७ वैशाख २०८१ शुक्रबार
समाज

पप्पुले अलपत्र छाडेका दुई वटा पुलको ठेक्का रद्द, कालोसूचीमा राख्न सिफारिस

पप्पु/बाम्ती जेभिले तीन वर्षदेखि अलपत्र छोडेको भैरहवा—लुम्बिनी सडकमा पर्ने तिनाउ पुल। तस्बिर/रेखा

बुटवल- बिगत तीन वर्षदेखि पप्पुले अलपत्र छोडेका रुपन्देहीका दुई वटा पुलको ठेक्का सम्झौता रद्द भएको छ। पर्यटकीय मार्गको रुपमा रहेको भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र डण्डा नदिमा निर्माणाधिन पुलको ठेक्का सम्झौता तोडीएको हो। हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तुले बुधबारदेखि ठेक्का सम्झौता रद्द भएको जनाएको छ। यी दुवै पुल निर्माणको ठेक्का पप्पु/बाम्ती जेभीले लिएको थियो।

दुई वर्षमा सक्ने भनिएका पुल पाँच वर्षसम्म अलपत्र छोडेपछि ठेक्का सम्झौता रद्द गरीएको हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तुले जनाएको छ। सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग योजना कार्यालय कपिलबस्तुले बुधबार नै दुई वटा पुलको ठेक्का सम्झौता रद्द गरेको सूचना निकालेको हो। एक साताभित्रै निर्माण स्थल खाली गर्न पनि आयोजनाले निर्माण कम्पनीलाई आदेश दिएको छ।

कार्यालयका प्रमुख इश्वरबहादुर रिजालका अनुसार गत असारमै निर्माणको काम छिटो सक्न ठेक्केदार कम्पनीलाई आदेश पत्र दिएको थियो। तर पप्पुले त्यसको टेरपुच्छर नलाएपछि भदौमा पुनः स्पष्टिकरण मागीयो। स्पष्टिकरण पत्र पाएपछि निर्माण कम्पनीले कामलाई तिब्रता दिने प्रतिवद्धतासहित नयाँ कार्यतालिका आयोजनालाई बुझाएको थियो। तर उसले कार्यकातिलाका अनुसार फेरी पनि कामलाई निरन्तरता नदिएपछि ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको रिजालले बताए। ‘निर्माण कम्पनीले पछिल्लो पटक दिएको कार्यतालिका अनुरुप फिल्डमा काम नदेखिएपछि कानुन बमोजिम नै ठेक्का रद्द गरेका हौ’ रिजालले भने। ठेक्का रद्द गरेसँगै आयोजनाले पप्पुलाई कालोसूचीमा राख्न सिफारिस पनि गरेको छ।

आयोजना प्रमुख रिजालका अनुसार ठेक्का सम्झौता रद्द भएपछि जमानत फिर्ताका लागि बैंकलाई चिठ्ठी लेखी सकीएको छ। ठेक्काको बाँकी कामको बजेटको २५ प्रतिशत रकम पनि आयोजनाले निर्माण कम्पनीसँग असुल उपर गर्नेछ। हालसम्मको निर्माणको भुक्तानीका सम्बन्धमा कार्यालयबाट अनुगमन निरीक्षणको तयारी भइरहेको उनले जानकारी दिए।

बुद्ध जन्मस्थल लुम्बिनी जाने पर्यटकीय मार्गको तिनाउ र  दानव नदिमा २०७१ पुष २५मा पप्पु/बाम्ती जेभीले पुल निर्माणको ठेक्का लिएको हो। सम्झौता अनुरुप २०७३ को असारमै पुल बनीसक्नु पर्ने हो। तर आयोजना होल्ड गरेर संचालन खर्च लगेपछि करिब दुई वर्ष पप्पुले कामै गरेन। तैपनि २०७५ असारसम्मका लागि म्याद थप गरीयो। दुई वर्षमा सक्ने भनिएका पुलको ५ वर्षपछिको कार्य प्रगती दानवको २५ र तिनाउ पुलको ५० प्रतिशत रहेको बताइएको छ। यी दुई वटै पुलमा २०७५ कै असार देखि निर्माणको काम ठप्प थियो। तर आयोजनाले भने एक वर्ष ढिलो गरी बल्ल ठेक्का रद्द गरेको छ।

हुलाकी राजमार्ग अन्तर्गतका यी दुई पुल निर्माणमा सुरुदेखि नै भइरहेको लापरवाही र ढिलासुस्तीको नकारात्मक प्रभाव लुम्बिनीको पर्यटनमा परीरहेको छ। किनकी यहाँका पुराना पुल साँगुरा र जीर्ण छन्। जहाँ मालबाहक गाडी र पर्यटकका गाडीहरु जाम लाग्छ। केहिदिन अघि रुपन्देही आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्त कुमार नेम्वाङले पनि बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै रुन्पन्देही र नवलपरासीका निर्माणाधिन सडक र पुल निर्माणमा लापरवाही गर्ने जो कसैलाई कारवाही गर्ने बताएका थिए।

मन्त्री नेम्वाङले भैरहवा–लुम्बिनी सडकमा पर्ने तिनाउ र दानव नदिमा निर्माणाधिन पुल अलपत्र पार्नेसँग ठेक्का रद्द गरीनुको साथै ठेकेदारलाई कारवाही गर्ने प्रतिवद्धता जनाएका थिए।

 

 

प्रकाशित: २६ मंसिर २०७६ १४:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App