४ वैशाख २०८१ मंगलबार
समाज

गाउँपालिकाले सुरु गर्‍यो प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे सेवा

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरिएको छ। गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरेको हो।

जुनसुकै समयमा पनि स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीलाई थप सुविधाको व्यवस्था गरेर मंसिर १३ गतेदेखि २४ घण्टे स्वास्थ्य सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए। डाक्टरलाई नेपाल सरकारबाट पाउने मासिक तलव बराबरको थप सुविधा, अहेवलाई मसिक २० हजार, ल्याव टेक्नेसियनलाई मासिक १५ हजार, सहयोगीलाई मासिक १० हजार र एक्स–रे गर्ने कर्मचारीलाई मासिक ७ हजार थप सुविधा दिएर गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरेको हो।

‘कहिलेकहीँ बिरामीलाई तत्काल उपचार गर्नुपर्ने अवस्था हुन्छ, त्यो अवस्थामा सेवा दिनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलाई चौबिसै घण्टा सञ्चालन गर्न थालिएको हो,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘ईमरजेन्सी अवस्थामा सेवा दिनका लागि स्वास्थ्यकर्मीलाई खटेर काम गर्नु थप सुविधा दिन्छौँ भनेर तयार पारिएको हो।’

प्राथमिक स्वास्थ्य केन्द्र चौबिसै घण्टा खुलेपछि गाउँपालिकाभित्रका ७ वडाका स्थानीय लाभान्वित भएका छन्। सुरु भएको २४ घण्टे स्वास्थ्य सेवाबाट हालसम्म १० जनाले सेवा लिइसकेको स्वास्थ्य केन्द्रका प्रमुख एमबिबिएस डा.ज्योतिप्रकास शाहले बताए। गाउँकार्यपालिकाको बैठकको निर्णय अनुशार बजेट व्यवस्था गरेर प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरिएको हो। ‘जुनसुकै बेला पनि बिरामीहरु स्वास्थ्य केन्द्रमा आउन सक्नुहुन्छ,’ डा. शाहले भने, ‘यहाँ उपचार सम्भव नहुने बिरामीलाई अन्यत्र रेफर गर्छौँ।’ गत साउनदेखि डाक्टरविहीन बनेको प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिकाकै पहलमा डा. शाहलाई ल्याइएको हो।

गाउँपालिकाले स्वास्थ्य केन्द्रमार्फत सुरक्षित प्रशुतीका लागि निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरीलाई १÷१ सेट न्यानो कपडासमेत दिँदै आएको छ।

पोष्टमार्टम सेवा पनि सुचारु
ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम सेवा पनि सुचारु भएको छ। नियमित डाक्टर नहुँदा बन्द रहेको पोष्टमार्टम सेवालाई डाक्टर ल्याएर सुचारु गराइएको गाउँपालिका अध्यक्ष निरौलाले बताए। गाउँपालिकाले गत वर्ष नै पोष्टमार्टम घर निर्माण गरेपनि हालसम्म सो घरबाट एउटा मात्र पोष्टमार्टम गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्ने व्यवस्था नहुँदा गाउँपालिकाका स्थानीय शव बोकेर जिल्ला अस्पताल दिक्तेल पुग्न बाध्य थिए।

पोष्टमार्टम सेवा सुरु भएपछि शवलाई ट्याक्टर, स्ट्रेचर वा डोकोमा बोकेर जिल्ला अस्पताल जानुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष निरौलाले बताए। स्थानीयलाई सडिसकेको अवस्थाका शवलाई दिक्तेल पुर्‍याउन र गाउँ फर्काउन सबैभन्दा सकस पर्ने गरेको थियो।

प्रकाशित: २६ मंसिर २०७६ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App