४ वैशाख २०८१ मंगलबार
समाज

सडक दुर्घटनामा साउनयता १०३० जनाको मृत्यु

काठमाडौं – एउटा हवाईजहाज दुर्घटना हुँदा अति नै चासो दिने सरकारी निकायले दिनहुँ औषत सातजनाको मृत्यु हुनेगरी हुने सडक दुर्घटनालाई खेलाँची ठान्दा अवस्था भयावह बन्दै गएको छ। सरकारी निकायले सवारी दुर्घटना न्यूनीकरणमा चासो नदिएका कारण अवस्था भयावह बन्दै गएको हो।

सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको देखिन्छ। यही मंसिरमा मात्रै दुई सय ३० जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। सरकारी तथ्यांकअनुसार एक महिनामा सडक दुर्घटनामा एक महिनामा यति धेरैजनाको ज्यान गएको हालसम्मकै उच्च हो।

यस वर्ष भएका दुर्घटनाका कारण चालकको लापरवाही, ग्रामीण सडक, क्षमताभन्दा बढी यात्रु बोक्नु जस्ता देखिएका छन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता विश्वराज पोख्रेलले सवारी दुर्घटना बढेको बताए। सडक दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबीच समन्वय नहुँदा समस्या बढेको छ।

‘यति धेरै दुर्घटना हुनु सामान्य होइन। यसप्रति गम्भीर हुन जरुरी छ,’ उनले भने, ‘प्रहरी प्रशासन एक्लैले सडक दुर्घटना कम गर्न सक्दैन।’

प्रहरी तथ्यांक अनुसार साउनयता सडक दुर्घटनामा एक हजार ३० जनाको ज्यान गएको छ। तथ्यांक विश्लेषण गर्दा प्रतिदिन ३७ वटा सवारी दुर्घटना भएका छन्, जसमा सातजनाको मृत्यु र ४० जना घाइते भएका छन्। अधिकांश दुर्घटना ग्रामीण सडकमा भएका छन्। ‘दिनमा सरदर सातजनाको सवारी दुर्घटनामा ज्यान गएको छ,’ प्रवक्ता पाख्रेलले भने, ‘पाँच महिनामा एक हजारभन्दा बढी यात्रुले सडक दुर्घटनामा ज्यान गुमाउनु दुर्भाग्य हो।’

पाँच वर्र्षयताको तथ्यांक हेर्दा सबैभन्दा बढी दुर्घटना यो वर्ष भएका छन्। दुर्घटनामा मृत्यु हुनेको संख्या पनि यो वर्ष बढी छ। आर्थिक वर्ष ०७१/०७२ मा दुई हजार चारजना, ०७२/०७३ मा दई हजार ६ जना, ०७३/०७४ मा दुई हजार तीन सय ८४ जना, ०७४/०७५ मा दुई हजार पाँच सय ४१, ०७५/०७६ मा हुई हजार सात सय ८९ जना र ०७६÷०७७ को साउनयता पाँच महिनामा एक हजार ३० जनाको ज्यान गएको छ।

ललितपुर ट्राफिक प्रहरीका पूर्वइन्चार्ज सीताराम हाछेंथु सडकको अवस्था सुधार्न सरकारले ध्यान नदिँदा दुर्घटना बढिरहेको बताउँछन्। उनका अनुसार सवारी दुर्घटना हुनुको धेरै कारण छन्। जसमा मुख्य त चालकको लापरवाही नै प्रमुख देखिएको छ। चालकले हत्तार गर्दा, क्षमताभन्दा बढी यात्रु चढाउँदा, सवारीसाधन बेलाबेला जाँच नगर्दा, ट्राफिक नियम पालना नगर्दा जस्ता कारणले सवारी दुर्घटना निम्तिएको देखिन्छ। ‘अहिले काठमाडौं उपत्यका बाहिर सवारी दुर्घटनाको दर निकै डरलाग्दो छ। यसमा सचेत हुनैपर्छ। सरकारी निकायले नियम कार्यान्वयन नगरेसम्म सर्वसाधारणले यसरी नै अकालमा ज्यान गुमाउँछन्,’ हाछेंथुले भने। उनले सडकसँग सरोकार राख्ने निकायले सडक मर्मत र स्तरोन्नतिमा चासो नदिँदा पनि दुर्घटना बढेको बताए।

यातायातकर्मी रामबहादुर थापाले सरकारले सडकमा अर्बौ रुपैयाँ खर्चिए पनि स्तरोन्नति नहुँदा दुर्घटना हुने गरेको बताए। ‘सरकारको सबैभन्दा बढी बजेट सडकमै छ तर त्यही सडकले नागरिकलाई निकै सास्ती दिइरहेको छ,’ उनले भने, ‘सडक राम्रोसँग निर्माण नगर्नु, समयमै निर्माण कार्य नसक्नु, ठेकेदारी प्रथा हाबी हुनुजस्ता कारणले दुर्घटना बढेका छन्।’

प्रकाशित: ३० मंसिर २०७६ ०३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App