सदन नचल्दा महाभियोग प्रस्ताव अलपत्र, एमालेले कार्कीलाई जोगाउन खोजेको आरोप

शुक्रबार, ०१ पुष २०७३, ०८ : १० दुर्गा दुलाल  | @DulalDp

काठमाडौं- प्रदेश सीमांकन फेरबदलसहितको संविधान संशोधन प्रस्ताव  विरोधमा प्रमुख विपक्षी दल एमालेले निरन्तर सदन अवरोध गरेका कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रक्रिया अन्योलमा परेको छ।

बिहीबार डाकिएको संसद् बैठक सूचना टाँसेर  पुस ४ गतेसम्म स्थगित भएको छ। बिहीबार प्रमुख दलका सचेतकले सहमतिका लागि प्रयासरत रहेको भन्दै संसद् बैठक केही दिन स्थगित गर्न सभामुखलाई प्रस्ताव गरेका थिए। सचेतकहरूले सहमतिका लागि भन्दै समय मागेपछि सभामुखले सदनको बैठक ४ गतेसम्म स्थगित गरेको जानकारी उनका प्रेस सल्लाहाकार वासुदेव शर्माले दिए।

कार्कीविरुद्ध  असोज ३ गते एमाले र माओवादी केन्द्रका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए। रातारात दर्ता भएको उक्त प्रस्तावमाथिको छलफल सकिएको छैन। मंसिर १६ यता एमालेलगायत दलको निरन्तर सदन अवरोधका कारण बैठक बस्न नसक्दा महाभियोग प्रस्तावमाथि छलफल हुन नसकेको हो।

महाभियोग जस्तो संवेदशील विषयलाई  पनि दलहरूले आपसी दाउपेचका कारण अड्काएका हुन्।

छलफल टुंग्याएर महाभियोग सिफारिस समितिमा पठाउने तयारी भइरहेको अवस्थामा एमाले नेतृत्वमा भएको सदन अवरोध प्रस्तावलाई चाँडै किनारा लगाउन बाधक बनेको छ।

कात्तिक ३ गते एमाले र माओवादी केन्›का १ सय ५७ सांसदले कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। सो प्रस्तावले कात्तिक ९ मा संसद्मा प्रवेश पाएको थियो।  त्यस दिन ५० सांसदले प्रस्तावमाथि बोल्न नाम लेखाएका थिए। दुई महिना हुन लाग्दा पनि प्रस्तावमाथि सांसदले धारणा राख्ने क्रम बाँकी नै छ। कात्तिक ९ पछि २५ गतेको बैठकमा छलफल भएको थियो। लगत्तै चार दिन बैठक स्थगित भयो। मंसिर १ गते बसेकोे बैठकमा छलफल हुन सकेन। त्यो दिन माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको शोकमै बैठक  टुंगियो। मंसिर २२ गतेसम्म आइपुग्दा प्रस्तावमाथि ५  दिनमात्र छलफल भयो।  यस अवधिमा ६० जति सांसदलेे धारणा राखे। नाम लेखाएका २५ भन्दा बढीले बोल्न बाँकी छ। पछिल्लोपटक मंसिर १४ गते महाभियोग प्रस्तावमा छलफल भएको थियो। त्यसपछि महाभियोग प्रस्तावमाथि छलफल गर्न १६ गते बैठक डाकिएको थियो। सरकारले सोही दिन अबेर संविधान संशोधन प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएपछि एमालेको विरोधका कारण बैठक बस्न सकेको छैन। संविधान संशोधन प्रस्तावको विरोधमा एमाले, माले, जनमोर्चा नेपाल र मजदुर किसान पार्टीलगायतले सदनमा अवरोध जारी राखेका छन्।  महाभियोग सिफारिस समिति हुँदै पुनः संसद्मा आएर टुंगोमा पुग्ने प्रक्रिया छ। संसद्मा छलफल सकिएपछि यो प्रस्तावलाई महाभियोग समितिमा पठाइनेछ। समितिले अध्ययन गरी त्यसलाई रायसहित संसद्मा पठाउनेछ। त्यसपछि यसको किनारा लाग्नेछ।

'एमाले नै कार्कीलाई जोगाउने पक्षमा'

नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले महाभियोग लगाइएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई जोगाउने एमाले नै लागेको आरोप लगाएका छन्। एमाले र माओवादी केन्द्रका सांसदले महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएका हुन्।

श्रेष्ठले एमालेले महाभियोगमा सदनमा छलफल हुन नदिएर कार्कीलाई जोगाउने खोजेको आरोप लगाएका हुन्। बिहीबार बसेको संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठकपछि नागरिकसँगको कुराकानीमा श्रेष्ठले एमालेले कार्कीलाई जोगाउन सदन अवरोध गरिरहेको आरोप लगाए। उनले भने, 'यसले उसको नियतमाथि शंका उब्जेको छ।'

राष्ट्रिय प्रजातन्त्र पार्टीका  प्रमुख सचेतक दिलनाथ गिरीले महाभियोग प्रस्ताव केही मानिसको क्षणिक स्वार्थ पूर्तिका लागि ल्याइएकाले बेवारिसे भएको बताए। 'जसले रातारात महाभियोग प्रस्ताव दर्ता गरे उनीहरू नै अहिले किन संसद् अवरोध गरेर बसेका छन्', गिरीले भने, 'यसबाट के बुझिन्छ भने उनीहरू आफंै यो प्रस्ताव सदनबाट पास गर्नु हुँदैन भन्नेमा छन्।'

एमाले प्रमुख सचेतक भानुभत्त ढकालले भने महाभियोग प्रस्तावमा छलफल केही दिन ढिला हुँदा कुनै फरक नहुने तर्क गरे। कार्की  निलम्बनमा रहेको र सर्वोच्च अदालतमा पनि उनीविरुद्धको मुद्दा प्रक्रिया अघि बढेकोले सदनमा छलफल ढिला हुँदा कुनै समस्या नहुने उनको तर्क छ।

उनले सरकारले आफूखुसी संविधान संशोधन प्रस्ताव दर्ता गराएकाले आफूहरू सदन अवरोध गर्न बाध्य भएको बताए। सरकार अवरोध हटाउन उदासीन भएकाले समस्या बल्भि्कएको  तर्क उनले गरे।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad