८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुपाल्चोक बस दुर्घटना: १४ मृतकमध्ये ६ को सनाखत

सिन्धुपाल्चोक- सिन्धुपाल्चोक बस दुर्घटनामा परी ज्यान गुमाउने १४ मध्ये ६ मृतकको सनाखत भएको छ। अझै आठ मृतकको सनाखत हुन सकेको छैन।

मृतकका आफन्त घटनास्थलमा आउन थालेसँगै शवको सनाखत हुन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहालले बताए। उनका अनुसार सनाखत भएका शवमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, दोलखा भीमेश्वर नगरपालिका–९ की ३७ वर्षीया जुनुमाया तामाङ, सोही नगरपालिकाकी मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका–५ का २९ वर्षीय महेश तामाङ र लक्ष्मी श्रेष्ठको रहेको छ।

दोलखाको कालिञ्चोक घुमेर भक्तपुर फर्कदैं गरेको बा४ख ४४६८ नम्बरको यात्रु बस आइतबार बिहान ७ बजेतिर लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो छ। ट्राफिक प्रहरीका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्।

दुर्घटनाका १९ घाइतेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। तीन घाइतेको घटनास्थल नजिकैको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ। १६ घाइते भने काभ्रेको धुलिखेल तथा राजधानीको ह्याम्स अस्पताल र बीर अस्पताल ट्रमा सेन्टरमा उपचाररत छन्। प्राथमिक उपचारपछि सदाबहारले उनीहरुलाई रेफर गरेको थियो।

बस चालक फरार रहेको प्रहरीले जनाएको छ। भक्तपुरको कमलबिनायक–च्यामासिं रुटमा चल्ने उक्त बस रिजर्भमा धार्मिक पर्यटकीय गन्तव्य कालिञ्चोक भ्रमण गरेर फर्कदैं थियो।

 

प्रकाशित: २९ मंसिर २०७६ ०९:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App