coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सकारात्मक सोच्ने बढी बाँच्छन्

जीवनलाई सकारात्मक रुपले हेर्नेले सामान्यतः सकारात्मक कुरा नै हासिल गर्ने गरेको र यसले मानिसलाई लामो र सुखी जीवनयापनमा सहयोग पुर्‍याउने गरेको एउटा नयाँ अध्ययनले देखाएको छ। हार्वर्ड विश्वविद्यालयअन्तर्गतको टीएच चान स्कुल अफ पब्लिक हेल्थले गरेको अध्ययनमा यस्तो देखिएको हो।

अध्ययनले देखाएको छ, जहिले पनि निराशा ओकल्ने महिलाहरुको तुलनामा आशावादी महिलालाई क्यान्सर, मुटुको रोग, मस्तिष्क घात, श्वासप्रश्वाससम्बन्धी रोग र संक्रमण कम हुने गरेको छ। आठ वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गरिएको शोधकर्ताहरुको छ।

यो अध्ययन अमेरिकी जर्नल अफ एपिडेमियोलजीमा यसै साता प्रकाशित गरिएको हो।

‘हिजोआजका अधिकांश मेडिकल र जनस्वास्थ्यसम्बन्धी अध्ययन सर्वसाधारणको रोग लाग्ने खतरा घटोस् भन्नेमा केन्द्रित छन्,’ सोसल एन्ड बिहेभिअरियल साइन्सेस विभागका रिसर्च फेलो एरिक किम भन्छन्, ‘मनोवैज्ञानिक रुपमा लचिलोपनका कारण त्यस्ता रोगहरु निकै कम लाग्ने गरेको पछिल्ला अध्ययन तथ्यहरुले देखाएका छन्।’

‘हामीले जे कुरा पत्ता लगाएका छौँ, त्यसले पनि आशादिता बढाउनुपर्ने नै देखिएको छ। जो आशावादी छ, उसको जीवन स्वस्थ छ र आशावादी व्यक्तिले जीवनका चुनौतीहरुलाई स्वस्थ तरिकाले नै समाधान गर्ने गरेको देखिएको छ,’ किमको भनाइ छ। त्यसो त स्वस्थ किसिमको व्यवहारले मृत्यु हुने खतरालाई निकै झिनो सम्भावना देखाएको छ तर उच्च किसिमको आशावादी मानिसको पूरै जैविक प्रणालीलाई नै सकारात्मक प्रभाव पार्ने किम बताउँछन्।

सन् २००४ देखि २०१२ सम्म ७० हजारभन्दा बढी महिलामाथि अध्ययन गरिएको थियो। प्रत्येक दुई वर्षमा ती महिलाहरुलाई सर्भेमा सहभागी गराइएको थियो। सर्भेकर्ताहरुले सहभागीको आशावादी तहले उनीहरुको मरण खतरा कसरी फरक पर्न सक्छ भनी अध्ययन गरेका थिए। जात, उच्च रक्तचाप, आहार र शारीरिक गतिविधिजस्ता कुरासमेत अध्ययनमा समावेश गरिएको थियो।

अति आशावादी महिलाको रोग लागेर मर्ने खतरा ३० प्रतिशतले कम हुने अध्ययनले देखाएको हो। त्यस्तै अति आशावादी महिलालाई क्यान्सरका कारणले मृत्यु हुने सम्भावना १६ प्रतिशतले कम रहेको, मुटुको रोगले मृत्यु हुने सम्भावना ३८ प्रतिशतले कम रहेको, श्वासप्रश्वासका कारण ३८ प्रतिशतले कमी हुने गरेको र संक्रमणका कारण मृत्यु हुने सम्भावना ५२ प्रतिशतले कमी हुने देखिएको हो।

यसैगरी अन्य किसिमका अध्ययनले पनि आशावादी महिलालाई उमेर नपुग्दै कार्डियोभास्कुलर रोगका कारण हुने मृत्यु निकै कम देखिएको छ। ‘अघिल्ला अध्ययनले पनि आशावादी महिलालाई कम नै रोग लाग्ने र लागे पनि उनीहरुले मृत्युलाई पर सार्ने गरेको देखिएको छ,’ अध्ययनमा संलग्न पोस्ट डक्टरल रिसर्च फेलो केटलिन हेगनले भनिन्, ‘त्यसैले पनि हामीले आशावादितालाई बढावा दिनु भविष्यमा रोगसँग प्रतिरोध गर्ने नयाँ बाटो हुन सक्छ।’

यसअघि पनि हार्वर्ड चान स्कुलका अध्येताहरुले यसै कुरामा जोड दिएका थिए।

हार्वर्ड बिजनेस रिभ्यु म्यागेजिन

प्रकाशित: ३० मंसिर २०७३ ०५:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App