७ वैशाख २०८१ शुक्रबार
समाज

बन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित

इलाम–संघीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको आम हड्तालका कारण बिहीबार मेची र कोसीका ९ जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण इलाम, पाँचथर, ताप्लेजुङ, झापा, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम र संखुवासभामा लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन चलेका छैनन्।

यहाँका बजार, पसल, उद्योग, कलकारखाना विद्यालयलगायत सबै ठप्प छन्। इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका राजमार्गमा बन्दकर्ता कमै देखिएपनि सवारी साधन चल्न सकेका छैनन्। बन्दक्रममा झापाको मेचीनगरबाट आफ्ना ७ कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको पार्टीका केन्द्रीय अध्यक्ष सञ्जुहाङ पालुङ्वाले नागरिकन्युजलाई बताए। पक्राउ पर्नेमा पार्टी प्रवक्ता केदार धिमाल, झापा जिल्ला सदस्य साम्मी पालुङ्वा र मेचीनगर अध्यक्ष गणेश राईलगायत रहेको उनले जनाए।

सरकारले संदद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावले देशका सबै जनताका माग समेट्नुको सट्टा मधेसवादी दलको नाम मात्रै समेटेको, सरकारको प्रस्तावमा अरुण नदीपूर्वका ९ जिल्लालाई ‘लिम्बुवान राज्य’ घोषणाको माग नसमेटिएकोलगायत मागसहित पार्टीले बिहीबार आमहड्ताल आह्वान गरेको हो।

लिम्बुवान पार्टीले झापा, मोरङ र सुनसरीलाई पहाडी जिल्लाबाट अलग गर्न नमिल्ने मागमा समेत ध्यानाकर्षण गराउन बन्द आह्वान गर्नुपरेको अध्यक्ष पालुङ्वाको भनाइ छ।

प्रकाशित: ३० मंसिर २०७३ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App