७ वैशाख २०८१ शुक्रबार
समाज

लगातार ठूला दुर्घटना : असावधानी मुख्य कारण

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा पछिल्ला तीन महिनाभित्र लगातार तीन भयानक यात्रुबस दुर्घटना भए। गत असोज र कात्तिकमा डेढ सयभन्दा बढी यात्रु घाइते बनाउँदै २९ को ज्यान लिएको बडहरे र सुनकोसी बस दुर्घटनाको घाउ सेलाउन नपाउँदै आइतबार भएको अर्को दुर्घटनामा १४ ले मृत्युवरण गर्दा जिल्लावासीमा पीडा थपिएको छ। साथै लगातारको ठूला दुर्घटनाले सवारी यात्रादेखि उनीहरु त्रसित बनेका छन्।

गत असोज २४ गते इन्द्रावती गाउँपालिकाको भोटसिपा, बडहरेमा खचाखच दसैँका यात्रु बोकेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बर बस दुर्घटना हुँदा एकै गाउँका सातसहित ११ को मृत्यु भएको थियो। यो दुर्घटनामा एक सय ६ भन्दाबढी यात्रु घाइते भएका थिए। चाडवाडको मुखमा भएको यो दुर्घटनाको शोकबाट उत्रँदै गर्दा कात्तिक १७ गते अर्को भयानक दुर्घटना निम्तियो। दोलखा जिल्लाको मागादेउरालीबाट राजधानी काठमाडौँ आउँदै गरेको बा२ख ७२४५ नम्बरको यात्रुबस अरनिको राजमार्गको सुकुटेबाट सुनकोसी नदीमा खसेर दुर्घटना हुँदा १८ यात्रुको निधन भयो भने ५० घाइते भए।

पछिल्ला तीन सवारी दुर्घटनामा मात्र ४३ यात्रुले ज्यान गुमाउँदा एक सय ७६ भन्दाबढी घाइते तथा अंगभंग भए। सडक र ठाउँ फरक भए यी तीन दुर्घटनाका कारणमा तीनवटा संयोग र समानता भेटिन्छन्। ती हुन् चालकको असावधानी र बसको प्राविधिक अवस्थामा गरिएको हेलचेक्राईँ। ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जवरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने थोत्रो बस चलाउँदा सुनकोसी घटना निम्तिएको थियो। सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए।

आइतबारको दुर्घटनामा पनि चालकले सावधानी अपनाइएको पाइएन। दुर्घटनाका घाइतेका अनुसार चालकले चाहेको भए यो दुर्घटना टार्न सक्थे। बसबाट गन्ध आइरहेको थियो भने स्टेरिङ राम्ररी घुमिरहेको थिएन। बस रोकेर प्राविधिक पक्ष जाँच गर्नुको साटो उनले बल निकालेर स्टेरिङ घुमाउँदै यात्रा अघि बढाइरहे। अन्त्यत भयानक दुर्घटना निम्तियो।

‘मुख्य त चालकको असावधानीले नै ठूला दुर्घटना निम्तिएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले नागरिकसँग भने। उनकाअनुसार क्षमताभन्दा बढी यात्रु चढाउँनु, थोत्रा बस चलाउनु, समय–समयमा सवारी साधन मर्मत नगर्नु र चलाउनुअघि बसको प्राविधि अवस्था नजाँच्नु चालकको असावधानीसँग जोडिएर आउने दुर्घटनाका सहायक कारण हुन्। ‘चालकले सावधानी अपनाए मात्रै ७५ प्रतिशतभन्दा सवारी दुर्घटना न्यूनिकरण हुने देखिन्छ,’ डिएसपी काफ्ले बताउँछन।

सिन्धुपाल्चोक बढी सवारी दुर्घटना हुने जिल्लामा पर्छ। बर्षेनी या केही वर्षकोबीचमा यहाँ ठुल्ठूला दुर्घटना हुँदै आएको छ। खासगरी सुनकोसी र भोटेकोसी नदी किनारमा अवस्थित अरनिको राजमार्गको यात्राको लागि सबैभन्दा बढी जोखिमपूर्ण देखिन्छ। ग्रामीण सडकमा पनि ठूला दुर्घटना हुँदै आएका छन्। पछिल्ला १३ वर्षमा मात्रै जिल्लामा नौवटा भयानक दुर्घटना भएका छन्। यी दुर्घटनामा मात्रै एक सय ५२ यात्रुको ज्यान गएको छ भने तीन सयभन्दा बढी घाइते भएको तथ्यांक छ।

राजमार्गको बन्देउ–तातोपानी खण्डमा सुनकोसी र भोटेकोसी नदीमा खसेर चारवटा भयानक दुर्घटना भएका छन्। अरु पाँच ठूला दुर्घटना सहायक र ग्रामीण सडकमा भएका हुन्। अरु सानातिना दुर्घटनाको सूची त निकै लामो छ। २०६३ साउन पहिलो साता बलेफी–जलविरे सडक खण्डको चनौटेबाट ना.२ख ८१७३ नम्बरको बस ब्रम्हायणी नदी किनारमा खस्दा २५ यात्रुको ज्यान गएको थियो। २०६६ भदौ २६ गते राजमार्गको सुकेटेबाटै ना२ख ६२२८ नम्बरको यात्रुबस सुनकोसीमा खसेर डुब्दा २५ को एकै थलोमा मृत्यु भएको थियो। १५ यात्रु नदीमा बेपत्ता भएका थिए।

त्यसको वर्ष दिन नबित्दै २०६७ भदौमा बा२ख ४०१३ नम्बरको यात्रुबस राजमार्गको बसेरीबाट भोटेकोसी नदीमा खस्दा ३० को ज्यान गएको थियो। २५ यात्रु नदीमा हराएको हराएै भए। २०६८ मा ठोकर्पाको कच्ची सडकमा भएको बस दुर्घटनामा नौ यात्रुले मृत्युवरण गर्नु परेको थियो। त्यस्तै २०६९ जेठ १८ गते राजमार्गकै कोठेबाट बा२ख ३३४७ नम्बरको बस सुनकोसीमै खस्दा पाँचको ज्यान लिएको थियो। २०७० जेठ १५ गते थाङपालधापको कच्ची सडकमा बा२ख ३६४५ नम्बरको बस दुर्घटना हुँदा १५ को मृत्यु भएको थियो। यात्रुसँग झगडा परेपछि चालकले जानाजान बस भिरबाट खसालेका थिए।

तिब्र गति, नाममात्रको ग्रामीण सडकमा बस चलाउनु, सडक स्त्तारोन्नति नगरिनु, राजमार्ग समयमै मर्मत नहुनु, खाल्डाखुल्डी नपुर्नु, घुम्ति फराकिलो नबनाइनु लगायत कारण दुर्घटना निम्तिदै आएको जानकारहरु बताउँछन्। सडक दुर्घटनामा यात्रुको पनि दोष देखिने उनीहरुको तर्क छ। उनीहरुका अनुसार यात्रु सुविधाभोगि बन्दै गएका छन्। बस खचाखच देख्दा देख्दै चढ्छन्। पाँच मिनेट पनि हिँड्न चाहँदैनन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहाल दुर्घटना न्यूनिकरण गर्न चालकलाई सचेत गराइरहेको दाबी गर्छन्। ‘क्षमताभन्दा बढी यात्रु बोक्ने बसका चालकलाई कारवाही गरेका छौँ, सम्झाएका छौँ,’ उनले भने, ‘तर पनि झुक्याइ हाल्छन्।’
    

प्रकाशित: २९ मंसिर २०७६ ११:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App