७ वैशाख २०८१ शुक्रबार
कला

क्यानभासमा घोडाको जीवन

काठमाडौं - नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सामूहिक कला प्रदर्शनी आयोजना भएको छ। गत सातादेखि सुरु भएको ‘सिर्जनशील पखेटाहरु’ नामक कला प्रदर्शनी ४५ कलाकारका ८० वटा कलाहरु प्रदर्शनमा राखिएको छ।

ह्विलचियर प्रयोगकर्ता चित्रकार सञ्जय बान्तवाद्वारा तयार गरेको चित्रकला प्रदर्शनमा समावेश गरिएको छ। घोडाको संघर्ष र जीवनलार्ई तुलना गर्दै उनले तयार गरेका चित्रकलामा मानिसको जीवनशैलीमाथि प्रश्न गरेका छन्। उनले तीन वटा घोडाको त्रिकोणात्मक सम्बन्ध र संघर्षलाई आफ्नो जीवनसँग तुलना गरेका छन्।

महिलालाई सृष्टि र घोडालाई संघर्षको प्रतीक मानेर उनले आफ्नो भावनाहरु घोडामार्फत् प्रस्तुत गरेको बताए। २८ औं अपाङ्गता दिवसको सन्दर्भमा सिर्जनशील गतिशिलता नेपालले आयोजना गरेको सामूहिक कला प्रदर्शनी विभिन्न भावका कलाहरु समावेश भएका छन्। ‘बै विधामा समावेशी हुनुपर्छ,’ उनले भने, ‘अपाङ्गता भएका कलाकारलाई प्रोत्साहन गर्न प्रदर्शनीको आयोजना गरेका हौं। यो समावेशीको नयाँ आयाम पनि हो।’

अर्का चित्रकार लक्ष्मी भासिमाले आफ्नो संस्कार र संस्कृतिलाई आधार बनाएर गणेशको आकृतिलाई चित्रमा उतारेका छन्। कमलको फूलमाथि गणेशको खुट्टालाई टेकाएर उनले चित्र कोरेका छन्। चित्रकार विपिनकुमार घिमिरेले धर्मसँग सम्बन्धित चित्र कोरेका छन्। सामाजिक जनजीवनमा आधारित चित्रहरु कोर्न रुचाउने उनले हालको कला इतिहाससम्म रहने खालको र चित्र आफैं बोल्न सक्ने हुनुपर्ने बताउँछन्।

त्यस्तै, चित्रकार मिथिलादेवी यादवले ‘लभ स्टोरी अफ राजा सहलेश’ शीर्षकको चित्रलाई प्रदर्शनीमा राखेकी छन्। मिथिला कलामा आधारित उनको कलाले राजा सहलेशको जीवन र मायाप्रेमलाई प्रस्तुत गरेको छ। वर्षैपिच्छे सिराहामा राजा सहलेशको काहानीमा आधारित मेला लाग्ने बताउने उनले मिथिला चित्रमा राजाको आकृति, उनका साथी र कमलको फूल समेटेकी छिन्।

चित्रकार रमेश खनालको ‘अरुपण आर्ट’, एनबी गुरुङको ‘गोकर्णेश्वर’, केके कर्माचार्यको ‘अमूर्त कला’, श्यामसुन्दर यादवको ‘मोर्डेन मिथिला’, डिबी राईको ‘ओल्ड स्माइल’, गोपाल चित्रकारको ‘थ्री सिस्टर’, बुद्धि गुरुङको ‘चन्द्रमा’ र सन्तोष राईको ‘शान्ति’ शीर्षकका चित्रहरुलाई प्रदर्शनीमा समेटिएको छ।

प्रकाशित: २६ मंसिर २०७६ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App