४ वैशाख २०८१ मंगलबार
समाज

बढ्दै होमस्टेमा चमक

होमस्टेमा पुगेका पाहुनालाई स्वागत गर्दै स्थानीयहरु। तस्बिर: नागरिक

दैलेख– दैलेख सदरमुकामबाट २० मिनेटको पक्कि सडक र त्यसपछि ८ मिनेटको कच्चि सडक हिडेपछि पुगिन्छ खाईतडा गाउँ। दैलेख सुर्खेत सडकदेखि नजिकै रहेको सुन्दर गाउँ खाईतडा चुप्रा बजारबाटै हिडेर या गाडीमा सहज पुग्न सकिन्छ। दुल्लु नगरपालिका –११ मा पर्ने खाईतडा अहिले होमस्टे गाउँमा रुपमा कहलिएको छ।

सदरमुकाम आउने हुन या सदरमुकाममा बस्नेहरु यहाँ रहेको होमस्टेमा अर्गानिक खानाको स्वाद लिन पुग्ने गर्दछन्। हरियाली जंगलकोबीचमा सबै घरहरु जोडिएर बनेका छन्। खाईतडा पुरै जनजाती बस्ती हो। ५ वर्षअघि स्थापना भएको होमस्टे चलाईएको हो। यहाँ आउने आगन्तुकहरुलाई होमस्टेमा गरिने स्वागत सत्कारले छुटटै रौनक दिने गर्दछ।

दुई वर्षयता दिनहुँ जसो पाहुनाहरुले होमस्टे भरिने गर्दछ। यसअघि सदरमुकाम नजिक भएर पनि यो बस्तीले कुनै आर्यमुलक कार्य गर्न सकेको थिएन। तर, अहिले होमस्टेबाटै आम्दानी लिन थालेका छन्। घरघरमा उनीहरुले लोकल पालेका छन्। यहाँ लोहोरेखोला र छामघाट खोलाबाट ल्याएर माछा खुवाउनेदेखी लोकल चामलदेखी अन्य खानेकुराहरुको परिकार खाएर पाहुनाहरु औधी रमाउने गर्दछन्। उनीहरुले गाउँमा उत्पादन हुने लोकल अर्गानिक खानेकुरा मात्रै खुवाउने गरेका छन्।

पाहुनाले खान चाहेमा मदिरा पनि स्थानीय उत्पादन नै दिने गर्दछन्। यहाँ प्राय लोकल कुखुरा र माछाको स्वाद लिन प्राय आउने गर्दछन्। आफुहरुले गाउँमै उत्पादन गरेको अर्गानिक खानेकुरा मात्रै पाहुनाहरुलाई खुवाउने गरेको होमस्टे चलाएका स्थानीय रमेशकुमार आलेमगरले बताए।

गाउँका १६ घरधुरी मिलेर होमस्टे चलाएका हुन्। पहिले खाईतडा गाउँको पहिचान नै थिएन तर, अहिले देशविदेशमा होमस्टेले गाउँको नाम चलेपछि स्थानीयहरु खुसी छन्। मिलेको जनजाती बस्ती भएकाले आफुहरुले होमस्टे सञ्चालनमा सहयोग गरेको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ घरेलु विकास अधिकृत पर्शुराम आर्चायले बताए।

उनीहरुले त्यही बस्तीमा लाफा नामक होमस्टे नाम दिएर सञ्चालन गरेका हुन्। ‘सुरुमा होमस्टे खेलेपछि पाहुना आउँदैनन् की भन्ने चिन्ता थियो।’ स्थानीय रमेश आलेमगरले भने, विस्तारै विस्तारै पाहुना आउने क्रम बढ्यो। अहिले वर्षमा सिजन अनुसार राम्रो चलेको छ।’

प्रत्येक घरमा लोकल कुखुरा, माछादेखि लोकल उत्पादनहरु परिकारका रुपमा पकाईन्छ भने उनीहरु साँझ आफ्नै भेषभुषामा सांस्कृतीक कार्यक्रमहरु समेत देखाएर पाहुनाहरुलाई मनोरञ्जन दिने गर्दछन्। उनीहरुले १० जनाभन्दा धेरै पाहुना आएमा अरु नजिकै जोडिएका अन्य घरहरुमा समेत बसाल्ने गर्दछन्। होमस्टेमा एक सयसम्म पाहुनालाई एक रातमा बस्ने सुविधा रहेको छ।

सदरमुकाम नजिकै भएकाले होमस्टे आउने पाहुनाहरु बढ्ने र पर्यटन विकासमा प्रर्वधन हुने पर्यटन पत्रकारसंग दख्खल राख्ने पत्रकार अभिषेक अनुरागले बताए। सदरमुकाममा महगों बसाईभन्दा सस्तो तथा अर्गानिक खानपानका लागि होमस्टे आर्कषण बनेको छ। छामघाट खोलामा पक्कि पुल बन्ने तयारीमा रहेको छ त्यसपछि यहाँ आउजाउ गर्न निकै सहज हुने छ। प्रचारप्रसार ब्यापक भए रारा पुगेर फर्कने पर्यटकहरु दैलेखको ज्वालाजी दर्शन गरि एक रात होमस्टे बसेर नेपालगंज पुग्न उत्तम रुट हुने पत्रकार अनुरागले बताए।

होमस्टे आउदा अग्रिम बुकिग या खबर गरेर पाहुना आउने गर्दछन्। होमस्टेमा बजारभन्दा निकै सस्तोमा अर्गानिक खानेकुरा खान पाईने भएकाले अहिले विदाको दिन पारिवारिक रुपमा जमघट हुने क्रम बढीरहेको छ। आफुहरु विदाको दिन पारिवारिक रुपमा होमस्टे जाने गरेको दैलेख बजारमा स्थानीय ब्यापारि अजय श्रेष्ठले बताए।

 

प्रकाशित: २९ मंसिर २०७६ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App