coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भट्टराईले राखे मोर्चासँग कार्यगत एकता प्रस्ताव

काठमाडौं- नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले मधेसी मोर्चासँग आन्दोलनमा कार्यगत एकता गर्न प्रस्ताव गरेका छन्। भट्टराइले बिहीबार मधेसी मोर्चाका नेतासँग कार्यगत एकता प्रस्तावबारे छलफल गरे। भट्टराइले यसअघि मोर्चाको एक घटक संघीय समाजवादी फोरम। नेपालका अध्यक्ष उपेन्द्र यादवसँग साझा मुद्दामा मिलेर अघि बढ्ने प्रस्ताव राखेका थिए। भट्टराइको प्रस्तावलाई मोर्चाका नेताले सकारात्मक रुपमा लिएका छन्। 

बबरमहलस्थित नयाँ शक्ति पार्टीका नेता केशवमान शाक्यको निवासमा बिहीबार मोर्चा र नयाँ शक्ति पार्टीका नेताबीच सरकारले यथास्थितिमा संविधान संशोधन विधेयक अगाडि बढाए कसरी प्रतिकार गर्ने भन्ने विषयमा छलफल भएको थियो। भट्टराइले मोर्चाले संविधान विधेयकमा परिमार्जन गर्न अघि सारेका एजेन्डालाई समर्थन गर्दै यथास्थितिमा चुनावमै जान नसकिने बताएका थिए। संविधान संशोधन प्रस्ताव अहिलेकै अवस्थमा आफू र मोर्चालाई मान्य नहुने उनले बताएका थिए। 'सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव मोर्चाका लागि मान्य हुने स्थिति छैन', भट्टराईले बैठकमा भने, 'मैले प्रधानमन्त्रीलाई भेटेर यो प्रस्ताव मोर्चाका लागि मान्य हुँदैन भनेको छु। प्रधानमन्त्रीले परिमार्जन गर्छु भन्नुभएको छ', भट्टराईलाई उद्धृत गर्दै स्रोतले भन्यो।

पुरानै संरचनामा स्थानीय निकायको चुनाव गराएर  संघीयता, गणतन्त्रलगायत दस वर्षे जनयुद्ध र मधेस आन्दोलनका उपलब्धिलाई पछि फर्काउने षड्यन्त्र भइरहेको भट्टराइले बताएका थिए। 'पुरानै संरचनामा स्थानीय निकाय चुनाव हुन सक्दैन। पुरानै संरचनामा चुनाव गर्नु भनेको दस वर्षे जनयुद्ध र मधेस आन्दोलनका उपलब्धि मास्ने षड्यन्त्र हो', बैठकमा भट्टराइको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'यस्तो कुनै हालतमा मान्य हँुदैन।'

सरकारले यथास्थितिमा चुनाव गर्न खोजे मोर्चा आन्दोलनमा जान तयार हुनुपर्ने भट्टराईले  बताएका थिए। मोर्चाले गर्ने आन्दोलनलाई नयाँ शक्ति पार्टीले पूरै समर्थन गर्ने पनि उनले बताए। 'मधेसी मोर्चासँग कार्यगत एकता गर्न उहाँ (बाबुराम भट्टराइ) ले प्रस्ताव गर्नुभएको छ। उहाँको प्रस्तावलाई हामीले अत्यन्त सकारात्मक रुपमा लिएका छौं', बैठकमा सहभागी राष्ट्रिय मधेस समाजादी पार्टीका महासचिव केशव झाले भने।

सद्भावना पार्टीका प्रवक्ता सन्तोष मेहताले सरकारले यथास्थितिमा चुनाव घोषणा गरे नयाँ शक्ति र मधेसी मोर्चा मिलेर आन्दोनलमा जाने सहमति भएको बताए। 'हामी सँगसँगै आन्दोलनमा जाने सहमति भएको छ। सरकारले यथास्थितिमा चुनाव घोषण गरे आन्दोलन सुरु हुनेछ', उनले भने।

बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले सरकारले संविधान संशोधन विधेयक थाती राखेर स्थानीय निकाय चुनाव गर्ने तयारी गरे मुलुककै लागि दुभार्ग्य हुने बताएका थिए। यसबारे सरकारको आधिकारि धारणा बुझने प्रयास भइरहेको पनि उनले बताए। 'हामीले संविधान संशोधन विधेयक परिमार्जन गरेर अघि बढ्न सरकारलाई भनेका छौं तर सरकारले संशोधन प्रस्ताव थाती राखेर चुनाव तयारी गरिरहेको समाचार आएको छ', बैठकमा ठाकुरले भने, 'संशोधन प्रस्ताव थाती राखेर चुनावमा गए त्यसले मुलुकमा मुठभेड ल्याउँछ', ठाकुरले भनेका थिए।

बैठकमा तमलोपा अध्यक्ष ठाकुर, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, सद्भावना पार्टीका प्रवक्ता मेहता, नेपाल सद्भावना पार्टीका महासचिव राजीव झा उपस्थित थिए। संघीय समाजवादी फोरम, नेपालबाट भने महासचिव रामसाह यादव बैठकमा सहभागी थिए। मोर्चाका नेतालाई भट्टराइलाई आफै टेलिफोन गरी बैठक प्रस्ताव गरेका थिए। भट्टराईको प्रस्ताव स्वीकार गर्दै उनले बोलाएको स्थान शाक्य निवासमा मोर्चाका नेता पुगेका थिए।

प्रकाशित: १ पुस २०७३ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App