coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिउँले ढपक्कै कर्णाली ( फोटो फिचर)

जुम्ला- हिउँले कर्णाली ढाकिएको छ। बिहीबारदेखि परेको हिउँले कर्णाली सेताम्य छ। यहाँका गाँउबस्ती, पाखा पखेरा र डाँडाकाँडा हिउँले ढपक्कै छन्। उच्च हिमाली क्षेत्रमा तीन फिटसम्म हिउँ परेको स्थानीय बताउँछन्। तल्लो समथर क्षेत्रमा डेढ फिटसम्म हिउँ परेको हो।

तिला गाउँपालिकाका शेरबहादुर बोहोरा धेरै वर्षपछि ठिक समयमा हिमपात भएको बताउँछन्। उनले भने्,‘यो हिउँले किसान हर्षित छन्।’ उनका अनुसा झण्डै एक दशकको अन्तरालमा मंसिर महिनामा हिमपात भएको हो। गत वर्ष माघ महिनापछि मात्र हिमपात भएको थियो। जसले जमिनमा चिस्यान ल्याउन सकेको थिएन। तर यो वर्षको हिउँले जमिनमा चिस्यान ल्याएर बालीनालीमा पानीको अभाव हुन नदिने उनी बताउँछन्।

यो हिउँ लामो समयसम्म रहन्छ। हिउँले यहाँको जनजीवन पनि उत्तिकै प्रभावित छ। निरन्तर हिमपातका कारण पशुवस्तुलाई गोठबाट बाहिर निकाल्न सकिएको छैन। जुम्लाका अधिकांश विद्यालयमा सञ्चालन भइरहेको परिक्षा प्रभावित बनेको छ। अत्याधिक चिसो बढेको छ। सरकारी तथा गैर सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिती न्युन छ। कर्णालीको मुगु र जुम्लादेखि सडक यातायात रोकिएको छ।

सुर्खेत, नेपालगंजदेखि कर्णालीका जिल्लामा हुने हवाई सेवा ठप्प छन्। बिमानस्थलमा हिउँ जमेकोले जहाज अवतरण गर्न नसकिएको बिमानस्थल कार्यालय बताउँछ। अहिले घर, आँगन, पार्टी, पौवामा थुप्रिएको हिउँ फालिरहेका छन्। सडकमा हिउँ जमेको छ। हिमपातबाट बुढाबुढी र बालबालिका बढि  प्रभावित छन्। हिमपातले जुम्लामा कुनै प्रकारका घटना नभएको प्रहरीले जनाएको छ।

पहिलो पटक हिमपात भएसँगै हिउँद लागेको अनुभुति भइरहेको स्थानीय हरीबहादुर रोकाया बताउँछन्। हिमपात रोकिएसँगै हिँउ खेल्नेको पनि निकै घुइँचो लाग्न थालेको छ। एक आपसमा हिउँले हानाहान गर्ने क्रम प्राय चलिरहन्छ। हिमपातले स्थानीय उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न सकिने अवस्था छैन। यो चिसो मौसममा न्यायो कपडा लगाउन र तातो झोल जन्य पदार्थ खान चिकित्सकले सुझाव दिएका छन्।

हिउँ परेको समयमा ठूलो आगो बालेर गेडागुडी पकाएर सबै एकै घरमा भेला भएर रमाइलो गर्ने चलन छ। हिउँ परेपछि धुवा, धुलो कम भएर महामारी जन्य रोगबाट बच्न सकिने बुढापाका बताउँछन्। तीन दशक अघिसम्म चारदेखि पाँच फिटसम्म हिउँ पर्दथ्र्यो, स्थानीय कासे बस्नेत भन्छन्,‘पछिल्लो समयमा हिउँ निकै कम पर्न थालेको छ।

तुलनात्मक हिसाबमा यो पटक बढि हिउँ परेको हो।’ कुनै साल बढि बर्षा र हिमपात हुने, कुनै वर्ष निकै कम हिमपात र बर्षा हुने क्रमले यहाँको जलवायुमा निकै हलचल ल्याएको स्थानीय बताउँछन्। तत्कालिन कर्णालीका हुम्ला, जुम्ला, कालिकोट र मुगुमा हिमपात भएको हो। जुम्लाका आठवटै स्थानीय तहमा हिउँ परेको हो। खडेरीले उजाड बन्दै गइरहेका पाखा पखेरामा हिउँले सेताम्य हुँदा निकै रमाइलो हुने गरेको छ।

स्याउ बगैँचाको लागि खनिएका हिँउ संकलन पोखरीमा हिउँ संकलन गर्न किसानलाई सहज बनाएको छ। यो हिउँले स्याउ, ओखर जस्ता बोटविरुवा हुर्काउनमा मद्धत मिल्ने कृषि प्राविधिक बताउँछन्। घर बाहिर फुरुरु हिउँ परिरहदा घर भित्रका किसान निकै खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा बताउँछन्। यो पटकको हिमपात किसानका लागि मात्रै अनुकुल नभई समग्र जलवायुका लागि अनुकल भएको उनी बताउँछन्।

हिमपातसँगै अत्याधिक चिसो बढेकोले विकास निर्माणका क्रियाकलाप प्रभावित भइराखेका छन्। यो समयमा सिमेन्टको काम हुदैन। यो पटक परेको हिउँ उच्च हिमाली भूभागमा चैत, बैशाख महिनासम्म रहन्छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App