८ वैशाख २०८१ शनिबार
समाज

पढ्दापढ्दै कक्षाभित्र पर्खाल धसिँदा...

घाइते विद्यार्थीलाई अस्पताल लगिँदै। तस्बिर: नागरिक

ललितपुर-‘बिहान १० बजेर ४० मिनेट गएको थियो। कक्षामा नेपाली शिक्षकले सबैलाई पुस्तक निकाल्न भनेका मात्र के थिए, एक्कासि ठूलो आवाज आयो। कक्षाकोठामा ढुंगा खस्न थाल्यो। ढोकानजिकै भएका साथी हत्तपत्त बाहिर निस्कन भ्याए तर पछाडि बेन्चमा बसेकालाई पर्खालले थिच्यो।’
ललितपुर, टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कुलको कक्षा ८ मा अध्ययनरत फूर्वा तेन्जिङ शेर्पाले शुक्रबार स्कुलपछाडिको पर्खाल लडेर कक्षाकोठा भत्काउँदाको दृश्य सम्झिए । पर्खालले चेपेर घाइते भई बिएन्डबी अस्पतालमा उपचाररत उनले नागरिकस“ग भने, ‘सुरुमा त भु“इचालो आएजस्तो लाग्यो । बाहिर निस्केपछि मात्र कक्षाकोठा पछाडिको पर्खाल ढलेको थाहा पायौं ।’
पर्खालले कक्षाकोठा भत्काउँदा अन्य साथीझैँ उनी पनि पढिरहेका थिए । पर्खालबाट ढुंगा खस्न थालेको आवाजसँगै बाहिर भाग्नेक्रममा लडेर उनी सामान्य घाइते भएका छन् । तर, त्यही पर्खालले थिच्दा उनको कक्षासँगै जोडिएको अर्को कक्षामा अध्ययनरत दुई जनाको मृत्यु भयो । मृत्यु हुने दुवैजना कक्षा ३ का छात्रा हुन् । विद्यालयको पछाडिपट्टि प्लटिङ गरेको जग्गामा बनाइएको ढुंगे पर्खालबाट खसेको ढुंगा विद्यालयको भित्ता भत्काएर कक्षाभित्र छिर्दा अञ्जना पुनमगर र कृपा राईको मृत्यु भएको हो ।
विद्यालयका अनुसार स्थायी घर थाहा नभएकी अञ्जना लामो समयदेखि गोदावरीस्थित आमाघरमा बस्दै आएकी थिइन् । पर्खालले थिच्दा गम्भीर बनेकी उनको अस्पताल लैजानेक्रममा मृत्यु भएको हो । उनीसँगै पढ्ने कृपा राईको पनि अस्पताल लैजाने क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको मापदण्डविपरीत र विद्यालयको पटक–पटकको आग्रह अटेर गरी जग्गा व्यवसायी कर्मा लामाले बनाएको उक्त पर्खाल लड्दा अन्य २४ विद्यार्थी घाइते भएका छन् । घाइतेको पाटन, बिएन्डबी र सुमेरु अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये सामान्य घाइते पाँचजना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
मापदण्डविपरीत बनाइएको पर्खाल लडेर घाइते हुनेमा टौखेलका सुयोग ढकाल, बडिखेलका आयुश आचार्य, बाँडेगाउँका बीना मगर, सुरज लामा, रोजिना लामा, सुनिता परियार, रोजन महर्जन, तसी गुरुङ, आभाष नापित, अजय महर्जन, गोदामचौरकी महिमा बुढाथोकी, फुर्वा दोर्जे गुरुङ, फुर्पा तेन्जिङ, चित्रबहादुर कार्की, राजुमान झाँक्री र अजय शाही छन् । त्यस्तै टौखेलका सुर्वणहाङ लिम्बु, जनक शाही र बाँडेगाउँका अनुज महर्जन घाइते भएका छन् ।
प्रहरीले अग्लो पर्खाल लगाएर जग्गा प्लटिङ गर्ने लामालाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीय समाजसेवी जीवन रायमाझीले पल्टिङ गर्ने व्यक्तिको लापरवाहीका कारण विद्यालयको भित्ता नै भत्किएर दुई अवोध बालिकाको ज्यान गएको जानकारी दिए । उनले घटना भएको केहीबेरमै स्थानीय, विद्यार्थी र प्रहरीको सहयोगमा गम्भीर घाइते विद्यार्थीलाई अस्पताल पुर्यायाएको जानकारी दिए ।
घाइतेको उपचारमा संलग्न डा. अशोक बाँस्कोटाका अनुसार उपचाररत विद्यार्थीको अवस्था सामान्य नै छ । गम्भीर घाइते विद्यार्थीलाई अस्पताल पु¥याउन ढिलाइ भएकाले दुई विद्यार्थीलाई बचाउन नसकिएको प्रत्यक्षदर्शी सुशीला तामाङले बताइन् । ‘घाइते विद्यार्थीलाई चाँडोभन्दा चाँडो अस्पताल पु¥याउनुको साटो घटना भएको स्थानभन्दा माथि लगेर आधा घन्टा राखियो, उनीहरूलाई समयमै स्कुल पु¥याउन पाएको भए सायद बच्थे कि !’ उनले भनिन् ।
प्रत्यक्षदर्शी स्थानीय प्रदीप सिंहका अनुसार विद्यालयको गाडी हुँदाहुँदै पनि उक्त गाडी प्रयोग नगरी गम्भीर र सामान्य घाइते विद्यार्थीलाई एउटै भ्यानमा कोचेर अस्पताल पु¥याइएको थियो । ‘उद्धारक्रममा विद्यालयले पनि त्रुटि गर्यो,’ उनले भने, ‘आफ्नै बसमा राखेर समयमै अस्पताल लगेको भए सायद राम्रो सूचना आउँथ्यो कि !’
स्कुलकी प्रधानाध्यापक पुहामी कान्ति लेप्चा बज्राचार्यले घटना हुनुमा विद्यालयको दोष नभएको जिकिर गर्दै स्थानीय कर्मा लामाले स्कुलको भनाइ अटेर गरेर जग्गा प्लटिङ गर्दा यस्तो अवस्था आएको बताइन्। उनका अनुसार लामालाई पटक–पटक आग्रह गर्दा पनि अटेर गर लामाले स्कुलको छानोलाई नै हानि पुग्नेगरी जग्गा प्लटिङ गरेका थिए ।
‘कक्षामा जान लाग्दै थिएँ, एक्कासि विद्यार्थी चिच्याएको आवाज आयो । म पुग्दा विद्यार्थी पुरिइसकेका थिए,’ उनले भनिन् । विद्यालयले भूकम्पयता विद्यार्थीलाई अस्थायी भवन बनाएर पढाउँदै आएको थियो ।

