७ वैशाख २०८१ शुक्रबार
समाज

प्राविधिक नहुँदा थन्कियो एक्सरे मेसिन

ललितपुर- ललितपुरको दक्षिणी भेगमा पर्ने गोटीखेल गाविसस्थित स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन र प्रयोगशालाका कुनै पनि उपकरण उपयोगमा आउन सकेका छैनन्। स्वास्थ्य चौकीमा प्याथोलजिस्ट र र रेडियोलजिस्टजस्ता प्राविधिक नहुँदा २ वर्षअघि ल्याएका सबै उपकरण प्रयोगमा नआएका हुन्।

रगत, खकार, दिसापिसाब परीक्षण र एक्सरे गर्ने उपकरण स्थानीय स्वास्थ्य चौकीमा हुँदाहुँदै पनि गोटिखेलवासी यी परीक्षण गर्न रकम खर्चेर दिनै बिताएर सहर आउन बाध्य छन्। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ग्रामीण स्वास्थ्य चौकीमा प्राविधिक जनशक्तिको दरबन्दी नदिँदा लाखौंका उपकरण त्यसै थन्किरहेका छन्।

अहिले गोटिखेल स्वास्थ्य चौकीमा १ जना स्वास्थ्य सहायक, १ जना वरिष्ठ अहेव, १ जना अहेव, ३ जना अनमी र एक जना कार्यालय सहायक गरी ७ जनाको दरबन्दी रहेको चौकी प्रमुख दुर्गाप्रसाद पौडेलले जनाए। उनले प्रयोगशालाका प्राविधिक र एक्सरेसम्बन्धी प्राविधिकको दरबन्दी नभएकाले प्रयोगशाला र एक्सरे प्रयोगमा आउन नसकेको जानकारी दिए।

'आवश्यक जनशक्ति नभएकाले उपकरण पनि थन्क्याएर राख्नुपर्ने बाध्यता छ,' पौडेलले भने, 'हामीले जिल्ला जनस्वास्थ्यसँग पनि ल्याब टेक्निसियन र अपरेटरको दरबन्दी उपलब्ध गराउन पत्राचार गरेका थियौं। तर अहिलेसम्म जनस्वास्थ्यले चासो दिएको छैन।' पौडेलका अनुसार सरकारले दिएको यी उपकरण सञ्चालन गर्न गोटीखेल गाविसले चार महिनासम्म दुई जना प्राविधिकलाई १२ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको थियो।

'सुरुमा गाविसले ल्याब टेक्निसियन र एक्सरे अपरेटरको लागि भनेर मासिक १२ हजार रकम दिँदै आएको थियो,' पौडेलले भने, 'तर दुई वर्षयता त्यो रकम पनि दिएको छैन। त्यसमाथि अहिले १२ हजारमा प्राविधिक जनशक्ति पाउन सकिँदैन।'

गोटीखेल गाविससचिव विनोदप्रसाद तिवारीले सरकारी परियोजनाबाट गाविसलाई १२ हजार रुपैयाँ उपलब्ध हुन्जेल स्वास्थ्य चौकीलाई दिएको बताए। 'परियोजनाअन्तर्गत आउने रकम नै गाविसले दिन्थ्यो,' उनले भने, 'तर अहिले परियोजना बन्द भएपछि रकम पनि आउन बन्द भएकाले गाविसले चौकीलाई दिन नसकेको हो।'

स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय वैतरणीधाम सुधार समितिले स्वास्थ्य चौकीलाई दुई वर्षअघि प्रदान गरेको एम्बुलेन्स पनि एक वर्षयता बिग्रेर थन्किएको छ। समितिका अध्यक्ष केशवप्रसाद घिमिरेले आफूहरूले एम्बुलेन्स मर्मतसम्भार गरी सञ्चालन गर्ने प्रयास गरे पनि स्थानीयले कुनै सहयोग नगरेको बताए। 'एम्बुलेन्स मर्मत गर्न करिब ४ लाख रुपैयाँ लाग्छ,' उनले भने, 'मर्मत गर्न जिविस र जनस्वास्थ्य कार्यालयसँग पनि सहयोग मागेका थियौं, तर कसैले पनि वास्ता गरेनन्।'

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख झलक शर्मा पौडेलले उपकरण सञ्चालन गर्न कार्यालयले दरबन्दी उपलब्ध गराउन नसक्ने बताए। 'कार्यालयले दरबन्दी उपलब्ध गराउन सक्दैन,' उनले भने, 'आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गाविस र स्थानीयले नै गर्नुपर्छ।'

प्रकाशित: १ पुस २०७३ ०२:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App