८ वैशाख २०८१ शनिबार
समाज

प्रहरी चौकी अन्यत्र नसार्न स्थानीयको माग

प्रहरी चौकी नसार्नका लागि डिएसपी बामदेव गौतमलाई ज्ञापनपत्र बुझाउँदै सहयोग समितिका संयोजक केशव कार्की। तस्बिर: नागरिक

खोटाङ– खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका स्थानीयले प्रहरीचौकी सछितापोखरीलाई अन्यत्र नसार्न माग गरेका छन्।

दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरीमा २०२१ सालमा स्थापना गरिएको प्रहरी चौकीलाई सोही वडाको याङसोलाटारमा रहेको गाउँपालिकाको केन्द्रमा सार्ने तयारी भएपछि स्थानीयले प्रहरी चौकीलाई यथास्थानमा राख्न माग गरेका हुन्। प्रहरी चौकी सछितापोखरीलाई यथास्थानमा कायम गर्नका लागि बनेको सहयोग समितिका संयोजक केशव कार्कीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी चौकीलाई अन्यत्र स्थानान्तरण नगर्न माग राखेका छन्।

मन्त्री परिषदको गत असोज ७ गतेको बैठकले प्रहरी चौकी सछितापोखरीलाई गाउँपालिकाको केन्द्र याङसोलाटारमा सार्ने निर्णय गरेपछि दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका जनप्रतिनिधि, दलका प्रतिनिधि, शिक्षक, वुद्धिजिवी, स्थानीयको गत कात्तिक २९ गतेको बैठकले साविककै स्थानमा स्थायीत्व दिनका लागि नेपाल सरकारलाई माग गर्ने निर्णय गरेको थियो।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको छितापोखरी, सछितापोखरी, छोरम्बु, बतासे, डाँडागाउँ, टेम्मा, खोटेहाङ गाउँपालिकाको चिप्रिङ लगायतका ठाउँका स्थानीय लाभान्वित हुँदै आएको प्रहरी चौकीलाई अन्यत्र सार्न अस्वभाविक र दुःखद भएको सहयोग समितिले जनाएको छ।

गाउँपालिकाको केन्द्र र प्रहरी चौकी एउटै वडामा परेका कारण गृहमन्त्रालयले सोही प्रहरी चौकीलाई गाउँपालिकाको केन्द्रमा सार्ने तयारी गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए। ‘हरेक गाउँपालिकाको केन्द्रमा एउटा प्रहरी चौकी राख्ने सरकारको नीति छ।

तर, दिप्रुङ चुईचुम्मा गाउँपालिकाको केन्द्र र प्रहरी चौकी एउटै वडामा पर्छ। एउटै वडामा दुई वटा प्रहरी चौकी स्थापना गर्ने व्यवस्था नभएकाले सोही प्रहरी चौकीलाई केन्द्रमा सार्ने तयारी छ,’ डिएसपी गौतमले भने, ‘स्थानीयको मागलाई पनि सम्बोधन गर्ने गरी प्रहरी चौकी व्यवस्थापनको काम हुने छ।’ वडा कार्यालय सछितापोखरीले पनि मंसिर ७ गते प्रहरी चौकीलाई यथास्थानमा राख्नुपर्ने स्थानीयको मागलाई सम्बोधन गर्नका लागि जिल्ला प्रहरी कार्यालयलाई लिखित माग राखेको थियो।

गाउँपालिकाको मध्यभागमा रहेको, व्यपारिक केन्द्रकारुपमा रहेको, ऐतिहासिक पोखरी, धार्मिकस्थल लगायतका संरचना भएको सछितापोखरीका स्थानीयले चार रोपनीभन्दा बढि जग्गा उपलव्ध गराएर भवन बनाइदिएपछि प्रहरी चौकी स्थापना गरिएको थियो।

द्धन्द्धकालमा सो भवन ध्वंस्त बनाइए पनि स्थानीयकै सहयोगमा पुःन नयाँ भवन निर्माण गरिएको स्थानीय अगुवा सुर्य राईले बताए। ईलाका प्रहरी कार्यालय खोटाङ बजार, ईलाका प्रहरी कार्यालय सिमपानी, जिल्ला प्रहरी कार्यालयको बीचमा पर्ने भएकाले सुरक्षाका दृष्टिले सछितापोखरीबाट प्रहरी चौकी हटाउन नहुने स्थानीयको दावी छ।

सछितापोखरी प्रहरी चौकीलाई अन्यत्र सार्नुको सट्टा अझ मजबुत र श्रोतसाधन सम्पन्न बनाइनुपर्ने मागपत्रमा उल्लेख छ।

 

प्रकाशित: २९ मंसिर २०७६ १२:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App