दिमागको ‘छाउगोठ’ भत्काउन पहल गर्ने कि ?

शनिबार, २८ मङि्सर २०७६, ११ : ०७ नागरिक

दिया चन्द

हाम्रो गाउँघर (कञ्चनपुर, खैरभट्टी) तिर महिनावारी हुनुलाई ‘छुई हुनु’ भनिन्छ। ‘छुई’ भएपछि अलग्गै छाउगोठमा बस्ने चलन मेरो गाउँमा छैन, तर ‘छुइ’ भएका आमा–दिदीबहिनीहरू कहिले बाख्रागोठ त कहिले भैंसीगोठमा सुतेको मैले आफ्नै आँखाले देखेकी छु। हाम्री आमाचाहिँ ‘छुई’ भएपछि सधैँ आफू सुत्ने कोठाको एउटा कुनामा बस्नुहुन्थ्यो। हिउँदमा परालको ओछ्यान बनाएर सुत्नुहुन्थ्यो। आमा छुई हुँदा कैयौंपटक बाबाले नै उहाँको सुत्ने परालको ओछ्यान बनाइदिनुहुन्थ्यो। उहाँका लागि लामखुट्टेको झुल राखिन्थ्यो। पछिपछि आमालाई भुँइमा सुत्न गाह्रो भयो भनेर बाबाले काठको खुट्टामा डोरीले बेरेर एउटा पलङ बनाइदिनुभयो।

पछि जब म आफू महिनावारी भएँ, उसैगरी कोठाको एउटा कुनामा त्यही डोरीको पलङमा पाँच दिन कटाउँथे। १३–१४ वर्षको उमेरमा महिनावारी हुँदा यसै पनि डर लाग्थ्यो, त्यसमाथि पाँच दिनसम्म आफ्नो ओछ्यानमा सुत्न नपाउँदा निद्रा नपर्ने, दाजुभाइसँग भान्सामा बसेर सँगै खाना खान नपाउने, दूध–दही खान नपाउने– तनावमाथि तनाव थपिन्थ्यो।

महिनावारी हुँदा कैयौँपटक त मैले आमासँग दूध र मही मागेँ। सुरुसुरुमा उहाँले ‘भैँसीले दूध दिँदैन, कुल देउता रिसाउँछन्, त्यसैले खानु हुँदैन’ भनेर सम्झाउनुभयो। त्यतिबेलाको मेरो चेतनास्तरले आमाको भनाइमा विश्वास गथ्र्यो, विभेद हो भनेर कुनै तर्क गर्दैनथ्यो। करिब एक दशक म पनि ‘छुई’ भएँ, अर्थात् आमाले जस्तै बारेँ। पछि आमा निकै बिरामी हुन थाल्नुभयो, त्यस्तो अवस्थामा महिनावारी भएर अलग्गै बस्दा उहाँलाई लुगा–कपडा एक्लै धुन धौ हुन थाल्यो। म धोइदिन्छु भन्दा मान्नुहुन्नथ्यो। बाउआमाले खाएको जुठो थाल छोरीले धुनु हुन्न पाप लाग्छ भन्ने बुझाइ राख्ने हाम्रो समाजमा महिनावारी भएका बेला छोरीलाई लत्ता–कपडा धुन लगाइयो भने मरेपछि नर्क गइन्छ भन्ने ठूलो त्रास थियो।

पछि उमेरसँगै आमाको महिनावारी रोकियो। त्यसपछि भने म आफू महिनावारी हुँदा आमालाई सम्झाउन अलि सजिलो भयो। किनभने, उहाँले धेरै दुःख खेप्नुभएको थियो। बुवालाई बुझाउन त्यति सजिलो थिएन, तर आमा मेरो साथीजस्तै हुनुहुन्थ्यो। प्रायः मैले धेरै कुरा आमालाई सेयर गर्थें, अहिले पनि गर्छु। त्यसैले उहाँलाई महिनावारीका बारेमा छरिएका भ्रम र यसको यथार्थबारे बुझाउन सजिलो भयो।

