७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्वदेशी उद्योग प्रवर्द्धनमा जोड

भक्तपुर - भक्तपुरका इँटा उद्योगीले सरकारले स्वदेशी उद्योगलाई ध्यान दिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। व्यापार घाटा डरलाग्दो रुपमा अगाडि बढे पनि सरकारले स्वदेशी उद्योग प्रवद्र्धनमा खासै चासो दिन नसकेको आरोप उनीहरुले लगाए।

भक्तपुर इँटा उद्योग व्यवसायी संघको २८ औं वार्षिक साधारण सभा उदघाटन कार्यक्रममा उनीहरुले नेपाल इँटामा आत्मनिर्भर रहेको तर सरकार त्यसलाई परनिर्भर बनाउनेतर्फ लम्किरहेको आरोप लगाए। स्वदेशी इँटा उद्योगलाई क्रमशः बन्द गराई भारतबाट इँटा नेपाल भित्र्याउने योजना सरकारबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा भइरहेको गम्भीर आरोप उनीहरुको छ।

नेपाल इँटा उद्योग व्यवसायी महासंघका महासचिव कृष्णप्रसाद अवालले नेपालमै आत्मनिर्भर रहेको इँटा उद्योगलाई सरकारकातर्फबाट प्रोत्साहन हुनुपर्ने बताए। स्वदेशी इँटा उद्योगलाई दुरुत्साहन नगरी इँटामा पनि परनिर्भरतातर्फ नधकेल्न उनले सरकारलाई चेतावनी दिए।

भक्तपुर इँटा उद्योग व्यवसायी संघका संस्थापक अध्यक्ष विश्वराम कवाँले इँटा उद्योगीले नाफामा मात्रै केन्द्रित नभई सामाजिक उत्तरदायित्वका काममा पनि विशेष ध्यान दिनुपर्ने बताए। व्यवसायीले आफ्नो भट्टा रहेको गाउँठाउँका पाटीपौवा, मठमन्दिर, बाटोघाटो, खानेपानी, शिक्षा, स्वास्थमा पनि ध्यान दिनुपर्ने बताए।

संघका अध्यक्ष नातिभाई ह्योंवाले वातावरण प्रदूषणको हौवा फैलाएर इँटाभट्टालाई हटाउने काम सरकारबाट भइरहेको बताए। हाल वातावरण प्रदूषणको आठ प्रतिशत मात्रै कारण इँटाभट्टा रहेको भन्दै उनले नयाँनयाँ प्रविधिका कारण अहिले भट्टाहरुले वातावरण प्रदूषण गर्न छाडेको जनाए। संघका उपाध्यक्ष आशाकाजी त्वानाबासु, सचिव आशाराम वैद्य, सल्लाहकारहरु प्रकाशराम जाकिवञ्चार, राजेन्द्रप्रसाद प्रजापतिलगायतले आफूहरु नाफामा मात्रै केन्द्रित नभई समाजको हितमा विभिन्न काममा पनि उत्तिकै सक्रिए रहेको दाबी गरे।

नेपाल क्रान्तिकारी किसान संघका केन्द्रिय उपाध्यक्ष गोविन्द दुवालले सरकारको गतल नीतिका कारण स्वदेशी उद्योगी पलायन हुनुपरेकामा दुःख व्यक्त गरे। स्वदेशी उद्योगधन्दा प्रवद्धर्नका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। कार्यक्रममा साढे दुई दशकदेखि संघमा कार्यरत कर्मचारी देवेन्द्र नापितलाई सम्मान गरिएको थियो।

प्रकाशित: २९ मंसिर २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App