७ वैशाख २०८१ शुक्रबार
समाज

विद्यालय बन्द, चिसोले जनजीवन कष्टकर

बाजुरा- जिल्ला सदरमुकाम मार्तडीसहित हिमाली भेगमा हिमपात सुरु भएको छ। शुक्रबार दिउँसोदेखि मार्तडीमा नै हिउँ पर्न सुरु भएको हो। हिमाली भेगमा हिमपात र जिल्लाको तल्लो क्षेत्रमा पानी पर्न थालेको छ। हिमपात सुरुभएसँगै जिल्लामा चिसो बढेको छ।

मार्तडी बजारमै हिमपात पर्न सुरु भएको छ। हिमपातपछि कोल्टी एयरपोर्ट बन्द भएको छ। मौसम बिग्रिएसँगै कोल्टी र आसपासका क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ।

कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्। कोल्टी एयरपोर्टबाट बाजुराका बूढीनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका त्यसैगरी हुम्ला, मुगु, कालिकोटका स्थानीयले सेवा लिँदै आएका छन्।  

विद्यालय बन्द
हिमपातसँगै बढेको चिसोका कारण हिमाली क्षेत्रमा रहेका विद्यालय बन्द गरिएका छन्। लगातार पानी र हिमपात भएपछि सदरमुकाम मार्तडी बजार क्षेत्रसहित गाउँका विद्यालय पनि बन्द भएका छन्।

घर बाहिर आएर हिँडडुल गर्न नै समस्या देखिएको छ। बजार पसलहरु पनि पूर्णरुपले बन्द अवस्थामा छन्। किसानलाई राहत भएपनि चिसोले सबैलाई सास्ती दिएको छ। पानी र हिमपात नरोकिए विद्यालय लामो समयसम्म बन्द गर्नु पर्ने अवस्था आउने देखिन्छ।

मार्तडी कोल्टी सम्पर्क टुट्यो
हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सम्बन्ध टुटेको हो। मार्तडी कोल्टी सडक पूर्ण रुपमा बन्द भएको छ। भने आवत जावत पनि रोकिएको छ।

चार पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको बताईएको छ। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधन रोकिएका छन्। सडक बाटो पूर्ण रुपमा बन्द भएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको यातायात व्यवसायीले बताएका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जिप सुचारू हुन नसकेको प्रहरीको भनाई छ।

कोल्टी क्षेत्र सञ्चारविहीन
कोल्टी क्षेत्र सञ्चारविहीन बनेको छ। जिल्लाका नौ वटा स्थानीय तह मध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले बताएको छ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्। घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ।

फोन नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन्। ‘कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ। घाम लागेको बेला आउने भएपनि लगातार हिमपात परेपछि सेवा अनियमित बनेको हो।

उत्तरी क्षेत्रका बूढीनन्दा नगरपालिकाको कोल्टिको घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा तीन वर्षअघि रिपिटर टावर निर्माण भएका छन्। ती सबै टावर विद्युत सेवा नहुँदा सोलार प्रविधिबाट जाडन गरिएका छन्। टेलिकम बाजुराका कार्यालय मानबहादुर रोकायाले त्यस क्षेत्रमा बिजुली नभएकाले सोलारको विकल्प नभएको बताए। उनले कोल्टीमा विद्युत भए पनि नियमित नहुँदा समस्या आएको बताए।

चिसोले अस्तव्यस्त बनेको जनजीवन फोन सेवा समेत नहुँदा थप सास्ती भोग्न बाध्य छ।

प्रकाशित: २७ मंसिर २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App