७ वैशाख २०८१ शुक्रबार
समाज

हलेसीमा करोडको धर्मशाला शिलान्यास

त्रि–धार्मिकस्थल हलेसीमा धर्मशाला शिलान्यास गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र नेपाल आयल निगमका ट्रेड यूनियन अध्यक्ष देबी न्यौपाने। तस्बिर: नागरिक

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त धर्मशाला शिलान्यास गरिएको छ। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमबाट धर्मशाला शिलान्यास गरिएको हो।

आयल निगमको आयोजनामा त्रि–दिवसिय वैद्धिक विधि गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र नेपाल आयल निगमका ट्रेड यूनियन अध्यक्ष देबी न्यौपाने (बाबुराम)ले धर्मशाला शिलान्यास गरेका छन्। शिलान्यासका लागि निम्त्याइएका उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टको अनुपस्थितिमा मेयर राई र ट्रेड यूनियन अध्यक्ष न्यौपानेले संयुक्तरुपमा धर्मशाला शिलान्यास गरेका हुन्।

दैनिक स्वदेशी तथा विदेशी पर्यटकको घुईचो लाग्ने हलेसीमा निगमको ५ करोड सहयोगमा करिब १६ रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गर्न लागिएको हो। सुविधा सम्पन्न भवन, सुविधा सम्पन्न कोठा, पार्किङ स्थल, बगैंचा, योगास्थल लगायतका संरचना सहितको धर्मशाला निर्माणका लागि निगमले यस वर्ष २ करोड र अर्को वर्ष ३ करोड उपलव्ध गराउने सम्झौता गरिएको मेयर राईले बताए।

हलेसी भन्दा केही माथि रहेको गुराँसेस्थित सार्वजनिक जग्गामा सामान्य नागरिकदेखि भिआइपीलाई राख्न मिल्ने किसिमको धर्मशाला बनाउने तयारी थालिएको हो। धर्मशाला निर्माणका लागि आव्हान गरिएको टेण्डर पुस पहिलो हप्ता खुलाइने मेयर राईले बताए। नगरपालिका र निगमबीचमा २ वर्षभित्र धर्मशाला निर्माणको काम पूरा गर्ने सम्झौता छ। ‘धर्मशाला भन्ने वित्तिकै केही नहुने वा नसक्नेले आश्रय लिने ठाउँकारुपमा बुझ्ने गरिन्छ,’ मेयर राईले भने, ‘हामीले बनाउन लागेको धर्मशालामा सामान्य नागरिकदेखि भिआइपीलाईसमेत राख्न मिल्ने किसिमले बनाउन लागेका छौँ।’

हलेसीमा यसअघि बनाइएका कतिपय धर्मशाला जिर्ण बनेको र कतिपय कामै नदिने अवस्थामा पुगिसकेको अवस्थामा अर्को सुविधा सम्पन्न धर्मशाला निर्माणको प्रकृया थालिएको हो। हलेसीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बेला हलेसीकै पर्यटन प्रवद्र्धनका लागि धर्मशाला निर्माणको काम अघि बढाइएको मेयर राईले बताए।

 

प्रकाशित: २७ मंसिर २०७६ ०८:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App