८ वैशाख २०८१ शनिबार
समाज

एसएसपी संयोजकत्वमा छानवीन समिति गठन

काठमाडौं – तेह्रौं दक्षिण एसियाली क्षेत्रीय खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन प्रहरीले खेलकुद पत्रकारमाथि कुटपीट गरेको विषयमा छानवीन गर्न एक टोली गठन गरेको छ। महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

सागको सुरक्षामा खटिएका प्रहरी नायब उपरीक्षक(डीएसपी) रुगम कुँवरले एक सर्वसाधारणमाथि कुटपीट गरेको तस्वीर खिच्ने नागरिक दैनिकका खेलकुद पत्रकार सुमन चापागाईलाई सोह्रखुट्टे वृत्तका डिएसपी सन्तोषसिंह राठौरले मुक्का प्रहार गरी घाइते बनाएका थिए। सो घटना सम्बन्धमा छानबिन गर्न एसएसपी ज्ञवालीको नेतृत्वमा डिएसपीद्वय मनोहर श्रेष्ठ र श्यामसिंह चौधरी सदस्य रहेका छन्।

सागको अन्तिम दिन नेपाल र भुटानबीच फाइनल खेल हेर्न दशरथ रंगशाला आएका दर्शकले टिकट नपाएको भन्दै विवाद गरेपछि डीएसपी कुँवरले एक सर्वसाधारणमाथि लाठी र बुटले कुटपीट गरेका थिए। कुँवरले सर्वसाधारण कुटेको दृश्य खिचेको भन्दै डिएसपी राठौरले पत्रकार चापागाईंलाई मुक्का प्रहार गरेका हुन। मुक्का प्रहारबाट उनको कानबाट रगत आएको थियो। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी शैलेश थापाले सो समितिलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए।

प्रकाशित: २६ मंसिर २०७६ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App