coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पुस ७ देखि नारायणगढ-मुग्लिन सडक चार घण्टा बन्द

चितवन- निर्माण कार्यलाई रफ्तार दिन भन्दै नरायणगढ-मुग्लिन सडक पुस ७ गतेदेखि मध्यान्ह ११ बजेदेखि दिउँसो तीन बजेसम्म बन्द हुने भएको छ। नारायणगढ-मुग्लिन सडक आयोजनाले बिहीबार सूचना निकालेर यसको जानकारी गराएको हो। अर्को सूचना ननिस्कदासम्म बन्द कायम रहने आयोजनाले जनाएको छ।

गत वर्ष माघ अन्तिमदेखि सो सडक यसरी नै बन्द भएको थियो। जुन समयसीमा असारमा मात्रै हटेको थियो। नारायणगढ-मुग्लिन सडकखण्ड विस्तारको काम भइरहेको छ। विस्तारको कामलाई असर नपुगोस् भन्नका लागि सडकमा केही समय यातायात सञ्चालन बन्द नै गर्नुपर्ने अवस्था आएको सडक निर्माण आयोजनाले जानकारी गराएको छ।

'निकै साँधुरो र जटिल भुबनोटमा रहेको कारण केही समय सडक पूरै बन्द गरेर काम गर्नुपर्ने आवश्यकता छ,' आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले भने। चाडोचाडो काम गर्नका लागि पनि केही समय यातायात रोकेरै काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

'यो सडक देशकै प्रमुख र संवेदनशिल सडक हो। निर्माणमा जति ढिलाई भयो त्यसको असर देश र सर्वसाधरणलाई पर्न जाने भएका कारण चाडो काम सक्नका लागि पनि यस्तो समयसीमा तोक्नुपर्ने अवस्था सिर्जना भएको हो,' आयोजनाले निकालेको सुचनामा उल्लेख छ। सो सडक खण्ड राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरलाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो।

सो सडक खण्ड भएर दैनिक १० हजारको हाराहारीमा गाडीहरु ओहरदोहर गर्छन्। ३६ किलो मिटर लामो सो सडक पार गर्न अहिले पनि घण्टौं लाग्ने गरेको छ। खास अवरोध नभएमा पनि तीन घण्टा लाग्ने गरेको सो सडक पार गर्न पहिरो गएमा वा अरु कारणले बाटो अवरुद्ध भएमा दिनभर पनि लाग्छ। निर्माण सुरु हुनुभन्दा पहिले एकदेखि सवा घण्टाभित्र सडक पार हुन्थ्यो।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरेर विभिन्न निर्माण कम्पनीसँग सन् २०१५ को अप्रिलमा सरकारले सम्झौता गरेको थियो। तर निर्माणमा लक्ष्य अनुरुप काम भएको भने छैन। भूकम्प र नाकाबन्दीका कारण निर्माण सम्पन्न गर्ने नयाँ मित सन् २०१७ को सेप्टेम्बरसम्म पुर्‍याइएको थियो। नयाँ लक्ष्य अनुरुप पनि सन्तोषजनक काम भएको छैन।

गएको नोभेम्बरसम्म ३० प्रतिशतको हाराहारीमा काम पूरा भएको छ। जब कि यो अवधिमा लगभग आधा काम पूरा हुनुपर्ने लक्ष्य थियो। एसियाली विकास बैंकको तीन अरब रुपैयाँ ऋण सहयोगमा सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको हो। निर्माण कार्यमा भएको विलम्बले चितवनको आर्थिक गतिविधिमा पनि असर गरेको उद्योग वाणिज्य संघको ठहर छ।

चितवन उद्योग वाणिज्य संघको हालै सम्पन्न ५०औं साधरणसभामा सो सडको निर्माण चाडै पूरा गर्न विशेष प्रस्ताव गरिएको थियो। झण्डै ४० वर्षअघि तयार भएको सो सडक त्यो बेला दैनिक एक हजार गाडीको चाप थेप्न सक्ने अवस्थालाई ख्याल राखेर निर्माण भएको सम्बद्ध अधिकारीहरुले बताउने गरेका छन्।

प्रकाशित: १ पुस २०७३ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App