८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यार्थी आकर्षित गर्दै सरकारी क्याम्पस

त्रिभुवन बहुमुखी क्याम्पसमा अध्ययन गर्दै विद्यार्थीहरु। तस्बिरःमुक्ति/नागरिक

पाल्पा- जिल्लामा एक दर्जन बढी उच्च शिक्षा अध्ययन गर्ने शैक्षिक संस्थाहरु छन्। पछिल्लो समय विद्यार्थीहरुको भने सरकारी शिक्षण संस्थामा आकर्षण देखिएको छ।

पश्चिम नेपालको ‘एजुकेसन हब’ त्रिभुवन बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थीको चहल–पहल बाक्लिएको छ। जनआन्दोलनपछि सुस्ताएको काठमाडौं बाहिरको उत्कृष्ट क्याम्पस पूनःपहिलेको अवस्थामा फर्कन थालेको हो। केही वर्ष पहिलासम्म यस क्याम्पसलाई केन्द्रीय क्याम्पस कीर्तिपुरसँग तुलना गरिन्थ्यो। पढ्नेहरू कि कीर्तिपूर पुग्थे कि पाल्पा। तानसेन नगरपालिका–४, लहरेपिपलमा रहेको त्रिभुवन बहुमुखी क्याम्पसमा २०५२/०५३ सम्मचार हजार बढीले अध्ययन गर्ने गर्थे। त्यसयता क्याम्पस सुनसान जस्तै बन्यो। गत वर्षदेखि भने यस क्याम्पसमा विद्यार्थी चाप अत्याधिक बढेको हो।

२०११ सालमा स्थापना भएको क्याम्पसले २०१७ सालबाट स्नातक तथा स्नातकोत्तर तहको कक्षा सञ्चालन गर्न थालेको थियो। झण्डै एक दशक अगाडीसम्म त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान संकायमा भर्ना नपाएर विद्यार्थी निराश भएर फर्किन्थे। यो बिचको समय त्रिभुवन क्याम्पस विद्यार्थी नआएर क्याम्पस आँफै निराश बन्यो। त्रिभुवन विश्वविद्यालयले प्रविणता प्रमाणपत्र तह खारेज नगर्दासम्म विद्यार्थीको भीड लाग्थो।

दश जोड दुई कक्षा गाउँगाउँसम्म पुगेपछि घटेको विद्यार्थी संख्या फर्काउन अहिले क्याम्पस सफल बनेको छ। पश्चिम नेपालकै शैक्षिक धरोहरका रुपमा रहेको क्याम्पसमा पूनःविद्यार्थी आकर्षित भएका छन्। पछिल्लो समय अन्य क्याम्पसहरु खुल्ने क्रम तिव्र भए पनि त्रिभुवन बहुमुखीक्याम्पसमा भने विद्यार्थी संख्या थपिँदो छ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख जीवनबहादुर थापाले समयमा ठोस कार्ययोजनाले त्रिभुवन बहुमुखी क्याम्पसमा भने विद्यार्थी थपिन थालेको बताए। ‘समयानुकुल विकास र उन्नयनका ध्यान नदिँदा आंगिक क्याम्पसमा विद्यार्थी संख्या घट्दै गएको थियो। विगतको गौरव र वर्तमानका चुनौतिलाई समीक्षा गर्दै कार्ययोजना बनाएर क्याम्पस अगाडी बढेका कारण विद्यार्थी संख्यासमेत थपिँदै गएको छ, थापाले भने, विगत वर्ष २०७४ मा झण्डै १ हजार पाँच सय २०७५ मा करिब एक हजार आठ सय विद्यार्थीले अध्ययन गरेको क्याम्पसमा भर्ना चालु अवधिमै झण्डै दुई हजार दुई सय विद्यार्थी पुगेका छन्।’

क्याम्पसका व्यवस्थापन संकायका प्रमुख युवराज पौडेलले व्यवस्थापन संकायमा बिबिएम, बिबिए तथा बिबिएसमा विद्यार्थीको आकर्षण उच्च देखिएको बताए। सहायक क्याम्पस प्रमुखसमेत रहेका युवराज पौड्यालले क्याम्पसको शैक्षिक नतिजासमेत सुधार हुन थालेको बताए। उनी भन्छन्, ‘न्यून शूल्कमा अध्ययन गर्ने अवसर विद्यार्थीले प्राप्त गरेका छन्। क्याम्पसमा विद्यार्थी, प्राध्यापक तथा सरोकरवालाहरुको अपनत्व बढ्दै गएको छ। नियमित कक्षा, अतिरिक्त क्रियाकलाप, पुस्तकालय व्यवस्थापन, विज्ञापन, छात्रावृतिमा जोड दिएसँगै क्याम्पसमा विद्यार्थी थप हुँदै गएका छन्।

