका अमेरिकी विशेष प्रतिनिधि स्टेफन को वार्ता प्रस्तावबारे उत्तर कोरियाको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन। अमेरिकाले उत्तर कोरियाले सिंगापुरमा व्यक्त गरेको निःशस्त्रीकरणको प्रतिबद्धता नै पूरा गर्न नसकेको बताउँदै आएको छ।

अमेरिकी भनाइ सत्य नरहेको उत्तर कोरियाले बताउँदै आएको छ। उसले भने सिंगापुरमा भएको प्रतिबद्धताबमोजिम आफूले काम गरेको बरु अमेरिकाले भने त्यस बमोजिम काम नगरेको बताउने गरेको छ। सन् २०१८ को जुन १२ का दिन इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो। सो बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि मिलेर काम गर्नेबारे सहमति भएको थियो। सोही सहमतिबमोजिम प्योङयाङले आफ्ना केही आणविक क्षेत्र ध्वस्त गरेको दाबीसमेत गरेको थियो।

उत्तर कोरियाले आफ्नो सुरक्षा ग्यारेन्टी भए आफू आणविक कार्यक्रम त्याग्न तयार रहेको जिकिर गरेपछि सो वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको जिम्मेवारी लिएका थिए। सोही वार्ताको निरन्तरताका रूपमा सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक भएको थियो। तर सो बैठक भने पहिलो शिखर बैठकजस्तो सौहार्दपूर्ण र फलदायी रहन सकेन।

बैठकमा उत्तर कोरियाली नेता किमले आफ्नो देशमाथि लागेका सम्पूर्ण प्रतिबन्ध हट्नुपर्ने माग गरेका थिए। त्यसको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले पूर्ण रूपमा आणविक कार्यक्रम नत्यागेसम्म उसविरुद्धको प्रतिबन्ध कायम नै रहने बताएपछि सो बैठक बिनानिष्कर्ष टुंगिएको थियो।

गत शनिबार मात्रै पनि उत्तर कोरियाले ‘सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्ड’ बाट आणविक परीक्षण गरेपछि भने अब प्योङयाङ निःशस्त्रीकरणको पक्षमा नै नरहेको कुरा प्रष्ट भएको अमेरिकी आरोपकै बीच विशेष प्रतिनिधि स्टेफनको वार्ता प्रस्तावले दुई देशबीच रोकिएको वार्ता सुरु हुनसक्ने अनुमान विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्।

प्रकाशित: १ पुस २०७६ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App