७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णालीका १५ हजार विद्यार्थीलाई झोला उपहार

कालिका आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गर्दै मुख्यमन्त्री शाहीलगायतका नेताहरु । तस्बीर जनक/नागरिक

जाजरकोट- जापानमा बस्ने नेपाली विद्यार्थीले जाजरकोटका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुका लागि पठाएका झोला (उपहार) कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहिबार हस्तान्तरण गरेका छन्। भेरी नगरपालिकाको समन्वय र रुपान्तरण नेपाल नामक संस्थाको आयोजनामा  खलंगाको थाप्लेचौरस्थित त्रिभुवन माध्यमिक विद्यालय र पुन्माको स्याउली बजारमा आयोजित विशेष कार्यक्रमकाबीच मुख्यमन्त्री शाहीले नगरपालिकाभित्रका ४७ सामुदायिक विद्यालयका कक्षा ४ देखि ८ कक्षासम्म अध्ययन गर्ने ४ हजार ४ सय ५३ विद्यार्थीहरुलाई उक्त झोला  हस्तान्तरण गरेका हुन्।

भेरी नगरपालिकाको समन्वय, रुपान्तरण नेपालको आयोजना र जापानमा बस्ने नेपाली विद्यार्थीहरुको संस्था ‘तिमी म नेपाल’ जापानको आर्थिक सहयोगमा प्राप्त भएका झोलाहरुलाई मुख्यमन्त्री शाहीले वितरण गरेका हुन्।  जिल्लाको भेरी नगरपालिकाभित्रबाट झोला वितरणका लागि छनोटमा परेका ४७ सामुदायिक विद्यालयहरु मध्य खलंगाको थाप्लेचौरबाट २८ विद्यालयका दुई हजार तीन सय ५६ र स्याउलीबजारबाट १९ विद्यालयका दुई हजार ९७ जना विद्यार्थीहरुलाई मुख्यमन्त्री शाहीको अगुवाइमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल, रुपान्तरण नेपालका अध्यक्ष मोहन शाही र भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले झोला हस्तान्तरण गरे। 

मुख्यमन्त्री शाहीले भविश्यका कर्णधार तथा देशको भविश्य बोकिरहेका स्कुले बालबालिकाको सहयोगका लागि जापानमा बस्ने नेपाली विद्यार्थीहरुले गरेको सहयोग निकै प्रशंसनीय रहेको बताए। शाहीले झोला लिन आएका  विद्यार्थीहरुसँग सामुहिक रुपमा सवालजवाफसमेत गरेका थिए। सबैलाई भविश्यमा आफु जस्तै मुख्यमन्त्री बन्ने लक्ष्य राखेर पढ्न मुख्यमन्त्री शाहीले कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सुझाए।

कार्यक्रममा कर्णाली प्रदेश सरकारकै आर्र्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बालबालिकाहरु माथि राज्य र अभिभावक दुबैले उचित रुपमा लगानी गर्न जरुरी रहेको बताए।  कार्यक्रममा  सामाजिक विकासमन्त्री दल रावलले  बालबालिका माथिको लगानी भनेको नै राष्ट्र विकासको सहि लगानी भएको बताए। रुपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले दुर्गम कर्णालीका सामुदायिक विद्यालयमा पढ्ने  १५ हजार विद्यार्थीहरुलाई किताब बोक्न सहयोग गर्नका लागि जापानमा बस्ने नेपाली विद्यार्थीहरुले झोला दएका हुन्। अध्यक्ष शाहीले जापानी विद्यार्थीहरुको संस्था ‘तिमी म नेपाल जापान’का तर्फबाट  कर्णाली प्रदेशका चार जिल्लाहरु जाजरकोट, सल्यान, दैलेख र कालीकोटका चार स्थानीय तहहरुका सामुदायिक विद्यालयका ४ देखि ८ कक्षामा पढ्ने १४ हजार  ९ सय ९२ विद्यार्थीहरुलाई उनीहरुले झोला दिएको बताए। उनका अनुसार जाजरकोटको भेरी नगरपालिका, सल्यानको शारदा नगरपालिका , दैलेखको  चमुन्डा नगरपालिका र कालीकोटको पलाँता गाउँपालिकाका विद्यार्थीहरुले झोला पाएका छन्। झोला पाउने आशामा चार घन्टाको पैदल दुरी हिँडेर बालबालिकाहरु सदरमुकाममा पुगेका थिए।

प्रकाशित: २६ मंसिर २०७६ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App