’बिबिएस प्रथम वर्षमा अध्ययनरत कपिल देवकोटाले निजी शैक्षिक संस्थाहरुको तुलनामा कम शूल्कमा अध्ययनसँगै अन्य क्रियाकलाप गर्न पाएको बताए। उनी भन्छन्, ‘पहिले यहाँ पढाई हुँदैन भनेर बुटवल भर्ना भएँ तर यहाँ आएर बुझ्दा राम्रो वातावरण पाएर यहिं भर्ना भए।’ बीएड चौथो वर्षमा अध्ययनरत अस्मिता अधिकारीले आफूहरुले पहिले राजनीति भएर कक्षा नियमित हुँदैन भन्ने क्याम्पसमा शैक्षिक वातावरण पाएको बताईन्।

शिक्षा, मानविकी, व्यवस्थापन र विज्ञान संकायको अध्यापन हुँदै आएको त्रिभुवन बहुमुखी क्याम्पसमा चालु शैक्षिक शत्रमा व्यवस्थापन संकायको बिबिएसतर्फ नौ सय ३९ भर्ना भएका छन्। यस्तै बिबिएमा एक सय २० र बिबिएममा ६० जना विद्यार्थी भर्ना भै अध्ययनरत छन्। यस्तै शिक्षा संकायमा ६ सय २२, मानविकी संकायमा दुई सय र विज्ञान संकायमा २ सय ४ विद्यार्थी भर्ना अवधि नसकिँदै भर्ना भैसकेका छन्। यो संख्या थपिँदै रहेको र क्याम्पसले नयाँ कार्यक्रमहरु बिएससी, सिएसआईटी र होटल म्यानेजमेन्ट थप गर्न लागि परेको क्याम्पस प्रमुख थापाले बताए।

गाउँगाउँमा शैक्षिक संस्थाहरु खुल्न थालेसँगै नेपालकै पुरानो शैक्षिक धरोहर संकटमा पुग्ने अवस्थामा पर्ने हो की भन्ने चिन्ताका बिचमा पूनःचहलपहल बढेकोमा खुसी लागेको जनसेवा पुस्तक पसलका सञ्चालक रामप्रसाद पन्थीले बताए। प्राध्यापकहरुले कक्षामा मिहेनतका साथ प्राध्यापन गरे र अन्य शैक्षिक क्रियाकलाप बढाउँदा विद्यार्थीको चाप बढ्न गएको उनले बताए।

स्वतन्त्र विद्यार्थी युनियनका सभापति हरिबोल भट्टराईले शैक्षिक गतिविधिहरु बढ्न थालेसँगै विद्यार्थी आकर्षण बढेको बताए। उनी भन्छन्, ‘देशमा राजनीतिक अस्थिरता हुँदा क्याम्पसमा राजनीति बढी हुने र पढाई नहुने समस्या भनेर प्रचार हुन्थ्यो। अहिले क्याम्पसमा अतिरिक्त क्रियाकलापहरुसँगै पुरा समय कक्षा लिने वातावरण निर्माण भएको छ।’

यस क्याम्पसमा पाल्पासँगै छिमेकी जिल्लाहरु स्याङ्जा, गुल्मी, अर्घाखाँची, पर्वत, बाग्लुङबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन्। जिल्ला भित्रकै विद्यार्थीहरु बाहिर गइरहेको समयमा क्याम्पस प्रशासनले कक्षा नियमित, पुस्तकालय, छात्रवृत्तिमा ध्यान दिँदा विद्यार्थी बढ्न गएको हो। क्याम्पसलाई नेपालकै शैक्षिक खोज अनुसन्धान केन्द्रको रुपमा विकास गर्न अनुसन्धान कक्ष निर्माण गर्न लागिएको क्याम्पसले जनाएको छ। शैक्षिक इतिहास बोकेको यो क्याम्पसले जीवन्तता दिलाउन थालेको स्थानीयको बुझाई छ।

 

प्रकाशित: २६ मंसिर २०७६ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App