coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सन्दकपुर सौन्दर्य

इलाम त्यसै पनि हराभरा र घुमौं–घुमौं लाग्ने ठाउँ। मौसम खुलेका बेला स्थानीयलाई नै ज्यादै आकर्षक लाग्छन् यहाँका डाँडाकाँडा र हरियाली। इलामको नाम सुनेका इलामबाहिरका मानिस त अझ यहाँको सौन्दर्यमा नलोभिने कुरै भएन। हुन पनि, बाहिरबाट आउनेको मनै फुरुंग पार्ने अनगिन्ती ठाउँ छन् यहाँ। त्यही भएर नै आकास छ्यांग खुल्नेबित्तिकै हरियो चियाबारी र हरिया डाँडाकाँडामा पुग्न मन लागिहाल्छ।

बिहान उठ्नेबित्तिकै आकास खुलेर उडूँ–उडूँ लाग्ने, मनमोहक देखियो। टिममा मिल्ने झन्डै १० साथीलाई सामाजिक सञ्जालमार्फत् घुम्न जाने प्रस्ताव गरें। ५ मिनेट पनि नबित्दै जवाफ आइहाल्यो– लौ न केही योजना बनाइहालौं। सबैले खुट्टा उचालिहाले पनि जाने ठाउँ र हिँड्ने समय टुंगो भइसकेको थिएन। २ दिनपछि आकास केही धुम्म भयो। तर, त्यसको भोलिपल्ट पहिलाभन्दा सफा देखियो। फेरि सबैलाई जाँगर चल्यो। र, जाने ठाउँ टुंगो पनि भयो– इलामकै अग्लो डाँडो, पूर्वकै महŒवपूर्ण र आकर्षक पर्यटकीयस्थल सन्दकपुर।

बिहानै टोलीको खबर आयो– आज दिउँसो हिँड्ने है। सटेन्द्र दाइ, ठाकुर दाइ, अर्जुन दाइ, ख्याम, किरण र सरोज बिब्ल्याँटेमा तयार परिसकेछन्। अनि, सन्दकपुरसम्म हामीलाई पु-याउन तयार रहेछ– बाँदरे गाडी ल्यान्डरोभर। त्यो पनि छोटो खाले, ६ जना मात्रै अटाउने। सरकारले २० वर्ष पुराना गाडी चल्न रोक लगाए पनि ल्यान्डरोभरलाई केही महिनाअघि खुला ग¥यो। अरू गाडी नपुग्ने पहाडको विकट उकालो पनि सजिलै पार गर्ने भएरै यसलाई पूर्वतिर बाँदरे गाडी भन्ने चलन छ। त्यसमा पनि अझ छरितो र आनन्ददायक मानिने छोटो खाले ल्यान्डरोभरचाहिँ इलाममा पनि २–३ वटा मात्रै छन्। अनि, त्यही गाडीका चालक अर्जुन कमेडी किङ नै भइदिएपछि यात्रा त रमाइलो हुने नै भयो।

दिउँसो २ बज्न लागेकाले बिब्ल्याँटेबाट झन्डै ४० किलोमिटरमा रहेको सन्दकपुर धुम्म देखियो। तैपनि, अर्जुनले आशा जगाए– इलामको मौसम हो भाइ, एकछिनमा घाम लाग्छ, एकछिनमा पानी आउँछ, अहिले हुस्सु लाग्दैमा किन आपत्ति, भोलि बिहान छर्लंगै हुन्छ। उनले भनेजस्तै सन्दकपुर मात्र होइन, इलामका कुनै पनि ठाउँमा हुस्सु–बादल लाग्यो भनेर डराउनुपर्दैन। छिटोछिटो मौसम बदलिन्छ। त्यसमा पनि सन्दकपुर प्रत्येकजसो बिहान उज्यालो हुन्छ। र, चिसो भएर हिउँ परे अझ बेग्लै मज्जा आउँछ।

पर्यटकीयस्थल सन्दकपुर डाँडा भारतीय सीमामा पर्छ। यहाँको नेपाली भूमिपट्टि ३ वटा मात्रै होटल छन्। भारतपट्टि करिब १५ होटल छन्। ज्यादै महँगो भएकैले नेपाली पर्यटक चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होम–स्टेमा बसेर बिहान मात्र सन्दकपुर पुग्छन्।

