coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातले कतै सकस कतै खुसी

सुदूरपश्चिमका सात जिल्ला जोड्ने एकमात्र राजमर्गा भीमदत्तपन्त राजमार्गअन्तर्गत डडेल्धुराको साहुखर्कनजिक हिमपातले ढाकिएको राजमार्ग। तस्बिर : पुष्कर/नागरिक

सुदूरपश्चिम ब्युरो

धनगढी – सुदूरपश्चिम प्रदेशका सातवटै पहाडी जिल्लामा हिमपात भएको छ। बिहीबार रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा वर्षा तथा हिमाली भागमा हिमपात सुरु भएको थियो। शुक्रबार पनि अधिकांश उच्च भूभागमा हिउँ परेको छ। बाजुराको सदरमुकाम मार्तडी, बझाङको सदरमुकाम चैनपुरलगायत सातवटै पहाडी जिल्लाका अधिकांश भूभाग हिमपातले सेताम्मे छन्।

बझाङ, डडेल्धुरा, बाजुरा, दार्चुला, बैतडी, अछाम र डोटीमा हिमपातले जनजीवन प्रभावित भएको छ। बझाङ, बाजुरालगायत जिल्लाका बस्तीमा हिमपातले शुक्रबार शिक्षण संस्थासमेत बन्द भएका छन्। बाजुराको कोल्टी एयरपोर्टमा हवाईसेवा बन्द भएको छ। डेढदेखि दुई फिटसम्मको हिमपातले भीमदत्त पन्तलगायत विभिन्न सडक अवरुद्ध भएका छन्। यस प्रदेशमा पर्ने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भारी वर्षा भएर जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिसम्म पहाडी जिल्लामा हिमपात र तराईमा वर्षा जारी छ।

बाजुरा संवाददाता कृष्ण ओलीका अनुसार सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात भइरहेको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ। मौसम बिग्रिएसँगै कोल्टी र वरपरका क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जनाएको छ। कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्।

हिमपातसँगै बढेको चिसोका कारण बाजुरा जिल्लाको हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। लगातार पानी र हिमपात भएपछि सदरमुकाम मार्तडी बजारक्षेत्रसहित गाउँका विद्यालय बन्द भएका छन्। बाजुरामा घरबाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ। बजार पसलहरू पनि पूर्ण रूपमा बन्द अवस्थामा छन्। वर्षाका कारण किसानलाई केही राहत भए पनि चिसोले सबैलाई सास्ती दिएको छ।

टुट्यो सञ्चार सम्पर्क
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो। मार्तडी कोल्टी सडक पूर्ण रूपमा बन्द भएको छ। चार–पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको स्थानीयले बताएका छन्। सडक अवरुद्ध हुँदा मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधन रोकिएका छन्। सडक, बाटो पूर्ण रूपमा बन्द भएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकाले जिप सञ्चालन हुन नसकेको प्रहरीको भनाइ छ।

कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ। जिल्लाका नौवटा स्थानीय तहमध्ये चारवटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले बताएको छ। कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्।

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टिको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा रहेका सोलार प्रविधिबाट सञ्चालन हुने रिपिटर टावर हिमपात र वर्षाका कारण प्रभावित भएका छन्। चिसोले अस्तव्यस्त बनेको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ।

बझाङ संवाददाता जगत खड्काका अनुसार बझाङको सदरमुकाम चैनपुरलगायत जिल्लाका सबै स्थानीय तहका अधिकतर गाउँको जनजीवन हिमपातले प्रभावित भएको छ। सदरमुकामसहित विभिन्न बस्तीमा हिमपातले गर्दा ओहोरदोहोरमा समस्या भएको छ भने चिसोले मानिसहरू घरबाहिर निस्केका छैनन्। घरभित्र आगो बालेर स्थानीय बसेका छन्। हिमपातसँगै बढेको अत्यधिक चिसोका कारण विद्यालय बन्द गरिएका छन्। हिमपातले सडक अवरुद्ध हुँदा सवारीसाधन चल्न सकेका छैनन।

दार्चुला संवाददाता प्रेम चुनाराका अनुसार दार्चुलाका उत्तरी अधिकांश क्षेत्रमा हिमपात भएको छ । बिहीबार दिउँसोबाट मौसम परिवर्तनसँगै जिल्लाका विभिन्न ठाउँमा हिमपातका साथै वर्षासमेत भएको छ। बिहीबार रातिदेखिको वर्षा र हिमपातसँगै जिल्लाभरि अत्यधिक चिसो बढेकाले जनजीवन प्रभावित भएको छ।

अपी–हिमाल र ब्यास गाउँपालिकाका अधिकतर गाउँमा, नौगाड, मार्मा, दुहु गाउँपालिकाका लेकाली भेगमा हिमपात र वर्षा सँगै भएको स्थानीयले बताएका छन्। अपी–हिमालको घुसा, खण्डेश्वरी, सितोला, गुल्जर तथा ब्यास गाउँपालिका ब्यास, राप्ला, सुन्सेरालगायत ठाउँमा व्यापक हिमपात हुँदा चिसोले जनजीवन कष्टकर भएको अपी–हिमाल गाउँपालिका–५ का बिसनसिंह बुढाथोकीले बताए।

