coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दिनभर रसिला बने सहकर्मीका आँखा

बस दुर्घटनामा आफ्ना साथीभाइको मृत्यु भएपछि आइतबार दिउँसो भक्तपुरको आदर्शचोकमा आफूआफूमा दुःख बिसाइरहेका स्थानीय।

भक्तपुर – आदर्श बस स्टपबाट शनिबार बिहान रिजर्ब बसमा कालिञ्चोक घुम्न गएकाहरू फर्कने क्रममा आइतबार बिहान दुर्घटनामा परी मृत्यु र घाइते भएपछि आफन्त र सहकर्मीका आँखा दिनभर रसिला बने। उनीहरू भक्तपुरका स्थायी बासिन्दा नभई विभिन्न जिल्लाबाट यहाँ आएर डेरामा बसेका थिए।

चिनेजानेका साथीभाइ दुर्घटनामा परेको खबर सुनेपछि दिनभरि काम गर्न नसकेको प्रशना लामाले बताइन्। ‘सँगै एउटै कारखानामा गलैंचा बुन्ने काम गर्ने एकै परिवारका चारजनासहित सबै चिनेजानेका दुर्घटनामा परेर मृत्यु र घाइते भएको थाहा पाएपछि कसरी मन थामेर काम गर्न सक्नु र ?’ उनले भनिन्, ‘यही कारण दिनभर मेरो मात्रै होइन, यहाँ बस्ने र काम गर्ने सबैको आँखामा आँशु थामिएन।’

यहाँको बुद्ध कार्पेट गलैंचा कारखानामा काम गर्ने रेश्मा तामाङसहित उनका तीन छोरी अन्जना, सविना र रोशनी दुर्घटनामा परे। सो कारखानाकी प्रोपाइटर बुद्धलक्ष्मी लोहलाले रेश्माको परिवारले त्यहाँ काम गर्ने बताइन्। ‘कारखानामा काम गर्ने रेश्मा मात्रै होइन, उनका तीनवटी छोरी पनि दुर्घटनामा परेको खबर पाएपछि मन थाम्न सकिएन,’ उनले दुःख बिसाइन्।

कान्छीमैंया चिकंबञ्जारले दुर्घटनाका घाइते र मृतक भक्तपुरका स्थायी बासिन्दा नभए पनि यहींकै घरमा डेरा गरी बसेका हुनाले चिनेजानेको बताउँदै भनिन्, ‘ दुर्घटनाको खबर पाएपछि सबैका आँखा आँशुले भरिए।’ कालिञ्चोक जाने तयारीमा आफू भए पनि अन्तिममा आएर जान नपाएको उनले बताइन्।

‘छोराले त्यहाँ हिउँ परेर बाटो चिप्लो छ, गाडी दुर्घटना होला, जानुपर्दैन भनेपछि म गइनँ,’ उनले भनिन्। आर्दशचोक र कमलविनायक र मध्यपुर थिमिमा डेरा गरी बस्ने चिनेजानको मिलेर कालिञ्चोक मन्दिर दर्शन गर्न गएका थिए।

प्रकाशित: ३० मंसिर २०७६ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App