चितवन- झमझम झरी परेपछि शुक्रबार नारायणगढ–मुग्लिङ सडक खण्डको ३० ठाउँमा पहिरो खस्यो। बिहान ६ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास साँझसम्म जारी छ। चार किलो, पाँच किलो, जलवीरे र भालुढुंगामा खसेको पहिरो निकै ठूलो थियो। मिलेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सडक निर्माण आयोजनाले चालक र यात्रुलाई अपिल गरेको छ।
दुई लेनको सडक बनाउन विस्तार कार्य भइरहेको नारायणगढ–मुग्लिङ खण्डमा बर्खा लागेपछि दिनहुँजसो पहिरो खस्न थालेपछि यात्रा जोखिमपूर्ण बनेको छ । केही दिनअघि त एउटा कार पहिरोमा प¥यो ।भूगर्भविद्ले सडक विस्तार क्रममा पहाड काट्दा अपनाउनुपर्ने सावधानी नअपनाए जोखिम बढ्नसक्नेतर्फ ध्यानाकर्षण गराएका थिए । अहिले त्यो सत्यसाबित भएको छ। पहाड केही तेस्रो पारेर नकाटे समस्या आउन सक्ने भूगर्भविद् दिपक चौंलागाईंले बताएका थिए। उनका अनुसार पहाड केही तेस्रो अर्थात् छड्के पारेर काट्नुपर्छ।
विस्तारकै क्रममा गत माघमा कालीखोलामा सुक्खा पहिरो जाँदा १४ घन्टा बाटो थुनिएको थियो । सो बेला पहिरोस्थलमा पुगेका भूगर्भविद् चौलागाईंले पहाड काट्ने तरिका नमिलेका कारण वर्षायाम सुरु भएपछि ठूलो दुःख खेप्नुपर्ने र यस्तो समस्या वर्षौ झेल्नुपर्ने बताएका थिए । बर्खा लागेपछि पहाड काटेको ठाउँबाट बढी पहिरो खसेको छ । ‘४५ डिग्रीको कोण अर्थात् छड्के बनाउँदै पहाड काट्नु पर्नेमा ९० डिग्री अर्थात् सिधै पहाड काटेका कारण यसले समस्या ल्याउने छ,’ त्यतिबेला चौंलागाईले भनेका थिए। चौंलागाईको भनाइलाई गम्भीरता साथ नलिएका सरकारी अधिकारी अहिले चुकचुकाउन थालेका छन्। ‘४५ डिग्री छड्के बनाएर पहाड काट्न पाए पहिरो जाँदैन । यो हामीलाई पनि थाहा छ । तर त्यसरी नमिल्ने ठाउँमा सिधै काट्नुपर्छ। सिधै काटेपछि पहिरोले दुःख दिने नै भयो,’ नारायणगढ–मुग्लिङ सडक निर्माण आयोजनाका प्रमुख चन्द्रनारायण यादवले भने।
पर्खाल लगाएर पहिरो रोक्ने प्रयास पनि विफल भएको छ । कालिखोला आसपासलगायत ठाउँमा खतरनाक पहिरो गएको छ । ठूलामध्येका ८० प्रतिशत पहिरो चारकिलोको १५ सय मिटर वरपर पर्ने यही क्षेत्रमा छन्। यस क्षेत्रमा आठवटा ठूला पहिरोले दुःख दिने गरेको सडक निर्माण अयोजनाका इन्जिनियर शिव खनालले बताए । चार किलो भन्ने ठाउँको पहिरो सबैभन्दा बढी जोखिमयुक्त रहेको पनि उनले बताए । ‘सो ठाउँमा तीन मिटर उचाइसम्म पहाड काटेर पर्खाल लगाएको हो । तर पहिरो खस्न थालेको छ । अहिलेसम्म डेढ सय मिटर माथिसम्मको डाँडो खसी सकेको छ । खस्ने क्रम रोकिएको छैन,’ खनालले भने। लगाएको पर्खालको निसान हराएको छ ।
सो ठाउँमा त्रिशूली नदी भएका कारण पहाड काट्नुको विकल्प नभएको खनालले बताए । पहाड काटेपछि ६ मिटरको पर्खाल लगाउने र पर्खालभन्दा माथि पनि काटेको ठाउँ बाँकी रहेमा बायो इन्जिनियरिङ (काँस, बाबियो रोप्ने) गर्ने योजना थियो । तर काँस र बाबियो रोप्नै पाइएको छैन ।
