coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिमपातले मनाङ र मुस्ताङ सेताम्य (फोटो फिचर)

पोखरा/मुस्ताङ- हिमाली जिल्लामा बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा बिहानदेखि लगातार परेको हिउँले आउजाउ रोकिएको छ भने चिसो बढेपछि स्थानीयबासी घरबाहिर निस्कन समेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्य भएका छन्।

मनाङका प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार सदरमुकाम चामेमा ४ सेन्टिमिटर र केही माथिको हुम्देमा ८ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ। अन्नपूर्ण फेरोको पदमार्ग पर्ने मनाङमा पर्यटक पनि हिडडुल गर्न सकेका छैनन। कार्कीका अनुसार पर्यटकलाई थोराङला भञ्ज्याङ पार गर्न र तिलिचो ताल पुग्नका लागि रोक लगाइएको छ। ‘माइनस ६ डिग्रीमा तापक्रम झरेको छ। सबैतिर आउजाउ ठप्प छ,’ उनले भने, ‘हिमपातले किसान खुसी छन। तर चिसोको कारण प्रभाव परेको छ।’

उनका अनुसार मनाङ जाने गाडी धारापानीभन्दा आगाडि जान सकेका छैनन। हिउँले गर्दा बाटो चिप्लो भएकोले सवारी चलाउन समेत मुस्किल रहेको उनले बताए। ‘कतैकतै त पानी नै जम्ने अवस्था छ। चिसोका कारण सदरमुकाम चामे समेत सुनसान जस्तै भएको छ,’ उनले भने, ‘स्थानीयबासिहरु घरभित्रै आगो बालेर बसेका छन्। बुढाबुढी र बालबालिका बढी प्रभावित भएका छन्।’  हिमपातले कतै अप्रिय घटना नहोस भनेर प्रहरी सचेत बनेको उनले बताए।

अर्को हिमाली जिल्ला मुस्ताङमा यस वर्षकै पहिलो हिमपात भएको छ। हिमपात भएपछि जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन्। विहीबारबाट मौसम बिग्रदै जाँदा शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो। हिजोबाट मौसममा खराबी आएपछि आज बिहानबाट एक्कासि हिमपात भएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार जोमसोम आसपासमा माइनस २ डिग्रीसँग तापक्रम झरेको छ। माथिल्लो भेग लोमान्थाङतिर एक इन्च हिउँ जमेको थियो। सदरमुकाम जोमसोम आसपासमा २ इन्चसम्म हिउँ जमेको छ।

जोमसोम विमानस्थल एयर ट्राफिक कन्ट्रोलर (एटिसी) गणेश डुम्रेका अनुसार तापक्रम माइनस २ डिग्रीमा झरेको छ। जोमसोम र आसपासका क्षेत्र हिमपातले सेतै छन् । उनका अनुसार हिमपात र बाक्लो बादलका कारण पोखरा–जोमसोम उडान पनि रोकिएका छन्। तारा र समिट एयरलाइन्सका  १/१ वटा उडान भएपनि शुक्रबार उडान हुन नसकेको उनले बताए। विहीबार पनि बाक्लो बादलका कारण उडान रोकिएको उनले बताए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालका अनुसार भारी हिमापात भईहालेको खण्डमा आइपर्न सक्ने अप्ठेरोलाई ध्यान दिएर सचेतना अपनाइएको छ। बिभिन्न ठाउँमा रहेका प्रहरी चेक पोस्टलाई सचेतना अपनाउन भनिएको उनले बताए। बिशेष गरि मुक्तिनाथ दर्शकका लागी आएका पर्यटक अलपत्र नहुन भनेर सचेतना अपनाएको उनले बताए। मनाङ हुँदै थोरङ्लापास गरेर मुस्ताङ ओर्लने पर्यटकलाई पनि सचेत गराएको उनले बताए। थोराङला भञ्ज्याङ पार गर्ने रुटका पर्यटकलाइ सचेत गराउँदै विहीबार नै पुर्व सुचना जारी गरिएको उनले बताए। ‘पदयात्राका क्रममा रहेका पर्यटक अप्ठेरोमा परेको भए जानकारी गराउन र उद्धारमा खट्न प्रहरीलाई निर्देशन दिइएको छ,’ उनले भने। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App