coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

यसरी बनेँ म डाक्टर

डा. विश्वबन्धु शर्मा
एसएलसी पास भए पछि के पढ्ने भन्ने भयो । साइन्स पढ्दा वेश हुन्छ, राम्रो गर्‍यो भने विदेश जान सकिन्छ भन्ने कुरा आयो । तर मलाई डाक्टर इन्जिनियर पढ्ने सोच थिएन । आइएस्सी पढे पछि केही नभए शिक्षक हुन पाइन्थ्यो ।

त्यही वर्ष पोखरा पिएन क्याम्पसमा आइएस्सी शुरु भएको थियो । काठमाडौमा अमृत, त्रिचन्द्र, पाटन क्याम्पस, शंकरदेव (त्यसवेला मल्टिपल क्याम्पस थियो), आन्दकुटी कलेज (पछि अमृतमा गाभियो) मा साइन्स पढाइन्थ्यो । त्यसवेला अमृत एक नम्बर, त्रिचन्द्र दुई र आनन्द कुटी तीन नम्बरमा थिए । अरु भर्खर खुलेकाले त्यति मानिदैनथे । काठमाडौमा साइन्स पढ्ने भनेर आइयो । अमृतमा भर्ना हुन अंग्रेजीको स्कोर पुगेन, त्रिचन्द्रमा पनि किन हो भर्ना भएन । कसैलाई भनसुन गर्ने विचारै आएन । काठमाडौमा आफन्त कोही थिएनन् ।

आनन्द कुटीको नाम सुनेको थिएँ, त्यहीँ गएँ, बाइलोजी समूहमा भर्ना भएँ । प्राइभेट कलेज भए पनि धेरै महंगो थिएन । चिनेकाहरु ठमेलतिर बसेकाले उतै वसेँ । ठमेलबाट हिँडेर जानुपर्ने, पानी पर्दा बाटो हिलैहिलो हुन्थ्यो । त्यहाँबाट अरु कलेजमा ट्रान्सफर हुन्छ भन्ने थाहा पनि भएन । मसँगैका कतिपयले पछि त्रिचन्द्रमा ट्रान्सफर गरेछन् ।  

डेरामा वस्न भनेजस्तो साथी मिलेन । डेरा पनि सरिरहनुपर्ने । भाडा २० रुपियाँ जति थियो । बुईँगलमा खाना पकाउने व्यवस्था थियो । पकाउन नभ्याएका वेला क्षेत्रपाटीको थकालीको ‘नौलो होटल’मा खान जान्थेँ । मीठो होटल भनेर प्रसिद्ध थियो । एक रुपियाँ २५ पैसा लिन्थ्यो । नयाँ बजार गाउँजस्तै थियो । खेत धेरै थियो । १० पैसामा चिया पाइन्थ्यो । बसमा पाँच पैसामा चढेर यताउता जान्थ्यौँ ।

त्यसवेला बालाजु उद्यानमा पसेको तीन पैसा लिन्थ्यो । हामी शनिवार किताव, धुने कपडा झोलामा हालेर त्यहीँ गएर नुहाने, धुने, पढ्ने गथ्र्यौँ ।  बाइसै धारामा पानी आउँथ्यो । उद्यानको गेटमा हलवाइको पसल थियो । घर फर्किन वेलामा जेरी स्वारी खान्थ्यौ, खूव मन पथ्र्यो ।

कलेज पढ्न थालेपछि बाँसवारीको छालाको जुत्ता किनेँ, शो रुम रत्नपार्कमा थियो ।   सानो जीउको मानिस फिट भएन ।  ठिक नभए पछि बाटाको कपडा जुत्ता किनेँ । कलेजमा ड्रेस थिएन । क्याम्पसका विद्यार्थी झोला बोक्दैनथे । हातमा किताव बोकेर जान्थे । कलेज छोड्ने, फिल्म हेर्न जानेहरु सानो एउटा कापी पछाडि खल्तिमा राखेर जाने, लाष्ट वेञ्चमा वस्ने गर्थे । म चाहिँ स्कुलमा बोक्ने साधारण खालको झोला छड्के पारेर बोकेर जान्थेँ । ठमेल, पकनाजोलतिरका मानिसहरु मलाई अनौठौ मानेर हेर्थे र हाँस्थे । त्यो देखेर म रमाइलो मानेर हिंडिदिन्थेँ, वास्ता गर्दिनथेँ ।

