७ वैशाख २०८१ शुक्रबार
समाज

सदरमुकामबाट धपाइएका हात्तीद्वारा बेलकाको आम्बासीमा आतंक

त्रियुगा ४ मा हात्तीले भत्काएको स्थानीयको घर। तस्बिरः महेश्वर

उदयपुर- केही समय यता उदयपुरबासीलाई जंगली हात्तीले आतंकित पार्ने क्रम तिब्र भएको छ। दुई साताअघि मात्र सदरमुकाम त्रियुगा नगरपालिकाका बिभिन्न वडा र छिमेकी चौदण्डीगढी नगरपालिकाका बस्तीहरुमा घर, गोठ भत्काउने तथा अन्न खाईदिने गरेर आतंक मच्चाएको हात्तीले शनिबारदेखि बेलका नगरबासीलाई आतंकित पार्न थालेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार बिहान २ बजेको समयमा बेलका १ को आम्बासीमा आएको जंगली हात्तीले ३ जना स्थानीयको घर भत्काउनुका साथै अन्नपात खाईदिने, पोखिदिने गरेर क्षति गरेको छ। सबै सुतिरहेको मौकामा आएको हात्तीले स्थानीय मञ्जु मगरको घर भत्काईदिनुका साथै २० हजारभन्दा बढीको क्षति गरिदिएको छ।

त्यस्तै सोही ठाउँकी कल्पना राईको घरभित्र पसेर हात्तीले अन्नपात खानुका साथै पोखिदिएर १५ हजार बराबरको क्षति गरेको छ भने अर्का स्थानीय दुर्गाखत्रीको घर पनि भत्काई दिएको छ। खत्रीको १७ हजार बराबरको क्षति पुर्‍याएको प्रहरी चौकी भागलपुरलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

मस्त निन्द्राका बेला आएको हात्तीले अकस्मात घर भत्काउदै क्षति गर्न थालेपछि कहालिएका स्थानीयहरु जम्मा भई राँका बालेर र टिन ठटाएर हात्ती भगाउन खोजेका थिए। घटनाबारे जानकारी आएलगत्तै गएको प्रहरीले स्थानीयहरुको सहयोगमा हात्तीलाई जंगलतर्फ भगाएको जनाइएको छ।

मंसिर १४ देखि २१ गतेसम्म हात्तीले त्रियुगा नगरपालिकाकाका १, २, ३, ४ र ५ नं. वडाका ३ दर्जन बढी स्थानीयलाई पिरोलेको थियो। रातिराति एकल र समूहमा आउने हात्तीले घर भत्काउने, घरभित्र र बाहिर राखेको धान, मकैजस्ता अन्नबाली खाने, फ्याँकिदिने बिझाई गर्दै आएको हात्तीले अहिले बेलकाको आम्बासीमा आतंक मच्चाएको प्रहरीले जनाएको छ।

हात्तीले सबैभन्दा बढी त्रियुगा २ जोगीदहका गुणराज कार्की, २ कै सिरे परियार र कृष्ण राईको घर भत्काईदिएको थियो। त्यस्तै त्रियुगा ३ का दिलबहादुर विक, बलराम राई, हर्कवहादुर राई, गम्भीरबहादुर कार्की, सीता बस्नेत र नमिना राई गरी एउटै वडाका ७ स्थानीयको घरटहरा भत्काउदै अन्नपात क्षति पुर्‍याएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

त्यसैगरी त्रियुगा ४ बगाहाका नानीराज तामाङ, माया परियार र मानबहादुर तामाङको घर पनि भत्काईदिएको थियो। ४ नं. कै शम्सेर परियार, कर्णबहादुर परियार, लिला परियार, भिम मगर, सारदा दाहाल, चेतबहादुर पयरियार, पर्शुराम राउत र टेकबहादुर बराल र डिल्लीराम उपाध्याय तथा मकरबहादुर खत्रीको पनि घर भत्काउदै हात्तीले अन्नपात खाएर क्षति गरेको छ। हात्तीले त्रियुगा ५ का निरबहादुर राउत, गोपाल काफ्ले, काजी खत्री, कृष्ण ढुंगाना, यदुप्रसाद बराल, होमप्रसाद दाहाल, देवबहादुर कार्की, अम्बरबहादुर काफ्ले र लक्ष्मण काफ्लेको घरटहरा पनि भत्काउनुका साथै अन्नपात क्षति गरेको छ।

लगातार साता दिनसम्म हात्तीले दुःख दिन थालेपछि आतंकित भएका स्थानीयले प्रहरी, प्रशासन गुहारेपछि जिल्ला प्रशासनले जनपथ, सशस्त्र र नगरपालिका तथा वन र वडा कार्यालय मिलेर हात्ती धपाऊ अभियान थालेको थियो। सदरमुकामबाट धपाइएका हात्ती पूर्वतर्फ गएर पुनः बेलकाका बस्तीहरुमा आतंक मच्चाउन थालेको अनुमान गरिएको छ।

स्थानीयले हात्ती आतंकबाट बचाउन प्रहरी प्रशासन गम्भिर हुनुपर्ने माग गरेका छन्। हात्ती आतंक फैलिएपछि त्रसित स्थानीयहरु टोलटोलमा आगो बालेर रातभर जाग्राम बस्ने गरेका छन्। यसबेलै अत्याधिक बढेको जाडोले रातभर जाग्राम बस्न कठिन भए पनि हात्तीबाट बच्न अर्को उपाय नभएको स्थानीयको गुनासो छ।

 

 

प्रकाशित: २९ मंसिर २०७६ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App