काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि स्थगित भएको छ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह उपस्थित नभएपछि सोमबारको बैठक बस्दै नबसी स्थगित भएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अर्को बैठक पुस २ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको बताए।
उनले पार्टी भित्र हुने विवादहरु स्वभाविक र लोकतान्त्रीक भएको भन्दै दुवै पक्षबीच छलफल गरी सहमति तथा प्रकृयामार्फत टुंगोमा पुर्याउने उद्देश्यले बैठक स्थगित गरिएको जानकारी दिए।
कांग्रेस भित्र रहेका विभागहरुको संख्या बढाई २८ बाट ४१ पुर्याउने र १४ औं महाधिवेशन पछि धकेल्ने गरी प्रस्तावहरु आएको भन्दै पौडेल समुहले केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गर्दै आएको छ।
तर प्रवक्ता शर्माले भने ती विषयहरुमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच छलफल भइरहेको बताउँदै सर्वसम्मत तथा प्रकृयागत आधारमा अगाडी बढ्ने गरी बैठक सारिएको बताए। दुई पक्षबीचको विवादका कारण बिहीबार देखि कांग्रेस कार्यसमिति बैठक पटक पटक स्थगित हुँदै आएको छ।
प्रकाशित: ३० मंसिर २०७६ १३:१२ सोमबार