coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

भ्रमण वर्षको तयारी

खोटाङ – नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रारम्भिक तयारीका लागि काम थालेको छ। नगरपालिकाले शनिबार हलेसीका पर्यटन तथा होटल व्यवसायीसँग प्रारम्भिक छलफल गरेको हो।

पूर्वाधार तयारीका लागि स्थानीय व्यवसायीसँग प्रारम्भिक छलफल गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। भ्रमण वर्षमा अधिकतम पर्यटकलाई हलेसी भिœयाउने लक्ष्यका साथ पूर्वतयारीका काम थालिएको नगरपालिकाले जनाएको छ। स्वदेश तथा विदेशका पर्यटकलाई आकर्षण गर्नका लागि हलेसीमा सोही अनुसारको प्रचार–प्रसार तथा सेवा सुविधाको व्यवस्था गर्ने निष्कर्ष निकालिएको मेयर राईले बताए।

भ्रमण वर्षको सफलताका लागि हलेसीका सबै व्यवसायीले आफ्नो व्यवसायलाई नगरपालिकामा दर्ता तथा नवीकरण गर्ने, आ–आफ्नो व्यावसायिक क्षेत्रमा सरसफाइ र सुरक्षाको प्रत्याभूति गर्ने, अनिवार्य मूल्यसूची राख्ने, होटलमा आगन्तुकको रेकर्ड राख्ने, नगरपालिकाभित्रका हलेसी बाहेकका अन्य पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने र हलेसी आएका पर्यटकलाई सो स्थानसम्म पुग्ने वातावरण निर्माण गर्ने, बजार व्यवस्थापनका कामलाई चुस्तदुरुस्त बनाउने, भ्रमण वर्षलाई फलदायी बनाउन पटक–पटक समन्वय बैठक बस्ने निर्णय गरिएको छ। यस्तै, प्रथम हलेसी महोत्सव आयोजना गर्न आवश्यक तयारी थाल्ने समेत निर्णय गरिएको मेयर राईले बताए।

उसै पनि दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने हलेसीमा भ्रमण वर्षको अवशरमा पर्यटकलाई हलेसी आउनका लागि आव्हानका काम समेत गरिने छ। हलेसीमा चिन, तिव्वत, सिक्किम, दार्जिलिङ, भुटान, सिंगापुर, जापान, रुस, अमेरिका लगायतका पर्यटक एबं दर्शनार्थी हलेसी आउने गरेका छन्। प्रायः विदेशबाट आउनेमा बौद्धमार्गी बढि छन्। नेपालमा आएकामध्ये ५ प्रतिशत पर्यटक हलेसी आउने गरेको होटल व्यवसायी संघका अध्यक्ष रुद्र गिरीले बताए। ‘नआउँदा पनि हलेसीमा महिनामा ५–६ सय पर्यटक आउँछन्। वर्षमा दश हजारको हाराहारीमा पर्यटक आउँछन्,’ अध्यक्ष गिरीले भने, ‘नेपालमा आएकामध्ये पाँच प्रतिशत पर्यटक हलेसीमा आउने हाम्रो आँकलन छ।’

भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीहरुको बाक्लो भीड लाग्ने गरेको छ। बौद्धधर्मावलम्बीको मारातिका गुम्बा रहेका कारण हलेसीमा हरेक हिउँद बिश्वभरका बौद्धमार्गीहरुले ४÷५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन्। किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे, हिन्दुधर्म गुरु शंकराचार्य लगायतले दर्शन भ्रमण गरिसकेको हलेसीमा बिश्वभरका बौद्धमार्गी हेलीकोप्टरबाट आउने गरेका छन्।

हलेसीमा गाईडकै समस्या
हलेसीमा दैनिक स्वदेश तथा विदेशका पर्यटकको भीड देखिन्छ। तर, त्यी पर्यटकलाई हलेसी आसपास एबं खोटाङकै अन्य पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने संयन्त्र कमजोर छ। जिल्लाका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रका बारेमा जानकारी दिने, त्यहाँसम्म जान प्रोत्साहित गर्ने गाईडको अभाव छ। जसका कारण जिल्लामा पर्यटन प्रवद्र्धनको काम सन्तोषजनक हुन नसकिरहेको होटल व्यवसायी संघ हलेसीका अध्यक्ष गिरीले बताए। घुमफिर गर्ने स्थानको बारेमा जानकारी नपाउँदा अधिकांश पर्यटक हलेसीबाटै फर्कन गरेका छन्। हलेसी आउने पर्यटकलाई जिल्लाका अन्यत्र ठाउँमा लैजाने र घुमफिर गराउनका लागि गत वर्ष हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सूचना केन्द्र स्थापना गरेको भए पनि औचित्यपूर्ण बन्न नसकेको स्थानीयको भनाई छ। सूचना केन्द्रले अपेक्षित परिणाम दिनेगरी काम गर्न नसकेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले स्वीकार गरे।

प्रकाशित: ३० मंसिर २०७६ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App