१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्जा प्रवाह ७७ प्रतिशतले घट्यो

काठमाडौं – मुलुकमा सञ्चालनमा रहेका ‘क’ वर्गका वाणिज्य बैंकहरूको कर्जा लगानी घटेको छ। घरजग्गा कारोबारमा गिरावटसँगै निर्माण व्यवसायसमेत सुस्ताएका कारण वाणिज्य बैंकको कर्जा प्रवाह घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

चालू आर्थिक वर्ष ०७६/७७ को मंसिर २० गतेसम्म २७ वटा वाणिज्य बैंकले करिब सात अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। उक्त कर्जा प्रवाह गत आवको सोही अवधिको तुलनामा करिब ७७ प्रतिशतले कम हो। गत आवमा यी बैंकहरूले करिब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

नेपाल राष्ट्र बैंकको वित्तीय विवरणअनुसार चालू आवको साउन महिनामा वाणिज्य बैंकहरूले करिब नौ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

तर, भदौ महिनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह तीव्र गतिमा प्रवाह भएको थियो। भदौमा यी बैंकहरूले करिब ५५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

त्यसैगरी, चालू आवको असोज मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह बढेर ६८ अर्ब रुपैयाँ पुगेको थियो। दसैंमा नयाँ घर, सवारी साधन खरिद गर्ने चलन भएकाले असोजमा कर्जाको माग बढेको बैंकरहरू बताउँछन्।

असोजमा कर्जाको माग अत्यधिक बढे पनि कात्तिकमा कर्जा प्रवाह ओरालो लागेर करिब दुई अर्ब १२ करोड रुपैयाँमा सीमित भएको थियो।

कात्तिक महिनामा वाणिज्य बैंकहरूबाट दुई अर्ब १२ करोड मात्र लगानी भएको छ। यो अवधिमा कर्जा प्रवाहमा विकास बैंक र फाइनान्स कम्पनीको हिस्सा बढी छ। सात अर्बको कर्जा लगानीमा वाँकी कर्जाको हिस्सा भने ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका फाइनान्स कम्पनीको रहेकोे छ।

राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्म वाणिज्य बंैकहरूले दुई खर्ब ६६ अर्ब रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह गरेका छन्।

प्रकाशित: २७ मंसिर २०७६ ०३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App