७ वैशाख २०८१ शुक्रबार
कला

नेपाली फिल्ममेकरको प्राथमिकतामा नयाँ कथा

काठमाडौं - राजधानीमा आयोजना भइरहेको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) अन्तर्गत बिहीबार नेपाली फिल्ममेकरहरुद्वारा निर्देशित फिल्महरु प्रदर्शन भएका छन्। ‘पछाडि पारिएकाहरुको आवाज’ नारासहित आयोजना भइरहेको महोत्सवको दोस्रो दिन अनिल न्यौपानेको ‘तिर्खा’, धोंडुप छिरिङको ‘आमा खान्डो’, नवविजय श्रेष्ठको ‘रंगहीन पुतली’ र नारायण मानन्धरको ‘पोट्र्रेट अफ माने’ फिल्महरु प्रदर्शन भएका थिए।

हिमाली पृष्ठभूमिका आधारित ‘तिर्खा’ मा रोजगारको सिलसिलामा बिदेसिन बाध्य युवाको कथा समेटिएको छ। ‘नेपाली युवाहरुको पीडा फिल्ममा समावेश गरेको छु। नेपाली समाजको कथावस्तुलाई फिल्ममार्फत् देखाएको छु,’ निर्देशक अनिल न्यौपाने भन्छन्।

धोंडुप छिरिङको ‘आमा खान्डो’ मा मुस्ताङको कथावस्तु समेटिएको छ। आमा र सन्तानको मार्मिक सम्बन्धलाई फिल्ममार्फत् प्रस्तुत गरिएको छ। ‘मुस्ताङको संस्कृतिमा आधारित यस फिल्ममा आमा र सन्तानको सम्बन्धलाई प्रस्तुत गरिएको छ,’ फिल्मका निर्माता प्रविण कार्कीले भने, ‘निर्देशकको अनुभवलाई फिल्ममा देखाएका छौं।’

निर्देशक नवविजय श्रेष्ठको ‘रंगहीन पुतली’ मा किशोरीको सपनाको कथा समेटिएको छ। सो किशोरीले सपनालाई पछ्याउँदाको कथामा आधारित फिल्म निर्माण गर्दा खर्च तुलनात्मक रुपमा धेरै भएको अनुभव निर्देशक श्रेष्ठले सुनाए। ‘फिल्मको कथावस्तुलाई पछ्याउँदै गर्दा करिव चार लाख खर्च भयो,’ उनले भने। महोत्सवअन्तर्गत नेपाली पानारोमामा १४ वटा फिल्महरु प्रदर्शन भइरहेका छन्।

नेपाली पानारोमामा सरला थापाको ‘ब्रिटेन्स् लोन्ली गोर्खास्, गणेश पाण्डेको ‘सहायक श्रीमान’, निपिल शर्माको ‘अटिसार्गा’, धोंडुप छिरिङको ‘आमा खान्डो’, ग्रीष्म गिरीको ‘ब्लु अफ पिंक’,सुमन सापकोटाको ‘अठारौं’, धनराज बर्कोटेको ‘एउटा रुखको पीडा’, केदार श्रेष्ठको ‘जुनुको जुत्ता’, प्रसेस बज्रचार्यको ‘कोक्रो’, ‘पहिचान’, ‘फुर्वा’, ‘साइलेन्स प्लिज’, ‘रंगहीन पुतली’ र ‘तिर्खा’ लगायत फिल्महरु प्रदर्शन भइरहेका छन्।

महोत्सवमा प्रदर्शन हुने ग्रीष्म गिरीको ‘ब्लु अफ पिंक’ मा ट्रान्सजेन्डर व्यक्तिको संघर्षको कथा समावेश भएको छ। जनकपुरको परिवेशमा निर्माण भएको ‘ब्लु अफ पिंक’ मा ट्रान्सजेन्डर व्यक्तिले पहिचानको निम्ति गनुपरेको संघर्ष समेटिएको जानकारी निर्देशक गिरीले दिए। ‘ नेपालको अन्य क्षेत्रको तुलनामा तराई क्षेत्रमा ट्रान्सजेन्डरलाई घृणाको भावले हेरिन्छ। ट्रान्सजेन्डरले पहिचानको निम्ति गर्नुपरेको संघर्षलाई आधार बनाएर फिल्म तयार भएको छ,’ उनले भने।

महोत्सवमा प्रदर्शन हुने निर्देशक गणेश पाण्डेको ‘सहायक श्रीमान’ (को–हजबेन्ड) फिल्ममा बहुपति प्रथाको कथा समावेश गरिएको छ। कर्णाली प्रदेशको बहुपति प्रथामा आधारित यस फिल्ममा अनौठो प्रचलनलाई प्रस्तुत गरिएको छ। ‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ। उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमतीपनि एक आपसमा बाँड्छन्। जुन हाम्रो पुस्ताका लागि अनौठो कुरा हो। एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा फिल्म निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले भने, ‘करिब ४ वर्षको अनुसन्धान र फिल्म खिच्नमा खर्च भयो।’

महोत्सवअन्तर्गत नेपाली पानारोमामा छनोट भएको यजस्वी राईको ‘पहिचानु फिल्म फिल्ममा तेस्रोलिंगी महिलाको कथा समेटिएको छ। तेस्रोलिंगी महिलाले पहिचानको निम्ति गर्नुपरेको संघर्षलाई फिल्मको कथावस्तु बनाएको निर्देशक यजस्वी राईले बताइन्। महोत्सवमा नेपाली युवा फिल्ममेकरहरुले साहसिक खेलकुद, पर्वतारोहण, पर्वतीय समाज र संस्कृति, पर्वतीय जीवनशैली तथा वातावरण संरक्षण लगायत विषयमा बनाएको डकुमेन्ट्री र फिल्महरु प्रदर्शन भइरहेका छन्। महोत्सवको यो १७ औं संस्करण हो।

हिमाल एसोसिएसनले आयोजना गरेको महोत्सवमा २९ देशका ७९ वटा फिल्महरू प्रदर्शन भइरहेका छन्। यसपटक १७ वटा फिल्म प्रतिस्पर्धात्मक र ३२ फिल्म गैर–प्रतिस्पर्धात्मक खण्डमा समावेश भएको छन्। आगामी मंसिर २९ सम्म आयोजना हुने महोत्सवको अन्तर्र्रााष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्। त्यस्तै, नेपाल पानोरामाअन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: २७ मंसिर २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App