क्लास शुरु भयो, पहिलो दिन त मैले केही नै बुझिन । अंग्रेजीमा पढाएको बुभ्mने सुन्ने बानी नै थिएन । बाइलोजी लिएर गाह्रो भएको होकि भनेर केही दिन म्याथम्याटिक्सतिर गएँ । क्यालकुलस पढाइ भइरहेको रहेछ, झन बुझिन । फेरि बाइलोजीतिरै  आएँ । शरले तिमी किन यता उता गर्छौ ? एक ठाउँमा बस भन्नु भयो । मैले नबुझेपछि के गर्नु ? भनेँ । विस्तारै बुझ्छौं भने ।

डेरानजिकै अमृत कलेज थियो । विद्यार्थी होस्टलमा वस्थे, लुगा त्यहीँ धोएर सकुाउँथे । खाना खाएर त्यहीँ पढ्न पाउँथे । यो सुविधा देखेर यहाँ वस्न पाए कस्तो हुन्थ्यो होला भनेर थकथक लाग्थ्यो ।

परासर नारायण सुवाल केमेष्ट्री पढाउनु हुन्थ्यो, प्रिन्सिपल पनि हुनुहुन्थ्यो । बोटनी पढाउने शारदा मेडम हुनुहुन्थ्यो । राजेन्द्रलाल श्रेष्ठ मलाई एकदम माया गर्ने शर हुनुहुन्थ्यो । प्रायः शुट लगाएर गाडि चढेर आउनुहुन्थ्यो । कार चढेर आउने उहाँ एकजना मात्र हुनुहुन्थ्यो, कोहीकोही मोटरबाइकमा आउँथे । अरु प्रायः साइकलमा आउँथेँ । विद्यार्थी मध्ये मेरो एकजना साथी मात्र बाइक चढेर आउँथ्यो ।  त्यसवेला १५।२० पैसाले खाजा खान पुग्थ्यो । केमेष्ट्री र फिजिक्स पढाउने रसियन टिचर पनि थिए ।

फस्र्ट टर्मिनलमा नेपालीबाहेक सवै विषयमा फेल भएँ । परासर शर पैदल जानु हुन्थ्यो । बाटोमा प्राय सँगै हिड्थ्यौँ । एकपटक बोलाएर सवै सोध्नु भयो, बुबा के गर्नुहुन्छ भन्नु भयो । ‘किसान बाबुले दुःख गरेर पैसा पठाइरहेका छन्, तिमी चाहिँ सवै विषयमा फेल हुन्छौ, यसरी आइएस्सी पढेर कहाँ पार लाग्छ ? आर्टस कमर्सतिर जाउ, साँझ विहान पढ, जागिर खाउ’ भन्नु भयो । मैले ‘होइन सर भर्खर पाँच छ महिना पढेको छु, म सुधार गर्छु ’भनेँ । मैले पढ्दा पढ्दै नसकेको के गर्नु ? भनेँ । म पढ्नमा कमजोर भए पनि बोल्न, सोध्न चाहिँ धक मान्दिनथेँ ।

घर गइरहन मन लाग्दैनथ्यो । तै पनि लामो विदामा घर गएँ, आमाले कस्तो छ तेरो पढाई ? भनेर सोध्नु भयो । नेपालीबाहेक सवैमा फेल भएको भनिदिएँ । पढ्न गएको फेल भएर के गर्ने त ? भन्नु भयोे । अंग्रेजी कमजोर भएकाले फेल भएँ, स्कुल राम्रो थिएन, मैले त पढेकै हो भनेँ । यसरी फेल भएर त हुँदैन के गर्ने ? भन्नु भयो । सकुन्जेल पढ्छु नसकेपछि आउँछु भनेँ ।

त्यस पछि मैले पनि ट्युसन पढ्नुपर्छ कि भन्ने विचार गरेँ । कतिवटा पढ्ने ? सवै गाह्रो छ । खासगरी भाषाका कारण समस्या भएको थियो । धेरै विषय पढाउन सक्ने टिचरकहाँ गएँ  । ६ जनाको ग्रुप थियो, अधिकांस केटीहरु । शिक्षकको ध्यानै केटीहरु तर्फ । केटीहरुले सोधेको जवाफ दिने, हाँस्ने, केटाहरुलाई वास्ता नगर्ने । मैले त सोधेको पनि झर्को मान्ने । यो ठिक छैन भनेर छोडिदिएँ ।

