coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सिड्नीमा नेपथ्य

सिड्नी (अस्ट्रेलिया) – नेपाली लोकरक ब्याण्ड नेपथ्यले शनिबार अस्ट्रेलियाको सिड्नीस्थित बिग टप अडिटोरियममा सांगीतिक प्रस्तुती दिएको छ। हाल अस्ट्रेलियाको सांगीतिक टूरमा रहेको नेपथ्यको कन्सर्टमा सहभागी हुन पुगेका दर्शकले बिग टप अडिटोरियम भरिभराउ थियो। नेपथ्यको व्यवस्थापन गर्दै आएको नेपालयले सो कन्सर्टको दौरान अनलाइन टिकटलाई स्थापित गर्ने प्रयास गरिरहेको थियो। नेपालयले सिड्नीमा आयोजित नेपथ्यको कन्सर्टमा शतप्रतिशत टिकट अनलाइनबाट बिक्री भएर नयाँ रेकर्ड कायम गरेको दाबी गरेका छ।

‘नेपाली कार्यक्रमको सम्पूर्ण टिकट यसरी इन्टरनेटबाटै सकिएको हेर्ने मेरो लामो समयदेखिको सपना यसपाला सिड्नीले पूरा गरिदिएको छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भने, ‘यत्रो ठूलो आयोजनालाई पूर्णतया अनलाइनको पोल्टामा सुम्पनु धेरै ठूलो जोखिम थियो, जसलाई चुनौतीका रुपमा स्वीकार्न सिड्नीका आयोजक नेपाली टच तयार भइदियो र परिणाममा हामीले यति ठूलो सफलता हात पारेका छौं।’

यो कन्सर्टका साथ नेपथ्य अस्ट्रेलियाको व्यापारिक राजधानीमा छैठौं पटक सफलताका साथ प्रस्तुत भएको थियो। अष्ट्रेलियाभरमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा पहिलोपटक सांगीतिक प्रस्तुति दिएको थियो। ‘सिड्नी मेरो निम्ति आत्मीय सहर हो। जहाँ म घरमा जस्तै सर्वत्र आफूलाई माया गर्नेहरु भेटिरहेको हुन्छु,’ नेपथ्यका गायक अमृत गुरुङ भने, ‘अहिलेभन्दा थोरै नेपालीहरू बसोबास गर्दाको पहिलो कन्सर्ट म झल्झली सम्झन्छु। यो दस वर्षको बीचमा नेपालीहरुको संख्या धेरै गुणाले बढीसकेको छ। सिड्नी मात्र नभई विश्वभर यसरी नेपाली समुदायको उपस्थिति बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ। तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ।’

कन्सर्टमा गीत संगीतसँगै समानान्तर रुपमा नेपालका हिमाल, पहाड र तराइका दृश्यहरुले पनि यात्रा गरेका थिए। पर्दामा प्रस्तुत स्वदेशका ती तस्बिरहरुले गुञ्जँदै गरेका गीतहरुको भावभूमि देखाउँथ्यो। गायक अमृतले गीतको संकलनका क्रममा मुलुकभर यात्रा गर्दा खिचेका फोटोहरुको संकलनबाट ती दृश्यहरु निकालिएका थिए। सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै यस वर्षको नेपथ्य अष्ट्रेलिया टूरको अन्त्य डिसेम्बर २३ मा मेलबर्नको ‘द पाम्स एट क्राउन’ मा पुगेर हुनेछ।

प्रकाशित: ३० मंसिर २०७६ ०३:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App