८ वैशाख २०८१ शनिबार
समाज

टिप्परको ठक्करले मोटरसाइकलमा आगलागी

उदयपुर- उदयपुरको साउनेमा शनिबार बिहान टिप्परले ठक्कर दिँदा एउटा मोटरसाइकल आगो लागेर ध्वस्त भएको छ। बिहान १० बजेको समयमा त्रियुगा नगरपालिका १४ साउने बजारभन्दा केही माथि ना १ क ७६९९ टिप्परले ठक्कर दिँदा स ८ प ६७०० को मोटरसाइकलमा आफैं आगो लागेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको हो।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। टिप्पर गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको स्तरोन्नतिको जीम्मा पाएको ठेकेदार कम्पनीको भएको स्थानीयले बताएका छन्। साउने–फोक्सिन्टार खण्डमा स्तरोन्नति कार्यमा संलग्न टिप्परले ढुंगा झार्ने (अनलोड गर्ने) क्रममा ठक्कर दिँदा आगो लागेर ध्वस्त भएको मोटरसाइकल धनी मेघजीत राईले बताए। स्थानीय महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहेका राईको मोटरसाइकल साला तिलक राईले चलाएर साउने बजारतर्फ आउँदै गर्दा टिप्परले ब्याक गर्ने क्रममा ठक्कर दिएर घटना हुन पुगेको प्रत्यक्षदर्शीले बताएका छन्।

हर्न बजाउँदा नसुनेपछि हातले इशारा गर्दा पनि टिप्पर नरोकि ब्याक गर्दै आएको देखेर हतारहतार भागेकाले मोटरसाइकल चालक तिलक भने बाँच्न सफल भएका छन्। घटनालगत्तै टिप्पर चालक फरार रहेको बताइएको छ। मोटरसाइकलमा लागेको आगो सल्केर टिप्परको एउटा टायरसमेत जलेर क्षति पुगेको स्थानीय रामकुमार राईले बताए।

घटनाबारे प्रहरी चौकी साउनेबाट टोली खटाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।  

प्रकाशित: २८ मंसिर २०७६ ०७:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App