coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उपचार खर्च तिर्न नसक्दा आमा बन्धक

नवजात छोरीका साथ गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित पोषण गृहमा गोपी खंग। तस्बिर : नागरिक

राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ की २६ वर्षीय ललितादेवी खंग दुई सातायता विराटनगरस्थित एक अस्पतालमा उपचार खर्च तिर्न नसक्दा बन्धक अवस्थामा छिन्। उनकी नवजात छोरी कडा कुपोषणले ग्रस्त भई राजविराजस्थित पोषण पुनस्र्थापना गृहमा उपचाररत छिन्।

सरकारले मातृ शिशु कार्यक्रम निःशुल्क बनाएको छ। तामझामका साथ मातृशिशु कार्यक्रमबारे राज्यले प्रचारप्रसार गरिरहेको अवस्था छ। प्रदेश सरकारले पनि छोरीलाई लक्षित गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत बर्सेनि करोडौं खर्चिरहेको अवस्था छ। तर पनि एक आमा गरिबीका कारण अस्पतालको बन्धक बन्न बाध्य भएकी छन् भने उनकी नवजात छोरी कुपोषणका कारण जीवनमृत्युको दोधारमा छिन्।

सुत्केरी गराउँदा लागेको खर्च तिर्न नसक्दा १५ दिन यता ललिता विराटनगरस्थित विराटनगर अस्पताल प्रालिमा बन्धक छिन्। उनका पति गोपी नवजात छोरीलाई लिएर शनिबार सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल हातामा सञ्चालित पोषण पुनः स्थापना गृहमा पुगेका छन्। गृहकी प्रमुख रेशमी झाले आमाको दूध खान नपाउँदा शिशुलाई कुपोषण भएको बताइन्। ‘शिशुको शरीरमा मासु कम र हाड बढी देखिएको छ, यो कडा खालको कुपोषण हो’, उनले भनिन्, ‘प्रारम्भिक उपचारपछि शिशुलाई तत्कालै आमानिर पु¥याएर उनको दूध खुवाउन सल्लाह दिएका छौं।’

अस्पताललाई तिर्ने पैसा नभएर आफू छोरी लिएर पत्नीलाई भेट्न जान नसकेको गोपीले बताए। उनले भने, ‘डाक्टरहरुले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन् तर उपचार खर्च तिर्न नसक्दा अस्पतालमा बन्धक बनाइएकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरीलाई ल्याइदेऊ भनेर कर गर्छिन्, पैसा नहुँदा जान सकेको छैन।’ स्वास्थ्यअवस्था कमजोर भएपछि ललितालाई ११ दिनसम्म आइसियुमा राखिएको थियो। त्यति बेलादेखि नै नवजात छोरीलाई अलग्गै राख्नुपरेको र पैसाको जोहो हुन नसक्दा आफू समस्यामा परेको गोपीको भनाइ छ।

‘डाक्टरले बच्चालाई तत्कालै आमानिर लैजान भनेका छन्। उपचार खर्च तिर्न नसकेर अस्पतालमै बन्धक बनेकी पत्नीसामु खाली हात कसरी जाऊँ ? पत्नी सधैं फोन गर्छिन्, छोरी ल्याइदेऊ भनी कर गर्छिन्, पैसा नहुँदा जान सकिएको छैन।’

विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा ललिताले जुम्ल्याहा छोरी जन्माएकी थिइन्। नवजात जुम्ल्याहामध्ये एकको तत्कालै मृत्यु भएको थियो। ललिताको अवस्था जटिल बन्दै गएपछि उनलाई थप उपचारका लागि विराटनगर अस्पताल प्रालि पु¥याइएको थियो। ललितालाई निको पनि भयो तर उपचारबापतको ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा अस्पताल प्रशासनले उनलाई डिस्चार्ज गरेको छैन।

अर्काको घरखेतमा मजदुरी गरी परिवारको लालनपालन गर्दै आएका गोपीले गाउँकै साहुमहाजनसँग ऋण सापटी लिएर ट्रमा सेन्टरमा सुत्केरी गराउनेदेखि छोरीको उपचार खर्चसमेत गरी एक लाख ७४ हजार रुपैयाँ बुझाएका थिए।

घटना बाहिरिएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साहले २५ हजार, सुनसरीको इटहरीस्थित स्वदेशी लघुवित्त केन्द्रीय कार्यालय र विशाल ग्रुप फाउन्डेसनले संयुक्त रुपमा ५० हजार रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएको गोपीले बताए।

विराटनगर अस्पताल प्रालिका प्रशासन प्रमुख पदम बिनाडीले ललिताको उपचारमा लागेको खर्च नबुझाएकाले उनलाई डिस्चार्ज गर्न नसकिएको बताए। अति गम्भीर अवस्थामा ललितालाई आफन्तले ल्याएको र त्यस्तो अवस्थामा पैसालाई प्राथमिकता नदिई बिरामीको उपचार गरिएको बताउँदै उनले भने, ‘हामीले सुरुमै पैसा खोजेको हैन, बिरामीलाई जोगाउने सकभर प्रयास ग-यौं र जोगायौं पनि, अब उपचारमा लागेको खर्च त तिर्नुप-यो नि।’

प्रकाशित: ३० मंसिर २०७६ ०३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App