एकपटक म आफू महिनावारी भएका बेला आमासँग भैँसीको दूध मागेँ। उहाँले दुईवटा सर्तमा दूध खान दिनुभयो। पहिलो सर्त– यो कुरा कसैलाई नभन्नु। दोसो सर्त– यसपालि भैंसीले दूध दिन छाड्यो भने अरु बेला महिनावारी हुँदा मैले दूध खान छाड्नुपर्ने। मैले सर्त मानेँ र खाएँ। भैंसीले दूध दिइरह्यो, आमाका कुलदेवता पनि रिसाएनन्। यसरी मैले आमाको अन्धविश्वास चिर्न सफल भएँ।

म आमालाई विभिन्न उदाहरण दिएर बुझाउने कोसिस गर्थें। आमा खासगरी देवी–देउतामा विश्वास राख्ने मान्छे। एकपटक आमा चैते दशैँको नवरात्रि (हाम्रोतिर नौउरता पनि भनिन्छ) को व्रत बस्ने तयारी गरिरहनुभएको थियो। नौउरतामा नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरिन्छ। चोखो खाएर, सफा लुगा लगाएर नवदुर्गाका नौवटा रूपको पूजा गर्न आमाले तयारी गर्दै हुनुहुन्थ्यो, ठीक त्यही बेला मैले आमासँग तर्क गरेँ।
यी दुर्गामाता पनि महिला होइनन् र ?
‘हुन्, माता पनि महिलै हुन्,’ उहाँको उत्तर निसंकोच आयो।
‘त्यसो भए त यिनी माता पनि छुई हुन्छिन् होला नि ?’
अगरबत्ती जलाउँदै गर्नुभएकी आमाले मेरो प्रश्नमा टक्क रोकिनुभयो र मलाई हेर्नुभयो।
‘हुन्छिन् होला, तर कसलाई थाहा हुन्छ देवी–देउताका कुरा !’ उहाँले मुस्कुराउँदै जवाफ दिनुभयो।
‘त्यसो भए उहाँ छुई हँुदा आफ्ना भक्तहरूभन्दा टाढा बस्नुहुन्छ कि बस्नुहुन्न होला ?’

त्यसपछि आमा रिसाउँदै भन्नुभयो, ‘तैँले भन्न खोजेको कुरा म राम्रैसँग बुझ्दैछु, उहिलेदेखि मान्दै आएको चलनलाई अहिले आएर तैँले र मैले मात्रै हुँदैन–मान्दैनौ भनेर हुन्छ ? चार दिन मात्रै हो, पाँच दिनमा त तँलाई भान्सामा आउन दिएकै छ, आफ्नो ओछ्यानमा सुत्न पाएकै छस्, किन यस्तो उल्टोसुल्टो कुरो गरेर बस्छेस्, लेखे–पढेको मान्छे समझदार हुन्छ भन्छन्, सबै कुरा बुझेर किन बुझ पचाउनुप-यो।’

‘तपाईंले पूजा गर्ने दुर्गा पनि स्त्री हुन् भने पक्कै महिनावारी हुन्छिन्। तिनले कहिले महिनावारी बारेको कुरा, छुई भएको कुरा कतै सुन्नुभएको छ ?’ आमालाई भन्न कर लाग्यो, ‘अँह छैन !’

आमासँग यति कुरा भयो, त्यत्तिकै भयो। एकपटक महिनावारी हुँदा मलाई दूध खान मन लाग्यो र आमालाई भनेँ।

त्यसअघि महिनावारी प्रक्रिया, यसको महत्व र यस्तो समयमा महिलालाई चाहिने पौष्टिक आहाराको बारेमा पटकपटक उहाँसँग मेरो छलफल चलिरहन्थ्यो। त्यो दिन आमाले मलाई दुईवटा सर्तमा दूध खान दिनुभयो।

पहिलो सर्त– यो कुरा कसैलाई नभन्नु। दोसो सर्त– यसपालि भैंसीले दूध दिन छाड्यो भने अरु बेला महिनावारी हुँदा मैले दूध खान छाड्नुपर्ने।

मैले सर्त मानेँ र खाएँ। भैंसीले दूध दिइरह्यो, आमाका कुलदेवता पनि रिसाएनन्। यसरी मैले आमाको अन्धविश्वास चिर्न सफल भएँ।

