coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा ‘महत्वपूर्ण परीक्षण’

सोल – उत्तर कोरियाले भूउपग्रह प्रक्षेपण क्षेत्रबाट आफ्नो आणविक क्षमता बढाउन ‘महत्वपूर्ण परीक्षण’ सम्पन्न गरेको राज्य संचालित मिडियाबाट सार्वजनिक गरिएको रिपोर्टमा जनाइएको छ। उत्तर कारियाली सरकारका एकजना प्रवक्ताले केसिएनए समाचार एजेन्सीलाई बताएअनुसार शुक्रबार सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्डमा उक्त परीक्षण गरिएको थियो। यद्यपि उनले यस विषयमा थप विवरण भने दिएनन्।

‘सोहाए स्याटेलाइट लन्चिङ ग्राउन्ड’ बाट एक साताभन्दा कम समयमा गरिएको यो दोस्रो परीक्षण हो। दुई परम्परागत शत्रु राष्ट्र संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको प्योङयाङको आणविक कार्यक्रमबारेको वार्ता हाल निष्किृय अवस्थामा छ। सन् २०१८ को जुन १२ का दिन इतिहासमै पहिलो पटक बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच सिंगापुरमा पहिलो शिखर बैठक भएको थियो। सो बैठकका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि मिलेर काम गर्नेबारे सहमति भएको थियो। सोही सहमतिबमोजिम प्योङयाङले आफ्ना केही आणविक क्षेत्र ध्वस्त गरेको दाबीसमेत गरेको थियो।

उत्तर कोरियाले आफ्नो सुरक्षा ग्यारेन्टी भए आफू आणविक कार्यक्रम त्याग्न तयार रहेको जिकिर गरेपछि सो वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको सुरक्षाको जिम्मेवारी लिएका थिए। सोही वार्ताको निरन्तरताका रूपमा सन् २०१९ को फेब्रुअरी २७ र २८ का दिन भियतनामको राजधानी हनोईमा दोस्रो शिखर बैठक भएको थियो। तर सो बैठक भने पहिलो शिखर बैठकजस्तो सौहार्दपूर्ण र फलदायी रहन सकेन।

बैठकमा उत्तर कोरियाली नेता किमले आफ्नो देशमाथि लागेका सम्पूर्ण प्रतिबन्ध हट्नुपर्ने माग गरेका थिए। त्यसको प्रतिक्रियास्वरुप अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले पूर्ण रूपमा आणविक कार्यक्रम नत्यागेसम्म उसविरुद्धको प्रतिबन्ध कायम नै रहने बताएपछि सो बैठक बिना निष्कर्ष टुंगिएको थियो।

त्यसपछि दुई देशबीचको औपचारिक वार्ता लगभग मृतप्राय अवस्थामा रहेको छ। यद्यपि अमेरिकी राष्ट्रपति ट्रम्पको दक्षिण कोरिया भ्रमणका बेला उत्तर कोरिया र दक्षिण कोरियाको सीमामा पर्ने असैनिक क्षेत्रमा ट्रम्प र किमबीच छोटो समय भेटवार्ता भएको थियो।

त्यो नै दुई देशका अधिकारीबीचको पछिल्लो औपचारिक भेटवार्ता भएको बताइन्छ। त्यसपछि भने दुई देशबीच वार्ता हुन सकिरहेको छैन र प्योङयाङले अमेरिकालाई यो वर्षको अन्त्यसम्मको समयसीमा तोक्दै नयाँ सहुलियत दिन भनेको छ। साथै, उसले यदि त्यसो नभए आफूहरुले ‘नयाँ बाटो’ अपनाउने चेतावनीसमेत दिँदै आएको छ।
हनोई बैठक असफल भएपछि उत्तर कोरियाले पटकपटक क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ। यद्यपि ती परीक्षण छोटा दूरीको मात्रै भएको उसको जिकिर छ।

यसै महिनाको सुरुवातमा पनि उत्तर कोरियाले जमिनमा आधारित एक इन्जिनको परीक्षण गरेको दक्षिण कोरियाका रक्षामन्त्री जेयोङ केयोङ–डूले आरोप लगाएका थिए।

पछिल्लो अवस्था र अमेरिकालाई दिइएको समयसीमाकै बीच उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बिगनले आइतबार दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गर्दैछ्न। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अझै उत्तर कोरियासँग सहमति बन्ने आशा रहेको पटकपटक बताउँदै आएका छन्।

सन् २०१८ मा आफूले अख्तियार गरेको विदेश नीतिको अजेन्डाबमोजिम उत्तर कोरियालाई मनाउन ट्रम्प उसको पछि लागिरहे पनि, किम जोङ–उनसँग दुईपटक शिखर वार्ता गरेपनि र उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निःशस्त्रीकरणमा महत्वपूर्ण उपलब्धी भने हासिल हुन सकेको छैन।

अमेरिकाले मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरमा बिहीबार परीक्षण गरेको थियो। यो हतियार १९८७ को ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्सेस ट्रिटी’ भनिने सन्धिअन्तर्गत प्रतिबन्ध गरिएको थियो। तर राष्ट्रपति ट्रम्पले गत वर्ष त्यो सन्धिबाट बाहिरिने निर्णय गरेका थिए।

उत्तर कोरियाको पछिल्लो परीक्षण के हो ?
उत्तर कोरियाले पछिल्लो पटक गरेको भनिएको ‘महत्वपूर्ण’ परीक्षण वास्तवमै के हो भन्नेबारे प्रष्ट भने भइसकेको छैन।
फेडेरेसन अफ अमेरिकन साइनटिस्ट्समा आबद्ध एक उत्तर कोरियाली विज्ञ अंकित पान्डाका अनुसार हालैको परीक्षण ब्यालेस्टिक क्षेप्यास्त्रको इन्जिनका लागि जमिनबाट गरिएको परीक्षण हुनसक्छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयले यसै महिनाको सुरुवातमा उत्तर कोरियाले गरेको परीक्षणको उद्देश्य पूर्तिका लागि पछिल्लो परीक्षण भएको हुनसक्ने बताएको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०३:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App