८ वैशाख २०८१ शनिबार
अन्य

‘अब सिनेमा टुरिजम’

दयाराम दाहाल
चलचित्र निर्देशक एवं सदस्य, चलचित्र विकास बोर्ड, नेपाल  

नेपालमा छायाङ्कन गर्न विदेशी चलचित्र कत्तिको आउँछन् ? चलचित्र छायाङ्कनका दृष्टिले नेपालको संभावना कस्तो छ ?
नेपालमा छायाङ्कनका लागि विदेशी चलचित्रहरू फाट्टफुट्ट रूपमा आइरहेका छन, तर यो संख्या र गति चित्तबुझ्दो छैन। यसलाई कसरी वृद्धि गर्न सकिन्छ भनेर हामी लगातार बहस गरिरहेका छौ। यसको सुरुवाती चरणमा चलचित्र विकास बोर्डले नेपालका विभिन्न छायाङ्कन स्थलहरूको फोटो र विवरण सहित ‘फिल्मिङ इन नेपाल’ नामक लोकेशन गाइड बुक प्रकाशन गरेको छ। समग्र नेपाल झल्किने भिडियो पनि बनाउँदैछौं। यसलाई हामी विश्वव्यापी प्रचारमा लैजाने छौं। यसबाट नेपालमा छायाङ्कनका लागि आउने विदेशी चलचित्रको संख्यामा वृद्धि हुने छ। नेपाल आफैमा फिल्म सुटिङको खुला स्टुडियो हो। प्रकृतिले हामीलाई संसारकै सबैभन्दा सुन्दर ठाउँ उपलब्ध गराएको छ। हामीले क्रमैसँग हाम्रो सौन्दर्यलाई विश्वव्यापीकरण गर्नु पर्दछ।

विदेशी चलचित्र निर्माण कम्पनीहरूलाई आकर्षण गर्न केही न केही प्याकेज घोषणा गर्नु जरुरी छ।

सिनेमा टुरिजमले मुलुकलाई कसरी फाइदा पु-याउन सक्छ ? नेपाललाई फिल्म सुटिङ हबका रूपमा विकास गर्न चलचित्र विकास बोर्ड के गर्दैछ ?
सिनेमा मनोरञ्जनको साधन मात्र नभएर यसले आम दर्शकमा विभिन्न स्थान, संस्कृति, सभ्यता, रहनसहन लगायत विभिन्न कुराको परिचय पनि गराउँदछ। जसले गर्दा सिनेमाको दृश्यमा देखेका सुन्दर स्थान, संस्कृतिका बारेमा साक्षात्कार गर्न दर्शक लालायित हुन्छन् जसले पर्यटनमा प्रभाव पर्दछ। आजको आधुनिक युगमा त सिनेमाले मान्छेको सोच बदल्न विशेष भूमिका खेल्न सक्छ।

हामी प्रकृति, संस्कृति र सभ्यतामा धेरै धनी छौं। हाम्रो सामाजिक बनौट दुनियाँका लागि एउटा आकर्षण बन्न सक्छ। सिनेमा मार्फत् हाम्रा केही कुरा प्रस्तुत गर्न सकियो भन्ने यसले पर्यटनमा विशेष भूमिका खेल्न सक्छ। चलचित्र विकास बोर्डले पनि सुटिङ डेष्टिनेशन नेपाल कार्यक्रममार्फत् नेपालको परिचय गराउन कार्यक्रमहरू गरिरहेको छ। आगामी दिनमा यसको प्रत्यक्ष प्रभाव देखिनेछ।

चलचित्रमार्फत् नेपालको कला, संस्कृति र सम्पदा प्रवद्र्धन गर्ने स्वदेशी तथा विदेशी चलचित्रकर्मीहरूलाई आर्थिक सहुलियतका साथै अन्य सेवा र सुविधा दिन सकिँदैन ?
हामीले सहुलियत दिनुपर्छ। अन्य देशहरूमा पनि विदेशी चलचित्र निर्माण कम्पनीहरूलाई आकर्षण गर्न विभिन्न प्याकेज घोषणा गरिएका छन्। हामीले पनि विदेशीलाई आकर्षित गर्न केही न केही प्याकेज घोषणा गर्नु जरुरी छ। हामी यो विषयमा केन्द्रित रहेर सल्लाह गरिरहेका छौं। सम्बन्धित निकायमा अनुरोध गरिरहेका छौं।

नेपालमा छायाङ्कन गर्दा चलचित्रकर्मीहरूले के–कस्ता समस्या झेल्नुपर्छ ? ती समस्या समाधानका लागि सरकारले केके गर्नु पर्छ ?
सबैभन्दा पहिला त परमिट लिँदादेखि नै विदेशी कम्पनीहरूलाई समस्या छ भन्ने गुनासो छ। साथै ठाउँअनुसार पुनः परमिट लिनुपर्ने झञ्झट छ भन्ने सुनिन्छ। त्यसैले तत्कालै यी समस्याको समाधान खोज्नुपर्छ। विदेशीलाई हामीले झञ्झट भन्दा पनि सजिलो बाटोबाट चाँडोभन्दा चाँडो काम गर्न सक्ने वातावरण बनाउनुपर्छ। यसका लागि परमिटदेखि अनुगमनका लगायत अन्य सबै काम चलचित्र विकास बोर्डले नै गर्ने व्यवस्था हुनु जरुरी छ। त्यो भयो भने सजिलो हुन्छ।

नेपालमा सिनेमा खिच्न अनुमति लिन विभिन्न निकायमा धाउनु पर्दा झन्झट हुन्छ। यसलाई एकद्धार प्रणालीमा ल्याउन बोर्डले के पहल गरिरहेको छ ?  
अनुमति लगायत अनुगमन देखिका सबै समस्या सम्बोधन गर्न सरकारले सञ्चार मन्त्रालयका सचिवज्यूको संयोजकत्वमा एउटा समिति बनाएको छ। पक्कै पनि यो समितिले यावत् समस्या समाधानार्थ एउटा सजिलो बाटो अवलम्बन गर्ने नै छ। एकद्वार प्रणालीको कुरा पनि यही समितिले निक्र्योल गर्नेछ। चलचित्र क्षेत्रको नियमनकारी संस्था चलचित्र विकास बोर्ड भएको हुनाले यो सबै अधिकार बोर्ड मातहत आउनुपर्छ भनिरहेका छौं।

चलचित्र र वृत्तचित्रमार्फत् नेपालको प्रवद्र्धन गर्दै आएका विदेशीलाई नेपाल भ्रमण वर्ष २०२० को अवसरमा चलचित्र विकास बोर्डले सम्मान गर्न सके कस्तो होला ?
पक्कै पनि अब यस विषयमा चलचित्र विकास बोर्डमा छलफल हुनेछ। यसमा पर्यटन बोर्डको भूमिका पनि महत्वपूर्ण हुन्छ। हामी पर्यटन बोर्डसँग पनि सल्लाह गरेर यस विषयमा एउटा टुङ्गोमा पुग्छौं। यसले विदेशी चलचित्र निर्माणकर्तामा पनि हौसला बढाउने छ।

प्रकाशित: २८ मंसिर २०७६ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App