coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सात सय बोट गाँजा नष्ट

दुर्छिमको हैदेमा अवैधरुपमा लगाइएको गाँजा फँडानी गर्दै प्रहरी। तस्बिरः जिल्ला प्रहरी कार्यालय खोटाङ

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले एउटै टोलमा सात सय बोट गाँजा नष्ट गरेको छ। गत असारदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजा नष्ट गर्ने अभियान चलाउँदै आएको प्रहरीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा लगाइएको अनुमानित सात सय बोटभन्दा बढि गाँजा नष्ट गरेको हो। ईलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले बताए।

मंसिर पहिलो साता मात्र हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको चंखेपुमा लगाइएको ३ हजार ६ सय बोट गाँजा फँडानी गरेको प्रहरीले पुनः हैदेमा अवैधरुपमा लगाइएको गाँजा नष्ट गरेको हो। हत्तपत्त प्रहरी पुग्न नसक्ने क्षेत्रमा गाँजा लगाइएको जानकारीका आधारमा प्रहरी सो क्षेत्रमा पुगेको थियो।

प्रहरीले गत कात्तिक २४ गतेदेखि तीन दिन लगाएर हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा करिब १० हजार बोट गाँजा नष्ट गरेको थियो। गाँजा नष्ट गर्न गएका प्रहरीलाई गाँजा आफै उम्रिएको बताउने गरिएको छ।

विगतका वर्ष हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, दुर्छिम, डिकुवा, बडहरे, बाहुनीडाँडा, मंगलटार, च्यास्मीटार लगायतका ठाउँमा गाँजा खेती लगाउने गरिएकामा प्रहरीले नष्ट पार्न थालेपछि पछिल्लो समय गाँजा खेतीमा केही कमी आएको छ। प्रतिकेजी कम्तीमा पाँच हजार रुपैयाँमा घरैबाट बिक्री हुने तथा ठेकेदारले ५० हजारदेखि एक लाखसम्म अग्रिम पेश्की दिने गरेकाले किसानले अवैध गाँजाको खेतीमा जोखिम मोल्ने गरेका छन्।

उदयपुरबाट आउने ठेकेदारले अग्रिम भुक्तानी दिएर किसानलाई गाँजाको खेतीतर्फ उक्साउने गरेका थिए। सुक्खाग्रस्त क्षेत्रमा पर्ने र अन्यबाली कम उव्जाउ हुने सो क्षेत्रका किसानले व्यवसायीकरुपमा गाँजा खेती गर्ने गरेका छन्।


 

प्रकाशित: २६ मंसिर २०७६ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App