७ वैशाख २०८१ शुक्रबार
अर्थ

लघुवित्त सुस्ताउँदा बिमामा उछाल

काठमाडौं – साताको अन्तिम दिन पनि सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ। केही दिनअघिदेखि लगातार उकालो यात्रामा रहेको सेयर बजारमा यसअघि बुधबार पनि दोहोरो अंकको वृद्धि देखिएको थियो।

नयाँ लगानीकर्ताका साथै पुराना लगानीकर्ता पनि फर्केर आएका कारण बजारमा माग सिर्जना भएकाले नेप्सेमा त्यसको सकारात्मक प्रभाव परेको दीपशिखा धितोपत्र कारोबार कम्पनी (ब्रोकर नं. ३८)  का महाप्रबन्धक विष्णु ओझाले बताए।

बिहीबारको कारोबारले सेयर बजारका लगानीकर्ताले पोर्टफोलियो परिवर्तन गर्दै लगानी व्यवस्थापन गर्ने रणनीति अवलम्बन गरेको देखाएको छ। यस दिनका बजारसम्बन्धी सूचकले लगानीकर्ताको यस्तो रणनीतिबारे संकेत गरेका छन्। यसअघि उच्च गतिले बढ्दै आएको लघुवित्त समूहको सूचक बिहीबार रातो बनेको छ भने बिमा समूहका सूचकमा उच्च वृद्धि देखिएको छ। लगानीकर्ताले लघुवित्त समूहको सेयरमा पर्याप्त मुनाफा भएपछि त्यसलाई बेचेर बिमा समूहतर्फ आकृष्ट भएको सूचकहरुले संकेत गरेका छन्।

एउटा समूहमा पर्याप्त वृद्धि भइसकेपछि त्यो एउटा तहमा रोकिएर अर्को समूहमा वृद्धि देखिनु स्वाभाविक भएको ओझाले बताए। ‘कुनै पनि समूहमा लगातार वृद्धि हुँदैन। एउटा निश्चित विन्दुमा पुगेपछि रोकिएर फेरि अर्को समूहमा वृद्धि देखिन्छ’, उनले भने, ‘यसरी नै तह तह बनाएर बजार माथि जाने हो।’

बिहीबार बजार दोहोरो अंकले उकालो लाग्दा यसमा सबैभन्दा बढी योगदान निर्जीवन बिमा र जीवन बिमा समूहको देखिएको छ। नेप्से ११.१७ विन्दुले बढ्दा जीवन बिमा र निर्जीवन बिमा समूह क्रमशः २७८.६९ र ३३२.०४ विन्दुले उकालो लागेका छन्। जब कि पुँजीबजारमा सबैभन्दा बढी हिस्सा रहेको बैंकिङ समूहको सूचकमा भने २.८२ विन्दुको मात्रै वृद्धि देखिएको छ।

यस दिन ११६१.४७ विन्दुमा खुलेको बजारले ११५९.९१ को न्यून र ११७५.३ को उच्च विन्दु बनाएको छ। नेप्सेमा ०.९६ प्रतिशतको वृद्धि देखिँदा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.१६ प्रतिशत (०.४१ विन्दु) ले मात्रै वृद्धि भएको छ। यसले बजारमा नाफा र चुक्तापुँजीका हिसाबले राम्रो कम्पनीको सेयर मूल्य भने खासै बढ्न नसकेको संकेत गरेको छ।

यस दिन सबैभन्दा बढी उछाल निर्जीवन बिमा समूहमा देखिएको छ। यो समूहको सूचक ७.५९ प्रतिशतले बढेको छ। यस्तै जीवन बिमा समूहको सूचक पनि ५.०५ विन्दुले बढेको छ। विन्दुगत आधारमा पनि यिनै दुई समूहको सूचक बढी उकालो लागेको छ। त्यसपछि जलविद्युत् समूहको सूचकमा वृद्धि देखिएको छ। यो समूहको सूचक २८.९७ विन्दु (३.०६ प्रतिशत) ले उकालो लागेको छ। त्यस्तै विकास बैंक समूह २.७२, वित्त समूह १.४ र म्युचुअल फन्ड समूह ०.०९ विन्दुले हरियो छन्।

बढ्दो बजारमा पनि यस दिन उत्पादनमूलक सहित पाँचवटा समूहको सूचक रातो छ। सबैभन्दा बढी ओरालो लाग्नेमा उत्पादनमूलक समूह छ। यो समूहको सूचक ४४.९८ विन्दुले ओरालो लाग्दा व्यापार समूह १९ विन्दुले घटेको छ। यसअघि लगातार बढ्दै आएको लघुवित्त समूह पनि ८.२२ अंकले खुम्चिएको छ। यस्तै होटल्स ३.७ र अन्य समूहको सूचक १.९४ विन्दुले रातो छन्।

७६ करोडको सेयर किनबेच
अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकममा पनि उच्च वृद्धि देखिएको छ। यस दिन ७६ करोड ४० लाख २५ हजार दुई सय १३ रुपैयाँको सेयर किनबेच भएको छ। यो अघिल्लो दिनको तुलनामा ३८.६ प्रतिशतले बढी हो। बुधबार ५५ करोड १३ लाख ७७ हजार आठ सय ५२ रुपैयाँको सेयर किनबेच भएको थियो।

कारोबार रकमका साथसाथै कारोबार संख्या र किनबेच भएको सेयर संख्यामा पनि वृद्धि देखिएको छ। बुधबार सात हजार एक सय ७२ कारोबारबाट एक सय ७३ कम्पनीका २० लाख ४३ हजार ६ सय पाँच कित्ता सेयर किनबेच भएकोमा बिहीबार १० हजार एक सय ४६ कारोबारबाट एक सय ६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता सेयर खरिदबिक्री भएका छन्।

स्वावलम्बन लघुवित्त प्रमोटरको उच्च कारोबार
कारोबार रकमका हिसाबमा यस दिन स्वावलम्बन लघुवित्त कम्पनीको प्रमोटर सेयर पहिलो स्थानमा देखिएको छ। यो सेयर आठ करोड २८ लाख ५२ हजार ३१ रुपैयाँबराबरको किनबेच भएको छ। यस्तै दोस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तको चार करोड १७ लाख १४ हजार तीन सय ८० रुपैयाँको सेयर खरिदबिक्री भएको छ। कारोबार रकमका हिसाबले एनएमबी बैंक, नेपाल लाइफ इन्सुरेन्स र नेपाल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।
यस दिन एभरेस्ट इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढ्दा सूर्या लाइफ इन्सुरेन्स, हिमालय जनरल इन्सुरेन्स, सगरमाथा इन्सुरेन्स, हिमालयन ऊर्जा, आइएमई जनरल इन्सुरेन्स, नेपाल इन्सुरेन्स, युनाइटेड इन्सुरेन्स, नेपाल सेवा लघुवित्त र हिमालयन पावर पार्टनरको सेयर मूल्य पनि ९.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ। बढ्दो बजारमा पनि यस दिन गुराँस लघुवित्त र साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य चार प्रतिशतभन्दा बढीले खस्केको छ।

प्रकाशित: २७ मंसिर २०७६ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App