पहिरो जोखिम क्षेत्रमा लगाइएको ४८ मिटर लामो पर्खाल पनि ध्वस्त भएको छ । पर्खालभन्दा माथिको खुला ठाउँमा बायो इन्जिनियरिङ गरेर पहिरो रोक्ने योजना भताभुंग भएको छ । पहाडमा चट्टानभन्दा धेरै गेग्रेटो छ । जोडेर राख्ने माटो पनि छैन । त्यसैले तलको आधार काटेका कारण पानी परेपछि माथिबाट पहिरो खस्न थालेको हो ।
मोबाइल फोनले पनि काम गर्दैन
वर्षा भएपछि यो सडक क्षेत्रमा पहिरोले बाटो बन्द हुने मात्रै होइन मोबाइल फोनले पनि काम गर्दैन । जसले गर्दा बीचमा फसेका यात्रु समस्यामा पर्छन् । मोबाइल नलागेपछि उनीहरू सञ्चारसम्पर्कबाट टाढा हुन्छन् । यो समस्याबारे नेपाल टेलिकम, भरतपुर शाखालाई जानकारी गराएको इन्जिनियर खनालले बताए। ‘फोन सम्पर्क नहुँदा कहाँ के भएको छ जानकारी पाउने मुस्किल हुन्छ । सम्पर्क माध्यम नै फोन हो । वर्षासँगै फोनले पनि काम नगर्दा गाह्रो भएको छ,’उनले भने । वर्षा हुन थालेपछि बिजुली बत्ती पनि जाने, सोलारले पनि राम्रोसँग काम नगर्ने भएकाले यो समस्या आएको हुन सक्ने टेलिकम भरतपुर शाखा प्रमुख हरि ढकालले बताए । ‘एक दुई ठाउँमा सोलार नयाँ राख्दै छौं । त्यसपछि यस्तो समस्या नरहला,’ उनले भने ।
खनालले सडक क्षेत्रमा सुरक्षाकर्मी पर्याप्त नहुने समस्या रहेकोमा अहिले केही मात्रामा सुधार आएको बताए। यो सडक खण्डको जुगेडीपछि एकै चोटी मुग्लिङमा प्रहरी कार्यालय थियो । बीचको २६ किलोमिटरमा प्रहरी कार्यालय थिएन । आयोजनाको अनुरोधमा अहिले सिमलतालमा २० जना सुरक्षाकर्मी रहने प्रहरी चौकी राखिएको खनालले बताए । पहिरोले बीचमा फसेका बेला तत्काल सुरक्षाकर्मी उपस्थित भए यात्रुको मनोबल बलियो हुने यात्रु हरि सुवेदीले बताए ।
पहिरोले सताउन थालेपछि सडक निर्माण आयोजनाले मिलेसम्म वैकल्पिक माग प्रयोग गर्न अपिल गर्दै आएको छ । पूर्वबाट काठमाडौं पुग्ने बर्दिवासबाट वीपी राजगर्मा र हेटौंडाबाट त्रिभुवन राजपथ प्रयोग गर्न सकिन्छ । काठमाडौंबाट पश्चिम आउजाउ गर्ने गाडी मुग्लिङबाट तनहुँ, पोखरा हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर स्याङ्जा, पाल्पा हुँदै बुटवल निस्कन सक्छन् ।
नारायणगढ–मुग्लिङ खण्ड खतरायुक्त भए पनि दिनरात गाडी हिँड्ने गरेका छन् । रातमा पहिरोग्रस्त क्षेत्र चिन्न सजिलो होस् भनेर टल्किने संकेत बोर्ड राख्न लागेको इन्जिनियर खनालले बताए । यसले चालक र यात्रुलाई सावधानी अपनाउन मद्दत पुग्ने छ । सन् २०१७ को अप्रिलभित्र निर्माण सक्ने गरी विस्तार काम सुरु भए पनि लक्ष्य अनुसार हुन सकेको छैन । यो वर्ष ४० प्रतिशत काम सक्ने लक्ष्य राखेकोमा त्यसको आधा पूरा भएको छ ।
प्रकाशित: १८ असार २०७३ ०२:०५ शनिबार