बिब्ल्याँटेबाट ल्यान्डरोभर चढ्दै गर्दा हामी प-यौं लोकदोहोरी सिटमा। तर, ढुक्क पनि थियौं–कच्ची सडकमा गाडीको स्पिड कम हुने भएकाले बिसञ्चोचाहिँ हुँदैन। इलाम नगरपालिका वडा–५ का वडाध्यक्षसमेत रहेका ठाकुरले मौका पाएछन्, ठट्टा गरिहाले– यात्रुलाई बिसञ्चो नहोस् भनेरै सडक कालोपत्रे नगरेको नि ! बरबोटेको रिब्सबाट सुम्बेकसम्मको कच्ची सडक ५ नम्बर वडामा पर्छ। सुम्बेक, सुलुबुङ, माइमझुवा, जमुना, माबु लगायत दर्जनौं गाउँ पुग्ने यो मुख्य सडकमा गाडी गुडेको दशकौं बित्दा पनि न हिउँदमा धुलोले पुर्न छाडेको छ, न बर्खाको हिलोमा सवारी डुब्न नै। यो बाटो सवारीमा आउजाउ गर्दा प्रायः यात्रुको गफगाफ गर्ने विषय एउटै हुन्छ– यति पुरानो सडक पनि अहिलेसम्म किन कालोपत्रे हुन नसकेको होला !

कात्तिकको भर्खर टुसाउँदै गरेको जाडो। अपराह्न भए पनि न्यानै थियो। तर, सन्दकपुरको जाडो सम्झेर हामी केहीले ३ वटासम्म ज्याकेट इलाममै खापिसकेका थियौं। कोही टि–सर्टमा रहे पनि झोला चाहिँ ज्याकेटले टनाटन थिए। बिब्ल्याँटे बजारमा हाम्रो टिम देखेर सन्दकपुर गएको थाहा पाउने दामले छुकछुकाए। भन्दै थिए– हामीलाई पनि भनेको भए त जान्थ्यौं नि !

ल्यान्डरोभरको स्टेयरिङ ठाकुरले समाए। उनी सिकारु चालक। अघि चर्चा गरेको कच्ची सडक पार गराउने हुन् कि होइनन् भन्नेमा मन नचस्केको होइन। तर, सुम्बेकको कच्ची तेस्रो बाटोचाहिँ छाडेर जस्बिरेको उकालो देउराली पु¥याउँदा लाग्यो– उनी सिकारु होइन, अब पर्फेक्ट भइसकेछन्।

देउरालीमा अर्गानिक खाजा तयार भैसकेको थिएन। अर्जुन दाइले गाडीको स्टेयरिङ समाउँदै भने– जे–जे खान्छ, बुधबारे बजारमा पाउँछ, याँ के पर्खिनु ! महिनामा दर्जनौं पटक यात्रु लिएर सन्दकपुर आउजाउ गर्ने अर्जुन दाइ हाम्रो टिमका गाइडझैं थिए। चुपचाप सबैजना गाडी चढ्यौं। देउरालीबाट उकालो लाग्दा हामी माथि–माथि, घाम तलतल हुँदैथियो। सन्दकपुर चुचुरो नजिकै देखिन थाल्यो।

माइमझुवाको बुधबारे बजार। केही वर्ष अघिसम्म बाक्लै संख्यामा रहेका राडीपाखी बुन्ने तान अहिले विरलै भइसकेछन्। अलैंची छोडाउँदै, भट्टीमा सुकाउँदै गरेका किसान भेटिए। सन्दकपुर घुमेर फर्केका र त्यतै जाँदै गरेका अरू यात्रु पनि पनि भेटिए। भोलिपल्ट सबेरै सन्दकपुर डाँडाबाट सूर्याेदय, मनोरम हिमशृंखला र चित्ताकर्षक दर्जनौं दृश्य हेर्नु थियो हामीलाई। तर, सन्दकपुरमा नभई त्यसभन्दा करिब ३ किलोमिटर तल चौंरीचोकमै बास बस्ने निधो थियो हाम्रो। असोज–कात्तिक मुख्य सिजन भएकाले सन्दकपुरका होटलदेखि चौंरीचोक, माइमझुवा र माबुतिरका होम–स्टेसम्म पर्यटकले खचाखच हुन्छन्। पहिल्यै कोठा बुक नगरे बेलुका खाने–सुत्ने ठाउँ पाउन मुस्किल हुन्छ।