फेरि साथीहरुसँग सम्पर्क गरेर क्षेत्रपाटीमा गएँ । आठ जनाको ग्रुप थियो । त्यहाँ पनि केटीहरु बढी थिए । समस्या उही देखेँ । केटाहरु पनि केटीहरुसँग सम्बन्ध बढाउने हिसावले मात्र जाने जस्तो लाग्यो । शिक्षक पनि पढाउने भन्दा केटीहरु प्रति आकर्षित भएको देखेँ । मन परेन । आफैँ मेहनत गर्न थालेँ ।

म बृटिस लाइब्रेरीलगायत न्युरोडको अमेरिकन लाइब्रेरी जान थालेँ । विभिन्न विषयका किताव पढ्थें । त्यसैवेला नेपाली पुस्तकहरु पनि खुव पढेँ । भोटाहिटीमा पुराना किताव बेच्ने पसल थियो । त्यहीँबाट ल्याउँथे । अरु साथीहरुकहाँ जाँदा पनि मागेर ल्याउँथे । बालाजु पार्कमा जाँदा पनि पढ्थेँ । रसियन र भारतीय पुस्तकालय बसन्तपुरमा थिए । त्यहाँ पनि जान्थेँ ।

दोस्रो टर्मिनलमा सुधार गरेँ, राम्रै नम्बर ल्याएर पास गरेँ । सेन्टपमा बाइलोजी ग्रुपमा मैले टप गरेँ । धेरै चाहिँ घोकेकै हो । मैले डाक्टर बन्छु भनेर बाइलोजी पढेको थिइन । शिक्षकमा सजिलै जागिर पाइन्छ भनेर हो । बाइलोजी लिदा बन, कृषि आदिमा जागिर सजिलै पाइन्छ भनेर कसैकसैले भनेका थिए । मलाई फिजिक्स र म्याथ धेरै आउँथ्यो । अरु विषय घोकेर राम्रै आउने भयो तर मौलिक रुपमा अंग्रेजीमा लेख्नुपर्ने विषयमा एकदम कमजोर थिएँ । पढाइ राम्रो हुनथालेपछि  आमालाई खवर गरेँ, खुसी हुनुभयो ।

आइएस्सी फाइनल जाँचमा थ्यौरी राम्रैसँग दिएँ तर प्राक्टिकल छोडिदिएँ, अर्को वर्ष अझ राम्रो गर्छु भन्ने भयो । यसले गर्दा बाहिर पढ्न जान एक वर्ष ढिला भयो । अर्को वर्ष जाँच दिएँ । फाइनल जाँच केही विषयमा डिस्टिङसन आए पनि केही कमजोर भएकाले दुई नम्बर नपुगेर फस्र्ट डिभिजन आएन । बाइलोजी पढ्नेले प्रथम श्रेणीमा पास गर्नु ठूलो मानिन्थ्यो ।

त्यसवेला सेक्सन अफिसरको तलव ३७५ रुपियाँ थियो । बुबाले एक वर्षमा ३८ सय रुपियाँ पठाउँदा पनि खर्च पुगेन । केमा बढी खर्च गरेँ त्यो भन्न सकिन । जव कि मेरो वसाई औषत स्तरभन्दा कम नै थियो । सायद पैसा मेनेज गर्न नै जानिन ।

शनिवार विद्यार्थीलाई सिनेमाको टिकटमा छुट हुने भएकाले भिड हुुन्थ्यो । साथीहरु मिलेर एकजना भात पकाउने, एकजना टिकट काट्न जाने गथ्र्यौँ । रञ्जनामा ‘हाथी मेरा साथी’ पाटनको अशोकमा आरधना, प्यारका मौसम फिल्म हेरियो । एकपटक भक्तपुर पनि गएको थिएँ । माइक क्वालिटी राम्रो थिएन, हिन्दी पनि राम्रो बुझिदैनथ्यो । खाली अभिनय हेर्थेँ, त्यही पनि घरिघरि निदाउने । हलमा सवै हाँस्दा ‘ए के भो अँ  ?’ भनेर सोध्थेँ, सँगैको साथी झर्को मान्थ्यो ।