‘मापदण्ड चाहियो’

सरकारले विद्यालयबाहिरको मापदण्ड निर्धारण नगर्दा दुई विद्यार्थीले ज्यान गुमाउनुपरेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका छन् । ‘सरकारले विद्यालयको बाहिरी वातावरणबारे मापदण्ड नबनाएकाले शुक्रबार गोदावरीमा यस्तो घटना भएको हो,’ घटनास्थल पुगेका अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘विद्यालय भवन र भित्री सुरक्षा हेरेर मात्र हुँदैन । विद्यालयको बाहिरी वातावरण मापदण्ड पनि निर्देशिकामा समेटनुपर्छ ।’
सरकारले २०६९ मा जारी गरेको निर्देशिकामा विद्यालयको बाहिरी वातावरणको मापदण्ड समेटिएको छैन । ‘स्कुल त भूकम्प प्रतिरोधात्मक नै बनाइएको छ,’ अध्यक्ष भण्डारीले नागरिकसँग भने, ‘तर स्कुलको बोर्डरमा लगाइएको बाहिरी पर्खाल भने निकै कमजोर रहेछ ।’
शिक्षा विभागले जारी गरेको निर्देशिकाअनुसार परिच्छेद ३ मा भौतिक पूर्वाधारसम्बन्धी व्यवस्थामा नयाँ विद्यालय स्थापना वा कक्षा थपका लागि निश्चित मापदण्ड तोके पनि
निजी विद्यालयले त्यसविपरीत स्कुल सञ्चालन गर्दा असुरक्षित भएको उनको आरोप छ ।
शिक्षा मन्त्रालयका सहसचिव लवदेव अवस्थीले विद्यालयको पुनः नक्सांकन गर्न आवश्यक देखिएको बताए। उनले भित्री सुरक्षासाथै अब वातावरणीय र बाहिरी सुरक्षाको हकमा समेत अध्ययन–अनुसन्धान गरी मापदण्ड तोक्नुपर्ने देखिएको जनाए । ‘ललितपुरको पुष्पाञ्जलीको घटनामा भित्रीभन्दा बाहिरी असुरक्षाको कारण देखियो,’ सहसचिव अवस्थीले नागरिकसँग भने, ‘अब मन्त्रालयले नानीहरूलाई विद्यालयमा भित्री सुरक्षाका साथै बाहिरी सुरक्षाको सवालमा समेत सचेत भई नयाँ मापदण्ड तोक्नुपर्ने देखियो ।’ मन्त्रालयले पुष्पाञ्जली स्कुलको घटनाबारे छानबिन गरी दोषीलाई कारबाही दायरमा ल्याउन निर्देशन दिएको समेत उनले बताए ।

बाढीमा एक बेपत्ता, एकको उद्धार

काठमाडौं, धर्मस्थली खोलाको बाढीले मोटरसाइकलसहित बगेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । तारकेश्वर नगरपालिकास्थित खोलामा शुक्रबार बाढी आउँदा पशुसेवा केन्द्र, धर्मस्थलीका कार्यालयप्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बगाएको हो । उनी बा६३ प ८२८ नम्बर मोटरसाइकलमा सवार थिए । प्रहरीले यादवको  उद्धार गरे पनि मोटरसाइकल भने फेला पार्न सकेन ।
शुक्रबारै कामपा शोभाभगवतीनजिक विष्णुमती खोलामा आएको बाढीमा एक महिला बेपत्ता छिन् । परिचय खुल्न नसकेकी महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । त्यसै गरी अविरल वर्षाले लगनटोलस्थित भीमसेन दरबारको कम्पाउन्ड पर्खाल भत्काउँदा कार च्यापिएको छ । बा९च ३४६ नम्बर कार पर्खाल च्यापिएको हो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा भग्नावशेष हटाई कार झिकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रकाशित: १८ असार २०७३ ०१:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App