coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना कम गर्न चौपायामा ट्याग लगाउँदै

घरपालुका पशुमा ट्याग लगाउँदै कर्मचारीहरु।

सुर्खेत- भदौ १८ गते वीरेन्द्रनगरको एरिचोकमा मोटरसाइकल चौपायासँग ठक्कर खाँदा पञ्चपुरी नगरपालिका–६ बावियाचौरका चुडामणि कँडेल गम्भीर घाइते भए। बाँगेसिमलबाट मंगलगढीचोकतर्फ आउँदै गरेका कँडेलले चलाएको भे३प ८७०४ नम्वरको मोटरसाइकल एरिचोक नजिकै फोरलेन सडकमा गाईसँग ठोक्किएको थियो। गाईको घटनास्थलमै मृत्यु भयो। गम्भीर घाइते भएका कँडेलको उपचारको क्रममा २१ गते कोहलपुर मेडिकल कजेजमा मृत्यु भयो।

भदौ १६ गते राति पुरानो बसपार्कको फोरलेन सडक ढाकेर बसेका चौपायामाथि तिब्र गतिमा आएको मोटरसाइकल बजारियो। मोटरसाइकलमा रहेका मनोज सुनार र अर्का एक जना घाइते भए। मोटरसाइकल चालक सुनारको नेपालगञ्जमा अहिले पनि उपचार भइरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा सवारीधानको ठक्करबाट प्रदेश राजधानी वीरेन्द्रनगरमा चार चौपायाको मृत्यु भएको छ भने आठ घाइते छन्। घाइतेहरुको अहिलेको अवस्थाको बारेमा कसैलाई जानकारी छैन। चौपायासँगै ठोक्किएर यो अवधिमा एक जनाले ज्यान गुमाइसकेका छन् भने आठ जना घाइते भएका छन्।

चौपायाका कारण दुर्घटना बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले तिनको गणना सुरु गरेको छ। नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलले वीरेन्द्रनगरका १६ वटा वडा मध्ये एकदेखि १३ सम्मका वडामा रहेका घरपालुवा र छाडा चौपायाको गणना भइरहेको बताए। तीन वटा वडा पहाडी क्षेत्रमा पर्ने भएकाले त्यहाँका पशुचौपायाको गणना नगरिने उनले बताए।

नगरपालिकाले हालसम्म एकदेखि तीन वडासम्मका पशुचौपायाको गणना सम्पन्न गरेको छ। ‘पहिलो चरणमा व्यक्तिले पालेका पशुचौपायाको तथ्याङ्क संकलन गरिरहेका छौं,’ पौडेलले भने, ‘अहिलेसम्म तीन वटा वडामा व्यक्तिले पालेका एक हजार १० चौपायामा ट्याग लगाउने काम सम्पन्न भएको छ।’

नगरपालिकाले केपी निर्माण व्यवसायी सेवा प्रालिसँगको सहकार्यमा व्यक्तिले पालेका पशुचौपायाको ट्याग लगाउनुका साथै पशुधनीको फोटो पनि खिच्ने गरेको छ। ‘ट्याग लगाएको पशुचौपाया छाडा छोडेमा कारवाही गर्न सजिलो हुने भएकाले ट्याग लगाएका पशुसहित घरधनीको फोटो पनि संकलन गरेर कम्प्युटर सिष्टममा राखेका छौं,’ उनले भने, ‘छाडा छोडेको पाइएमा कारवाही गर्न सहज हुन्छ।’ उनले दिनदिनै छाडा चौपायाको संख्या बढ्दै गएकाले पहिलो चरणमा घरमा पालेका र त्यसपछि छाडाचौपायाको तथ्याङ्क राख्न थालिएको जानकारी दिए।

छाडाचौपायाका लागि वीरेन्द्रनगर–११ मा गौशाला निर्माण भइरहेको छ। घरमा पालेका पशुचौपायाको तथ्याङ्क संकलन सम्पन्न भएपछि छाडा चौपायालाई गौशालामा लगेर ट्याग लगाइने छ। ‘प्रदेश राजधानीलाई छाडा चौपाया मुक्त गर्नका लागि घरपालुका पशुमा पहेँलो र छाडा चौपायालाई रातो ट्याग बनाएका छौं,’ उनले भने, ‘घरपालुवा चौपायापछि छाडा चौपायामा ट्याग लगाउन सुरु गर्छौ।’


 

 

प्रकाशित: २७ मंसिर २०७६ ०७:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App