ठमेलतिरका चिया पसलहरुमा फिल्मका गफ खूव हुन्थे । कोही याक्टिङ गर्दै हिरोका डाइलग बोल्थे । ठमेल, डिल्लीबजार र कुपण्डोलका गुण्डाहरु नामुद थिए । बेलाबेलामा ग्याङ फाइट गर्थे । ठमेलका बढी खतरनाक मानिन्थे ।  
त्यसवेला धेरैजसो घरतिर आउनेजाने मानिस मार्फत खवर आदानप्रदान हुन्थ्यो । चिठी नै सञ्चारको प्रमुख माध्यम थियो । ठमेल वरिपरि स्थानीय वासिन्दाहरुकहाँ पनि मैले कतै टेलिफोन देखेको थिइन । टेलिफाने गर्ने बारेमा कुरै हुँदैनथ्यो, कल्पनै गरिदैनथ्यो । २०३८ सालमा रुसबाट पढेर आउँदा पनि फोन सहज थिएन ।

कक्षाका साथीहरुमा दिक्पाल बैद्य हाल क्यानडामा छन् मौरी विशेषज्ञ भएका थिए । लामो समय काम गरेर पिएचडि गर्न क्यानडा गएका उतै वसे । सुल्दिन शेर्पा दुर्गमको कोटाबाट आँखाको डाक्टर भएका थिए, विदेशतिरै वसे । चिरिका शोभा यमी (हिसिलाकीे दिदी) अध्यापन पेशामा लागेकि छन् । पिकेको क्याम्पस चिफ पनि भइन् । सुशील शमशेर राणा गृहसचिवबाट रिटायर्ड भए । गीताभक्त जोशी त्रिवीमा रजिष्ट्रार भएको र सेवानिबृत्त भएर योजना आयोगमा गएका थिए । ज्ञान बहादुर राई मिल्ने साथी थिए । राजिङ नेपालमा  सम्पादक थिए, पछि बेलायत गए । त्रिलोकपति थापा पनि मिल्ने साथी थिए । तत्कालीन आइजिपि रोमबहादुर थापाका छोरा हुन् । त्रिवी चिकित्साशास्त्र महाराजगञ्जमा प्रोफेसर भएर रिटायर्ड भए ।

त्यसवेला कलेजका साथीहरु अटो लेख, फोटो दे भन्थे तर मलाई मन लाग्दैनथ्यो । मैले राखिन । वितेको जीवनको के अर्थ हुन्छ र भोलि भने जस्तो लाग्थ्यो । अहिले कलेजका धेरै साथीलाई सम्झन नसक्दा पछुतो लाग्छ ।

आइएस्सी पढेपछि मैले के अनुभव गरेँ भनेँ, मेहनत गरेर मात्र हुँदैन, अवसर पनि पाउँनु पर्छ । अवसर पाउनका लागि पावरको निकै ठूलो भूमिका रहेछ । हरेक क्षेत्रमा सोर्सफोर्स लगाउनु पर्ने रहेछ, तर मेरो कतै कोही देखिन । कसैको मन्त्रीसँग, कसैको दरबारसँग, कसैको सचिवसँग सम्पर्क भएको देख्थेँ, तर मेरो सम्मर्क नै थिएन । आफू कमजोर जस्तो अनुभव भयो । प्रतिस्पर्धामा आउनुपर्छ भन्ने त थियो तर पावर नभइ नहुने भएकाले भित्रभित्रै कुण्ठा पनि थियो ।

सम्पर्क बढाउन कोशिस गरेँ । पर्वतमा पढाएका गुरु मार्फत सरदार हंसमानसँग सम्पर्क गरेँ । मैले ‘सरदार साहेव छात्रबृत्ति छनोटमा गोलमाल हुँदो रहेछ, मैले पाउने अवसर पनि गुम्ला भन्ने डर लागेको छ, हजुरले सहयोग गरिदिनु पर्‍यो’ भनेँ । उनी मुसुमुसु हाँसे । चाकडीको हजार स्वाद चाखेका उनलाई म फुच्चेले गरेको अनुरोध मनोरञ्जनको विषय मात्र भयो ।

म रुस पढ्न गएपछि यता धेरैले हंसमानले पठाएर रुस पढ्न गयो भनेर उल्टै मेरो अवमूल्यन गरेछन् ।

 

प्रकाशित: २६ मंसिर २०७६ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App