किसानका लागि अमृत वर्षा
स्थानीयका अनुसार सुदूरपश्चिममा यस वर्ष छिटो हिमपात भएको छ। किसानहरू गहुँखेतीलगायतको तयारीमा छन्। अकाशे पानीको भरमा खेती गर्ने यहाँ किसान हिमपातले खुसी भएका छन्। ‘हामी किसानका लागि हिमपात होइन, अमृत वर्षा हो,’ दार्चुलाका किसान बुढाथोकीले भने, ‘हिउँदे बालीका लागि यो हिमपात धेरै उपयोगी रहेको छ।’ चिसो भएर हिमपातले जनजीवन प्रभावित बनाएको भए पनि खेतीको लागि अमृतसरह भएको किसानहरूले बताएका छन्। अन्नबाली उम्रने र हुर्कने बेला भएको हिमपातले अन्नबाली राम्रो हुने किसानहरू बताउँछन्।

माथिको उच्च डाँडाहरूमा यसअघि नै हिमपात भएको र गाउँमा भने पहिलो पटक हिउँ पुगेको ब्यास गाउँपालिका–२ राप्लाका हरकसिंह बुढाथोकीले बताए। असोजयता पानी नपरेको कारण आइतबारबाट लेकाली भेकमा हिमपात भएको हो । हिमपातसँगै जिल्लाभरि हल्का वर्षा भएको छ। हिमपातले चिसो बढे पनि आकाशे पानीको भरमा खेती गर्नुपर्ने पाखोबारी भएका कृषक भने खुसी छन् । अहिले जिल्लाका पाँचवटा गाउँपालिकाका उच्चभागहरू हिमालयजस्तै देखिएका छन् भने अन्य स्थानीय तहको लेकाली भेगमा समेत हिमपात भएको छ।
डडेल्धुरा संवाददाता पुष्कर भण्डारीका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि हिमपात सुरु भएको छ।

घना जंगल एवं उच्चपहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो।

सुदूरपश्चिमका सातवटै पहाडी जिल्ला जोड्ने एकमात्रै सडक भीमदत्त राजमार्ग हिमपातका कारण शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ। हिउँ परेपछि तराई, पहाडका जिल्ला आवतजावत गर्ने सवारीसाधन राजमार्गमै रोकिएका छन्। यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो। भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे र महाकाली राजमार्गको भालुमारे अनारखोली सडक क्षेत्रमा हिमपात भएको स्थानीय भीम देउवाले बताए।

सडकबाट हिउँ पन्छाउन डोजर प्रयोग गरिए पनि सवारी चालकले दुर्घटनाको जोखिम भन्दै सवारीसाधन सञ्चालन गर्न नमानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डडेल्धुरा सदरमुकामको अहिलेको तापक्रम तीन दशमलव दुई डिग्री सेल्सियस छ। यो तापक्रम यस वर्षको अहिलेसम्मकै न्युन हो। यो क्षेत्रमा अहिलेसम्म सात मिलिलिटर वर्षा भएको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ। शनिबार दिनभरि र रातभरि वर्षाको सम्भावना रहेको छ भने आइतबार मध्यान्ह १२ बजेपछि मौसम खुल्ने सम्भावना रहेको हावापानी फिल्ड कार्यालय डडेल्धुरा प्रमुख श्याम सुनारले बताए।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन्। एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरीखाने वर्ग बढी प्रभावित भएका छन्।

हिउँद यामको यो पहिलो वर्षा हुँदा यसअघि हिउँदे बाली बिग्रिने चिन्तामा रहेका पहाडी भेगका किसानलाई भने झरीसँगको हिमपातले धेरै राहत पु¥याएको छ। हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बने पनि झरी र हिमपातका कारण किसानहरू भने खुसी भएका छन्।

बैतडीका संवाददाता बिरा गडालका अनुसार बैतडीका उच्च भूभागमा मौसममा आएको परिवर्तनसँगै बिहीबार रातिदेखि हिमपात भएको छ। जिल्लाका सतबाँझ, खोड्पे, श्रीभावर, सिगासधुरा, रौलाकेदार, ग्वाल्लेकधुरालगायत उच्च भूभागमा हिमपात भएको हो। हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ। हिमपात भएपछि अत्यधिक चिसो बढेको पाटन नगरपालिका–८ का हरिश भट्टले बताए। स्थानीयका अनुसार शुक्रबारसमेत दिनभर पानी र हिमपात भएपछि चिसो सहन गाह्रो हुने गरी बढेको छ।

हिमपातले खोड्पे, सतबाँझ, श्रीभावरलगायत ठाउँमा सवारीसाधन सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। जिल्लाका उच्च भू–भागमा हिमपात भएपछि सबै ठाउँमा चिसो बढेको छ।

कृषि ज्ञानकेन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दका अनुसार जिल्लामा लामो समयदेखि खडेरी परेको थियो। गहुँबाली तथा तरकारी बालीका लागि हिउँदे वर्षा र हिमपात निकै लाभदायक हुने र हिउँदेबाली सप्रिनेछ। गहुँबाली र तरकारी बालीका लागि वर्षा र हिमपातले अमृतको काम गरेको दशरथचन्द नगरपालिका–९ की पशुपति जोशीले बताइन्। सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काका अनुसार हिमपातले हिउँदे फलफूलका बिरुवा रोप्ने तयारीमा रहेका किसानलाई समेत फाइदा हुनेछ।

प्रकाशित: २८ मंसिर २०७६ ००:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App