चौंरीचोकको सितनमा लोकल कुखुराको भाले नपाउने बुझेपछि बुधबारे बजारबाटै लैजानुपर्ने भयो। तर, खोजेजस्तो पाइएन क्यार, बारीमा चरिरहेका दर्जनौं कुखुरा धेरै बेर हेरेर अर्जुन दाइ त्यसै फर्किए। र, बाटोतिरै खोज्दै जाउँ भने। बुधबारे बजारबाट उकालो लागेपछि बाटोछेउका कुनै पनि घर कुखुराको भाले छ कि ? भनेर सोध्न छुटेनन् सायद। धेरै पर पुगेपछि मात्र दुईवटा उपयुक्त भेटिए र त्यही लैजाने भयौं।

एक्स्काभेटरले सडक बढाउँदै गरेको ठाउँ पार गरेर उक्लिने बेला घाम डुब्यो। जति अघि बढ्यो, उति चिसो। झोलामा भएका लुगाफाटो पनि थप्नुपर्लाजस्तो। तर, साथीहरू भन्दै थिए– अहिले त के चिसो, भोलि बिहान सन्दकपुरमा पो सेकाउँछ त। धेरैपल्ट त्यहाँ पुग्नेलाई त अनुभव थियो– पहिलाे पटक जाँदै गरेका किरण र सरोजचाहिँ पक्कै झस्किए।

सन्दकपुर डाँडालाई नै मुहान बनाएर बगेको माइखोला पुग्दा अगाडिपट्टि ३ वटा गाडी रोकिएका रहेछन्। कच्ची सडकको उकालो। गाडी साइड हुने ठाउँ खोज्न कोही बेला निकै अगाडि जानुपर्छ, कोही बेला पर्खिनुपर्छ र कोही बेला निकै पछि हट्नुपर्छ। त्यसमा पनि रातिको समय उकालामा पिकअप फसेछ। बुधबारे बजारमा निकै जोस–जाँगरसाथ सन्दकपुरको यात्रामा आएको बताउने झापा दमकको टिमलाई बिब्ल्याँटेमा एउटा पिकअपले १७ जना चढाएछ। गाडीमा बस्ने ठाउँ त पुग्ने कुरै भएन, ४–५ घन्टाको कच्ची सडकमा पिकअपको डालीमा उभिएका थिए यात्रु। ‘बाहिरबाट आउने पाहुनालाई यसरी जोखिमपूर्ण तरिकाले ल्याएर फसाएपछि उनीहरू फेरि फर्केर आउलान्, अरूलाई पनि यहाँ सन्दकपुरतिर घुम्न आउन हौस्याउलान् त !’ सटेन्द्रले चिन्ता व्यक्त गरे। केहीबेर पर्खेपछि कसोकसो अघिल्तिरका गाडीलाई पछि पार्दै हामीले अघि बढ्ने मौका पायौं।

नेपाल–भारत सीमा कालपोखरी पुग्ने बेला भेटियो भारतीय नम्बर प्लेटको गाडी। काठ बोकेर सडकमा गुड्न तयार रहेछ। ओर्लिएर तस्बिर खिच्दा हामीलाई त्यो गाडीका मानिसले निकै खोजीनीति गरुँलाझैं गरे। को–हो ? किन तस्बिर खिचेको ? भन्दै उनी अलि डराएजस्तो देखिए। हामीले विस्तृत बताएनौं। सामान्य जवाफ फर्काएर बाटो लाग्यौं। अलि अगाडि पुगेपछि त्यही सडकसँग जोडिएको घर (कालपोखरी)मा नेपाल प्रहरीको चौकी छ। भारतीय गाडीमा रातिको समय नेपालबाट काठ लैजाँदै गर्नुमा धेरै शंका उब्जिए। तर, बाटामै रहेको प्रहरीको विश्वास ग¥यौं, अघि बढ्यौं।

