coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाबु फरार, आमाको निधन, शिशु अस्पतालमा एक्लै

सिन्धु सदाबहार अस्पतालको संरक्षणमा रहेका बसचालक सुमन तामाङको काखे शिशु। तस्बिर : ध्रुव/नागरिक

सिन्धुपाल्चोक – ६ किलो घुम्ती दुर्घटनामा परेको बसका चालक स्वयं सपरिवार दोलखाको कालिञ्चोक तीथार्टन गएको खुलेको छ। जिल्लाको इन्द्रावती गाउँपालिका–१० का चालक सुमन तामाङ पत्नी सुनिता र नौ महिने काखे शिशु (छोरा) लिएर कालिञ्चोक दर्शन गर्न पुगेका थिए।

फर्कंदा सुमनले हाँकेको बा२ख ४४६८ नम्बरको बस दुर्घटना भयो। दुर्घटनामा उनले पत्नी गुमाए। दुर्घटनामा निधन भएका १५ मध्ये उनकी पत्नी सुनिता पनि थिइन्। घटना लगत्तैदेखि सुमन फरार छन्। उनीहरूको काखे शिशु खाडीचौरस्थित सिन्धु सदश्रबहार अस्पतालको संरक्षणमा छन्।

‘चालक पनि परिवार लिएर कालिञ्चोक गएको, दुर्घटनामा पत्नी गुमाएको सोमबारमात्र पत्ता लाग्यो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई राजेश दाहालले नागरिकसँग भने। दुर्घटनाका घाइतेसँगै शिशुलाई पनि अस्पतालमा लगिएको थियो। उनका अनुसार सुरुमा प्रहरीलाई दुर्घटनाका घाइते र मृतकमध्येकै एकको शिशु होला भन्ने लागेको थियो। सदाबहार अस्पतालबाट घाइते रेफर भइसक्दा पनि शिशुलाई कसैले दाबी नगरेपछि प्रहरीले उनका आफन्तको खोजी थालेको थियो।

अलपत्र परेका शिशुको आफन्त खोजी गर्ने क्रममै चालकको पहिचान खुलेको सई दाहालले बताए। ‘पछि मृतक सुनिता चालककी पत्नी भएको खुल्यो,’ उनले भने। उनका अनुसार शिशु तन्दुरुस्त छन्। यति ठूलो दुर्घटनामा उनलाई सामान्य चोटपटक पनि लागेको छैन। उनी अस्पतालका महिला स्वाथ्यकर्मीसँग बसिरहेका छन्।

शिशु र मृतक सुनिताका घर र माइती पक्षका आफन्त प्रहरीसँग टेलिफोन सम्पर्कमा आइसकेका छन्। टेलिफोनमा आउँछु भने पनि शिशुको जिम्मा लिन र मृतकको शव बुझ्न सोमबार साँझसम्म कोही आफन्त नआएको दाहालले जानकारी दिए। सुनिताको शव बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा छ। दुर्घटनामा धेरैको मृत्यु भएकोमा डर र पत्नी गुमाउँदाको शोकले चालक सम्पर्कमा आउन नचाहेको प्रहरीको अनुमान छ।

प्रकाशित: १ पुस २०७६ ००:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App