coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क, तीन वर्षमा एक हजार ४५३ घटना

बाँके– जिल्लामा लैङ्गिक हिंसाको डरलाग्दो तथ्याङ्क देखिएको छ। जिल्ला प्रहरी कार्यालयको पछिल्ला तीन वर्षको तथ्याङ्कअनुसार एक हजार ४ सय ५३ विभिन्न हिंसाका घटना दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि २०७६/७७ को कात्तिक मसान्तसम्म उक्त घटना दर्ता भएका प्रहरीले जनाएको छ।

तथ्याङ्क अनुसार एक हजार १ सय ५५ सामाजिक हिंसाका घटना मिलापत्रमा टुङ्गिएका छन्। यस्तै तीन वर्षमा महिलामाथि भएका सामाजिक हिंसाका घटनामध्ये १ सय ६० घटना मात्रै सम्बन्धित निकाय अर्थात स्थानीय तह तथा अदालतमा गएका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए।

लैङ्गिक हिंसाविरुद्ध वार्षिक लाखौँ बजेट खर्चेर पनि लैङ्गिक हिंसाका घटना कम हुनुको साटो बढिरहेका पाइएको हो। प्रहरीका अनुसार चालू आव २०७६/७७ को कात्तिक मसान्तसम्म २०२ घरेलु हिंसाका ठाडो उजुरी परेका छन्। त्यसमा सबैभन्दा बढी श्रीमान–श्रीमतीबीच भएका घटना १ सय ७६ छन्। यस्तै आव २०७५/७६ मा भने उजुरीको सङ्ख्या बढेर ७ सय ११ पुगेको तथ्याङ्कले देखाएको छ। त्यसमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीचका घटना ५ सय १२ छन्। आव २०७४/७५ मा ४८३ घरेलु हिंसाका ठाडो उजुरी परे। यीमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीचका घटना ३ सय ८ रहेका प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक ओलीका अनुसार घरेलु हिंसाका घटनाको ठाडो उजुरीमा श्रीमान–श्रीमती, सासु–बुहारी, देवरानी–जेठानी र अन्यका बीचमा भएको झै–झगडाका घटना हुने गरेका छन्। सोमध्ये सबैभन्दा बढी श्रीमान–श्रीमतीबीच भएका झगडाका घटना बढी दर्ता हुने गरेका प्रहरीको भनाइ छ। महिला तथा बालबालिका सेवा केन्द्रका अनुसार आव २०७४/७५ मा जिल्लामा ३५ महिला बलात्कृत भएका घटना दर्ता भएका छन्। आव २०७५/७६ मा बलात्कृत हुनेको सङ्ख्या ५६ पुगेको थियो भने चालू आवको कात्तिक मसान्तसम्म २१ बलात्कृत भएका छन्।

आर्थिक वर्ष २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म ३९ माथि बलात्कारको प्रयास भएको प्रहरी तथ्यांकले देखाएको छ। त्यसमा २२ बालिका आव २०७५/७६ देखि चालू आवको कात्तिक मसान्तसम्म अप्राकृतिक मैथुन तथा बाल यौन दुव्र्यवहारमा परेका छन्। यस्तै आव २०७४/७५ देखि चालू आवको कात्तिक मसान्तसम्म अर्थात पछिल्ला तीन वर्षमा ७ सय ७३ महिला तथा बालिका हराएको तथ्याङ्क महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ। बलात्कारका धेरै घटना आर्थिक प्रलोभन र राजनीतिक आडमा मिलाउन दबाव आउने गरेको प्रहरी अधिकारी बताउँछन्।

पछिल्लो समय नेपाली समाज चेतनशील र अधिकारबारे जागरुक भएका कारण बलात्कारका घटना लुकाउनु हुन्न भन्ने सोचाइ बढिरहेको प्रहरी उपरीक्षक ओली बताउँछन्। उनले भने, 'बलात्कारका बारेमा अहिले खुलेर बिरोध गर्ने अवस्था आएको छ, मानवअधिकारका बारेमा मानिस सजग हुँदै गएका छन्।' अपराध लुकाउनु हुन्न भन्ने धारणा बढिरहेकोले पनि घटना धेरै बाहिर आउने गरेका उल्लेख गर्दै उनले भने, 'लामो समयसम्म पुरुष र महिलासँगै बसिरहेका हुन्छन्, सम्बन्ध बिग्रिएपछि महिलाले बलात्कारको आरोप लगाउने गरेका घटना पनि आउने गरेका छन्, केही घटनामा आर्थिक कुरा जोडिएका हुन्छन्।'

प्रकाशित: २६ मंसिर २०७६ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App