बासस्थान चौंरीचोक पुग्दा रात परिसकेको थियो। माइमझुवाबाट ल्याएको भालेलाई सितनको रूप दिने जिम्मा अर्जुन दाइले अघि लिइसकेका थिए। उनले गाडीमा भनेका थिए– म खानचाहिँ खान्नँ तर तयार गरिदिन्छु। ‘तपाइँ कहिल्यै कुखुरा खानुहुन्न त ?’ सटेन्द्र दाइको जिज्ञासामा अर्जुनले रोमान्टिक भएर मुख खोले, ‘कहिलेकाहीं, अलि....कति।’ सामूहिक हाँसोले घर हल्लियो। हास्यकलाकारझैं हामीलाई गाडीको यात्राभर हसाएका अर्जुन दाइको चौंरीचोक पुगेपछिको ‘अलि...कति’ चाहिँ यात्राभरकै रमाइलो क्षण बन्यो।

चौंरीचोक ज्यादै चिसो। सन्दकपुर (३,६३६ मिटर)बाट नजिकै पर्ने हुनाले हिउँको सास पनि उस्तै आउने। आगो नतापी रात कटाउने आँट भएन। दाउरा सोध्यौं। प्रतिबोरा २ सय रुपैयाँ पर्नेरहेछ। १ बोरा किनेर आगो बाल्यौं। अगाडि जति तातिए पनि पछाडिबाट चिसोले छेड्न छाडेन। तर, त्यही दाउरामा वाचिपा बनाउन तम्सिए ख्याम र सरोज। कहिल्यै मासु नचाखेका किरणसमेत अरूको रमाइलोमा कम रौसिएनन्। खाने अरू, रमाउने उनी थिए।

बाटामा पिकअपले अभर पारेको झापाको टिमसमेत त्यहीं आइपुग्यो। उनीहरूले पनि तलैबाट कुखुराको भाले ल्याएका रहेछन्। गफगाफ भयो। दुवै टिम सँगसँगै कुराकानी र नाचगानमा रमाउँदा समय बितेको पत्तै भएन। मौसम खुलेर जून टहटह थियो। निकै टाढाका सहरमा बलेको बिजुली पनि चम्किलो देखिन्थ्यो। रात निकै छिप्पिएपछि बिहान ४ बजे उठेर सूर्याेदय हेर्न जाने योजनासहित सुत्यौं।

‘ल उठौं साथी हो,’ मुटु छेड्ने ठन्डी वास्तै नगरी ठाकुरले सबैलाई ज¥याकजुरुक उठाए। तातो पानी पिएर उकालो लाग्दा ५ बज्न लागिसकेको थियो। सन्दकपुर डाँडामा अघि नै पर्यटक खचाखच भएसकेको अनुमान थियो। तर, अरू बेला जस्तो घुइँचो यो पल्ट रहेनछ। कारण थियो– भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले केही महिनादेखि सन्दकपुर चुचुरामा जान र तस्बिर खिच्नमा लगाएको रोक। डाँडो उक्लिने ठावैंमा एसएसबीले निषेधसहितको बोर्ड राखेपछि धेरै पर्यटक त्यहींबाट फर्किंदा रहेछन्। बोर्डको पर्वाह नगरी सन्दकपुर चुचुरामा पुग्ने थोरैमध्ये हामी पनि थियौं। तर, एसएसबीले सन्दकपुर डाँडामा धेरैबेर बस्नचाहिँ दिएन। तस्बिर नखिच्न र डाँडाबाट फर्किन उर्दी गरिरहेका एसएसबीका जवानले पर्यटकले अटेर गरेपछि त्यहीं पुगेर हटाउने कोसिस गरे। तर, हामी पुगेको भोलिपल्ट विद्यार्थीले एसएसबीले राखेको बोर्ड हटाएर सन्दकपुरमा झन्डा गाढेपछि चाहिँ पर्यटकलाई सजिलो भएको छ। अहिले अवरोध छैन।

सन्दकपुरबाट १ सय ८० डिग्रीजस्तोमा देखिने दर्जनौं हिमशृंखलाले मन लोभ्यायो। सन्दकपुरमा घाम झुल्किनुअघि नै कञ्चनजंघा, कुम्भकर्णजस्ता हिमाल पहेंलपुर भइसकेका थिए। सगरमाथासहित नेपाल–भारत र भुटानका दर्जनौं हिमशृंखलाको मनमोहक दृश्यले मुटु कमाउने चिसो बिर्साएको अनुभव हुन्थ्यो। आफू अग्लो, हिमालबाहेक सबै होचो देखिने सन्दकपुरमा सूर्याेदय हुँदाको सौन्दर्यमा नलोभिने कोही थिएन। झुल्केघाम र हिमालसँग सेल्फी खिच्नेको घुइँचो निकैबेरसम्म रहिरह्यो।

सन्दकपुर पुगेपछि नपुगी नहुने स्थान हुन्– माई भगवतीको शिर र आहालटार। सन्दकपुरबाट करिब डेढ किलोमिटरमा रहेको आहालटार पुग्यौं। कञ्चनजंघा हिमाल सन्दकपुरभन्दा नजिकैजस्तो देखियो। घाम केही तातो भएको र मौसम गज्जब खुलेकाले यहाँबाट निकै टाढासम्मको दृश्य छर्लंग देखियो। जति नै तस्बिर खिच ेपनि खिचिरहूँ लाग्ने। जति बस्यो, उति बसिरहूँ लाग्ने। आहालटारमा करिब १ घन्टा बिताएर लामो ढुंगामा चढेर तस्बिर खिच्दै सन्दकपुरतिरै फर्कियौं। स्थानीय जडीबुटी, वन्यजन्तु र जैविक विविधतालगायत अवलोकन गर्न, यहाँको प्राकृतिक सौन्दर्यमा रमाउन सन्दकपुर आएका पर्यटकको संख्या सबैं बाक्लो हुन्छ। यो पटक पनि उस्तै देखियो। आन्तरिक मात्र नभई भारतको बाटो भएर आउने बंगाली र तेस्रो मुलुकका पर्यटक पनि रमाइरमाइ सन्दकपुरका डाँडाकाँडा चहारिरहेका देखिए।

पर्यटकीयस्थल सन्दकपुर भारतीय सीमामा पर्छ। यहाँको नेपाली भूमिपट्टि ३ वटा मात्रै होटल छन्। भारतपट्टि करिब १५ होटल छन्। नेपालपट्टि भएका होटलमा प्रायः भारतीय रुपैयाँको कारोबार हुन्छ। ज्यादै महँगो भएकैले नेपाली पर्यटक सन्दकपुर जानुपरे अघिल्लो दिनको बासचाहिँ चौंरीचोक, बिखेभञ्ज्याङ, कालपोखरी, माबु र माइमझुवाका होमस्टेतिरै बस्न थालेका छन्। यहाँ भेटिएका निरकुमार खतिवडाले भने, ‘हाम्रो टिम त माबुमा बास बसेर बिहान ३ बजे उठेर आएको।’ स्थानीय होटलमा ६ जनाले १–१ कप चिया आएको ५ सय रुपैयाँ तिर्नुपरेपछि हाम्रो टिमले पनि यहाँको होटल निकै महँगो रहेछ भन्ने थाहा पाइहाल्यो।

स्थानीय शेर्पा च्यालेट होटलले नेपाली पर्यटकका लागि खाने–बस्ने खर्चको मेन्यु नै बनाएको रहेनछ। ‘नेपालीले हेरेपछि निकै एक्स्पेन्सिभ मान्ने भएकाले मेन्यु नबनाएको,’ होटलको रिसेप्सनका बसेका युवकले भने, ‘भौगोलिक रूपले विकट भएकाले यहाँ सबै सामान महँगै पर्छ, पानीसमेत तल गाउँबाट गाडीमा ओसार्नुपर्छ अनि कसरी सस्तो हुन्छ त।’

उनका अनुसार यहाँ एउटा चाउचाउ पकाएर खाएको सय रुपैयाँ तिर्नुपर्छ। चिया प्रतिकप ५०, सादा खाना ३ सय ५०, चिकन खाना ५ सय र बास बसेको प्रतिव्यक्ति प्रतिरात ६ सय रुपैयाँसम्म पर्छ। चौंरीचोकका व्यवसायीका अनुसार यहाँ लोकल कुखुरा जिउँदोमै किन्नुपर्दा प्रतिकिलो ९ सय ६० रुपैयाँ पर्छ। स्थानीय होटल सञ्चालिका केसाङ भोटियाको होटलमा चाहिँ चिया प्रतिकप २० देखि ३० रुपैयाँ, सादा खाना २ सय ६०, मासु खाना ३ सय ७०, अम्लेट खाना ३ सय रुपैयाँ पर्छ। होटलमा १ हजार ६ सयदेखि २ हजार ६ सय प्रतिगोटाका कोठा रहेको उनले सुनाइन्।

प्रकाशित: २८ मंसिर २०७६ ०५:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App