७ वैशाख २०८१ शुक्रबार
कला

‘किम्फले राम्रा फिल्ममेकर प्लेटफर्म दिइरहेको छ’

काठमाडौं - राजधानीमा आयोजना भइरहेको पर्वतीय विषयवस्तुमा आधारित फिल्महरुको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) ले राम्रा फिल्ममेकरहरुलाई प्लेटफर्म दिएरहेको दाबी आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक तथा किम्फ अध्यक्ष वसन्त थापाले गरेका छन्।

सन् २००० देखि सुरु भएको किम्फको १७ औं संस्करणमा आइपुग्दा स्वतन्त्र फिल्ममेकरहरुलाई फिल्म निर्माण गर्न हौसला प्रदान गरेको उनले बताए। ‘नेपालमा स्वतन्त्र फिल्म निर्माण गर्न किम्फले फिल्ममेकरहरुलाई प्रोत्साहित गरिरहेको छ। फिल्म भनेको बौद्धिक र सिर्जनात्मक हुन्छ भन्ने मान्यता किम्फले स्थापित गरिरहेको छ,’ उनले भने।

‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना भइरहेको किम्फमा यसपटक नेपाललगायत २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भइरहेका छन्। फिल्म हेर्ने दर्शकको अपेक्षाअनुरूप साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषय समेटिएका वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र र प्रयोगवादी फिल्महरू प्रदर्शन भइरहेका छन्। किम्फले आयोजना गर्ने कार्यशाला, तालिम र मास्टरक्लासले युवा फिल्ममेकरलाई प्रोत्साहित गरिरहेको छ। यसपटक किम्फले प्रदान गरेको फेलोसिपमार्फत् सामाजिक र सांस्कृतिक विषयमा तीन वटा फिल्म निर्माण भएका छन्,’ उनले भने, ‘त्यसबाहेक तीन मिनेटको परिवर्तित नेपाल नामक सर्ट फिल्म प्रतियोगिताले फिल्म मेकिङमा करिअर बनाउन उत्साहित फिल्ममेकरलाई अवसर प्रदान गरेको थियो।’

निर्देशक केसाङ छेतेन, दीपक रौनियार र मीन भामजस्ता फिल्ममेकरहरु किम्फबाट आएका थिए। यसअघि किम्फमा प्रदर्शन भएका दीपक रौनियारको ‘सेतो सूर्य’, मीन भामको ‘बाँसुल्ली’ र ‘कालोपोथी’ र भोजराज भाटको ‘सुनाकली’ ले संसारका विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका थिए। ‘किम्फले राम्रा फिल्ममेकरहरुलाई प्लेटफर्म दिइरहेको छ। तर, राज्यको सहयोग र संलग्नता प्रतिकात्मक भइदिएको छ। हरेक पटक आर्थिक व्यवस्थापनले हामीलाई पिरोल्छ,’ उनले भने। महोत्सव सकिएलगत्तै ‘घुम्ती किम्फ’ सुरु हुने जानकारी उनले दिए।

यसपटक महोत्सवमा १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएका छन्। नेपाल पानोरमाअन्तर्गत १४ वटा फिल्महरु प्रदर्शन भइरहेका छन्। आगामी मंसिर २९ सम्म आयोजना हुने महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। त्यस्तै ‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: २९ मंसिर २०७६ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App