यसरी आमालाई विभिन्न उदाहरण पेस गर्दै गएँ। महिनावारी र सुत्केरीका बेला महिला सफासुग्घर रहनुपर्ने, आराम गर्नुपर्ने, ठूलो भारी बोक्न वा शरीरलाई बाधा पर्ने काम गर्न हुँदैन भनी बुझाएँ। अहिले उहाँ अरुलाई भन्नुहुन्छ, ‘केही हुँदैन, म महिनावारी भएको छु भन्दै पर सर्न आवश्यक छैन, आफ्नो सरसफाइ राम्रोसँग गरे हुन्छ।’

तर, मध्ये सुदूरपश्चिमतिर अशिक्षाका कारण छाउगोठमा महिला दिदीबहिनीले अकालमा ज्यान गुमाउन बाध्य छन्। तिनै छाउगोठमा ज्यान गुमाएका महिलाको लासमाथि भने ‘डलरखेती’ गर्ने विभिन्न संघ–संस्थाले सदरमुकामका सुविधा सम्पन्न होटलहरूमा गोष्ठी आयोजना गरिरहेको सुन्नमा आउँछ। छाउपडी प्रथाको अन्त्य गर्न संघ–संस्थाको मौसमी खेती पटक्कै आवश्यक छैन, त्यसका लागि त महिनावारी के हो ? किन हुन्छ ? हाम्रो धार्मिक, सांस्कृतिक जीवनसँग यसको के सम्बन्ध छ भनेर बुझ्न र बुझाउन जरुरी छ।

मध्यसुदूर पश्चिमका पहाडी भेगमा मात्रै होइन, अधिकांश िहन्दू समाजमा कुनै न कुनै रूपमा ‘छाउपडी प्रथा’ र यसको अवशेष छ। महिनावारी भएका बेला भान्सा वा पूजाकोठा नछुने  ‘सहरिया छाउपडी’ होस्, या मध्येसुदूरपश्चिमको छाउगोठ, यी दुवै हाम्रो मानसिकताका उपज हुन्, त्यसैले हामीले ‘छाउगोठ’सँगै पुरानो सोच भत्काउनुपर्छ।

भनिन्छ, सुतेको मान्छेलाई ब्युझाउँन सकिन्छ, तर सुतेजस्तो नाटक गर्नेलाई ब्यँुझाउन कठिन हुन्छ ! अर्थात् सबै कुरा बुझेर पनि नबुझेझैँ गर्ने मान्छेलाई तपाईंले जतिसुकै पाठ पढाउन खोजे पनि त्यो व्यर्थ हुन्छ।

एउटा कलेज पढाउने महिला लेक्चरर (नाम नलिउँ), उनलाई थाहा छ, महिनावारी महिलामा हुने एउटा नियमित प्राकृतिक प्रक्रिया हो, यो कुनै प्रथा, चलन वा संस्कार होइन। तर, उनले आफ्नो घरमा बारिने महिनावारीबारे विरोध गर्दिनन्, परम्पराका रुपमा मानिरहेकी छन्। उनले विद्यार्थीलाई कस्तो शिक्षा देलिन् ?

छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता, २०७४’ पारित भएको छ।
२०७४ भदौ १ गतेदेखि सरकारले मुलुकी अपराध संहिता ऐन– २०७४ मा रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नपाइने उल्लेख छ। संहिताको दफा १६८ को उपदफा ३ भन्छ, ‘महिनावारी र सुत्केरी अवस्थामा महिलालाई कुनै किसिमको भेदभाव गर्नु हुँदैन, उपदफा ४ मा यस्तो किसिमको भेदभाव गर्नेलाई तीन महिना कैद र तीन हजार जरिवाना हुनेछ। वा दुवै सजाय हुनेछ।

उपदफा ५ अनुसार महिनावारी र सुत्केरी भएकी महिलालाई गोठमा पठाउने वा छुवाछुत गर्ने र गराउने व्यक्तिलाई थप तीन महिना कैद हुनेछ। वर्षौंदेखि जरा गाडेर सामाजिक कानुनको रूपमा स्थापित यो कुप्रथा अन्त्यका लागि जुन कानुन आएको छ, त्यो स्वागतयोग्य छ। आजको दिनमा यो कानुनको प्रभावकारी कार्यान्वयन हुन अति आवश्यक छ।






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad